एमालेका केन्द्रीय उपाध्यक्ष साथै पूर्व उपप्रधानमन्त्री रहिसकेका डा. भीम रावलले केपी गुटको स्वेच्छाचारी निर्णयका विरूद्ध उत्रन सबै एमालेजनलाई आह्वान गरेपछि नेपालको राजनैतिक वातावरणमा सरगर्मी पैदा भएको छ । ओली गुटको असहिष्णु, निषेधात्मक र निहित स्वार्थी चरित्र, निरङ्कुश, तानाशाही र स्वेच्छाचारिता व्यवहारमै छताछुल्ल भएको आरोपसमेत डा. रावलले लगाए । नेकपा (एमाले) भित्र र बाहिर देशभक्त, न्यायप्रेमी र ‘थिङ्क ट्याङ्क’ को रुपमा मात्रै नभएर एमालेलाई यहा“सम्म ल्याई पु¥याउने सारथिहरुमध्येको एकका रुपमा परिचित उनलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।
डा. रावलले सामाजिक सञ्जाल ‘एक्स’ (पहिलाको ट्वीटर) मा आफ्नो तर्क प्रस्तुत गरेका र केपी गुटको खम्बा भनेर चिनिएको महासचिव शङ्कर पोख्रेलको फेसबुक स्टाटसमा पार्टी अनुशासन विपरीत भएकाले कारबाही गरिएको भनेर उनले बयान दिएका छन् । पार्टी अनुशासनका नाममा विचार तथा अभिव्यक्ति स्वतन्त्रताप्रति लगाम लगाउने कुनै पार्टीको बागडोर सम्हालेको गुटले गर्छ भने त्यो व्यक्ति वा गुटबाट मुलुकको हित कसरी हुनसक्छ भन्ने प्रश्नले हरेकलाई तरङ्गित बनाएको छ । मेरो मात्रै गुटको एमाले, मेरै एमालेको मात्रै देश भन्ने राग अलापेजस्तो भएको छ । विश्व भूराजनीतिक उतार–चढावमा शक्ति राष्ट्रहरु तानिदै आइरहेको बेला त्यसको बाछिटा नेपालमा पर्न थालिसकेको छ । हालसम्म कुनै दाग नलागेका नेता भीम रावललाई सदस्यसमेत नरहने गरी निष्कासन गरिनुको भित्री अर्थ आगामी एमालेको सत्ताको बागडोरलाई केपी गुटभित्रै सीमित गर्ने रणनीतिको पटाक्षेप हो । स्व. जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादको ब्याज खा“दै सत्तामा पुग्न सफल तर अति नै गन्हाउन थालेका यिनको मति निभ्न लागेको बत्तीको धम्कीजस्तै भएको छ । नेपालको भूराजनीतिक अवस्था र भविष्यमा निम्तन सक्ने एउटा गुटमाथिको खतरा टार्न रावलको निष्कासन र अरु दुई जनालाई निलम्बन गर्ने निरङ्कुश शैलीको निर्णयले एमाले अब देश र जनताको भन्दा पनि अरुकै पार्टी हुने खतरा बढेर गएको चिन्ता व्यक्त गर्न थालिएको छ । लोकतान्त्रिक परिपाटी, संस्कारको मर्म विपरीत कुनै पनि राजनीतिक दलबाट हुनु राम्रो कुरा होइन ।
पूर्व राष्ट्रपति रहिसकेकी एमाले नेतृ विद्या भण्डारीको आगामी अध्यक्ष पदका लागि भूराजनीतिका खेलाडीहरुबाट सम्भावित दह्रो उम्मेदवारका रुपमा हेर्न थालिएको र त्यो सम्भावित खतरालाई टार्न अरु को को निशानामा पर्ने हुन् भन्ने घनिभूत चर्चा र छलफल चलिरहेको छ । सरकारी जग्गा, गिरिबन्धुजस्ता जग्गाहरु हिनामिना गर्नेले नैतिकताको पाठ पढाउँदै कारबाही गर्छ, आफूमाथिको आलोचनाबाट जोगाउन कसैलाई दण्ड दिने परम्पराले अब एमालेको भविष्य कस्तो हुने भन्न गाह्रो छैन । विभिन्न राजनीतिक परिवर्तनका आन्दोलन र साङ्गठनिक भूमिकामा अब्बल ठहरिएका रावल जत्तिको नेतालाई पाखा लगाउने गुटले आम जनताको हितका लागि काम गर्छ भन्ने सोच्नु सर्वथा गलत हुनेछ । जनताले यी सबैकुराहरु नबुझेका छैनन्, त्यो बुझाइको दृश्य एकदिन देखिनेछ ।