काठमाडौं महानगरका मेयर बालेन्द्र साहले आफ्नो क्रियाकलाप र विवादास्पद दृष्टिकोणका कारण देशभरि व्यापक आलोचना खेपिरहेका छन् । साहको वरिपरि रहेका केही अराजक सल्लाहकार तथा युट्युबरहरूले हालको राजनीतिक परिप्रेक्ष्यमा अस्थिरता ल्याउने सङ्केत गरेका छन् । उनीहरूले बालेन्द्रलाई ‘देवता’ का रूपमा उभ्याउँदै समाजमा शीर्ष नेताहरूको दानवीकरणको अभियान चलाइरहेका छन् । जसले सार्वजनिक शान्तिमा असर पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्ता गणतन्त्र र सङ्घीयताको पक्षधर नेताहरूलाई यस्ता समर्थकहरूले नकारात्मक छविमा प्रस्तुत गर्दै आएका छन् ।

बालेन्द्र साहको राजनीतिक उद्देश्य अझै स्पष्ट हुन सकेको छैन । सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता महŒवपूर्ण राष्ट्रिय विषयमा उनको दृष्टिकोण अझै स्पष्ट छैन । उनी आफूलाई ‘शाह’ लेख्छन्, जुन नाम राजपरिवारसँग सम्बन्धित छ । तर, उनी तराईको ‘साह’ समुदायका हुन्, जसका कारण उनको वास्तविक परिचय र उद्देश्यप्रति धेरैले शङ्का गरिरहेका छन् ।

बालेन्द्रले पछिल्लो स्थानीय चुनावमा प्रमुख दलहरूसँग टिकट मागेका थिए, तर त्यहाँबाट उनको प्रस्ताव अस्वीकार भएपछि उनले स्वतन्त्र उम्मेदवारका रूपमा उठेर चुनाव जितेका थिए । चुनाव जितेपछि उनले शीर्षनेताहरूप्रति देखाउन थालेको ‘इगो’ ले उनलाई विवादको केन्द्रमा ल्याएको छ । बालेन्द्रले सिंहदरबारको प्रतीकात्मक जलाउने धम्की दिए । एउटा महानगरको मेयरले यस्तो धम्की दिनु शोभनीय होइन । जसले जनताको मनोविज्ञानमा नकारात्मक प्रभाव पारेको छ । उनले काठमाडौं महानगरको कार्यालयमा आफ्ना कर्मचारीहरूमाथि निगरानी राख्न सीसीटीभीसमेत जडान गरेका छन् । जसलाई धेरैले असंवैधानिक र कर्मचारीहरूको गोपनीयतामा हस्तक्षेप मानिरहेका छन् । बालेन्द्रका नजिकका केही व्यक्तिहरूमा भ्रष्टाचारमा संलग्न भएको आशङ्का पनि छ, जसले उनको नेतृत्वमा प्रश्न उठाएको छ ।

नेकपा (एमाले), काङ्ग्रेसलगायतका पार्टीहरू अहिले चौतर्फी आक्रमणको शिकार भइरहेका छन् । यो अवस्थामा पार्टीका सदस्यहरूले शीर्ष नेताहरूको पक्षमा उभिनुपर्ने आवश्यकता झन् बढेको छ । सामाजिक सञ्जालमा आक्रमणकारीहरूले अपमानजनक र तुच्छ सामग्रीहरू पोष्ट गर्दै पार्टीहरूप्रति वितृष्णा जगाउने काम हुँदै आएको छ । बहुदलीय शासन व्यवस्थामा दलहरूको भूमिका महत्वपूर्ण हुन्छ । पार्टी प्रणालीलाई अस्वीकार गर्न सकिँदैन । व्यवस्था परिवर्तन नभएसम्म पार्टी प्रणाली सबैले स्वीकार्नु पर्दछ । भलै पार्टीहरू जनताका अहितमा लागे भने ट्रयाकमा ल्याउने काम जनताको हो । मुलुकको संवैधानिक व्यवस्था र बहुदलीय व्यवस्थाबारे आम नागरिकलाई सचेतना जगाउनु जरुरी छ । त्यसका लागि पार्टीका नेता कार्यकर्ताको भूमिका महŒवपूर्ण हुन्छ ।

पार्टी र नेताहरूको पक्षमा जनतालाई जागरुक बनाउने र गलत प्रचारको प्रतिवाद गर्ने कार्य नै आजका सदस्यहरूको कर्तव्य हो । पार्टीको मूल्याङ्कनको नयाँ आधार भनेको सामाजिक सञ्जालमा सक्रियता मात्र नभएर, चिया चौतारीदेखि मेलापातका स्थानसम्ममा पार्टीका उपलब्धिहरू प्रचार गर्नु हो ।

बालेन्द्र साहको पछिल्लो गतिविधि, उनका समर्थकहरूले फैलाएका उत्तेजक सन्देशहरू र शीर्ष नेताहरूमाथि गरिएको दानवीकरणको अभियानले कानूनी दृष्टिले प्रश्न उठाएको छ । बालेन्द्रले गणतन्त्र, सङ्घीयता र राष्ट्रिय स्थिरतामा आघात पु¥याउने खालका गतिविधि गर्नु संविधानतः उचित होइन । देशको शान्ति र सुव्यवस्था कायम राख्न, बालेन्द्र र उनका सहयोगीहरूले उक्साएका सम्पूर्ण उत्तेजक कार्यहरूलाई नियन्त्रण गर्नु अपरिहार्य भइसकेको छ ।