धरान/उपन्यासकार राजकुमार राईद्वारा लिखित उपन्यास ‘किवाहाङ’ को सुनसरीको धरानमा शनिबार विमर्श गरिएको छ ।
उपन्यासमा लाहुरेहरूको उज्यालो जीवनको पक्षमात्रै नल्याई अँध्यारो पक्षलाई पनि केलाउने प्रयास गरिएको वक्ताहरूले बताए । धरान रिडर्स ग्रुपले आयोजना गरेको कार्यक्रमका वक्ता समालोचक राजेश विद्रोहीले भने, ‘लाहुरेहरूको बङ्ग्याउन र लुकाउन खोजेको इतिहासलाई उपन्यासको माध्यमबाट प्रस्तुत गरिएको छ ।’ उनले लाहुरेको जीवन आर्थिक रूपमा सम्पन्न र उज्यालो पक्ष मात्रै नभई अँध्यारो पक्षलाई केलाउने प्रयास गरिनु उपन्यासको मूल मर्म रहेको बताए ।
उपन्यासका मुख्य पात्र किवाहाङलाई शक्तिशाली पात्रको प्रतीकका रूपमा प्रस्तुत गर्न खोजिएको बताए । उनले यो उपन्यास आदर्शोन्मुख यथार्थवादमा आधारित रहेको बताए । ‘आख्यानहरू आदर्शवाद र यथार्थवादहरू हुन्छन् । यथार्थको चित्रण गरेर आदर्श स्थापना गर्न खोज्ने प्रयास यो उपन्यासमा गरिएको छ’ उनले भने, ‘नेपाली समाजको यथार्थ पनि छ, राजनीति पनि छ, संस्कृति पनि छ, आर्थिक पनि छ ।’ उनले नेपाली समाजको तत्कालीन राजनीतिक, सामाजिक परिवेश र संस्कृतिलाई देखाउन खोजिएको बताए ।
समयका हिसाबले राणाकालदेखि पञ्चायतकालसम्म फैलिएको बताए । हङ्कङ निवासी राईले हालै बजारमा ल्याएका हुन् । यस्तै अर्का वक्ता डा. इन्दिरा मिश्रले ब्रिटिसहरूको चरण शोषण, नेपाल सरकारको नालायकीपनले गोर्खाहरूको दोहन गरेको फेहरिस्त उपन्यासमा रहेको बताइन् । ‘सभ्य र परिस्कृत भाषमा गोर्खाहरूको शोषणको आवाज पनि यसले उठाएको छ’ उनले भनिन् । उनले कुनै बेला जबर्जस्ती रूपमा लाहुरे बनाउने चलन कसरी संस्कृति र टेून्ड बन्यो भन्ने कुरा यस उपन्यासले उजागर गरेको बताइन् ।
‘यो समस्त गोर्खाजहरूको कथा हो । यो टाइटल क्यारेक्टरको जीवनमा आधारित रहेको कथा हो । किवाहाङलार्य आइडल पात्रको रूपमा चित्रण गरिएको छ’ उनले भनिन्, ‘हवल्दार बाजेको रहनसहन, लवाइखुवाइ र बुटबाट आकर्षित भई लाहुर जान खोजेको छ ।’ उपन्यासमा लाहुरेले भोग्नुपरेको कहर, बेलायतीको शोषण सबै सबै कुरा यसमा अटाइएको उनले बताइन् ।
उनले लाहुरेहरूले नेपाललाई शिक्षा, सभ्य संस्कृति दिन सफल भएको कुरा उपन्यासले उजागर गरेको बताइन् । समालोचक प्रा.डा. भोलानाथ पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कवि बम देवान, अग्रज साहित्यकार भीष्म काफ्लेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा धरान रिडर्स ग्रुपको उद्देश्यबारे संस्थाका सदस्य हेमन्त भण्डारीले प्रकाश पारेका थिए । उपन्यासका विषयमा सभाध्यक्ष रहेका प्रा.डा. पोखरेल, धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत बेदप्रसाद सापकोटा, अग्रज पत्रकार महेश श्रेष्ठले जिज्ञासा राखेका थिए ।