भद्रपुर । नेपाल–भारतको सीमाक्षेत्र दशगजानजिकै घर भएका बासिन्दाले विभिन्न प्रकारका सास्ती व्यहोर्दै आइरहेको पाइएको छ । वारिपारि गर्ने साना व्यापारीले कहिलेकाहीँ अवैध मालसामान भित्र्याउँदा प्रहरीसँग झडप हुने गरेको छ । त्यसको मार सो क्षेत्रमा बसोबास गर्ने गाउँलेले खेप्ने गरेका छन् । यस्तै विभिन्न पीडाले आजित भएका छन्, झापा मेचीनगर–७ गैरीगाउँका बासिन्दाहरू ।
‘प्रहरीको छाप्रोछेउमा हुँदा सुरक्षित भएको महसुस हुन्छ । तर, व्यापारीले कहिले प्रहरीलाई ढुङ्गा हान्दा घरका टिनमा ढ्वाङ्ढ्वाङ गर्छ । कहिले छाप्रो जलाइदिन्छन् । दशगजामा डरैडर छ’–दशगजास्थित घरमा बात्ती कात्दै गरेकी स्थानीय ६५ वर्षीया होमादेवी खनालले पीडा सुनाइन् । खनाल २० वर्षअघि धुलाबारीबाट सस्तो जग्गा खोजेर त्यहाँ बसाइ सरेर आएको बताइन् । उनको १० धुर नम्बरी जग्गा छ । स्थानीय देवी पाण्डेको पनि पीडा उस्तै छ । झापा पृथ्वीनगरकी ४५ वर्षीया पाण्डे सस्तो जग्गाको खोजीमा थिइन् । उनले सोचेकै जस्तो जग्गा पाइन् । उनलाई जग्गा कहाँ छ भनेर थाहा थिएन । आफ्नै सानो जिप भाडामा कुदाउँदै आएका उनका पतिले जग्गा कारोबारीसँग सहकार्य गरेर दश वर्षअघि मेचीनगर–७ को गैरीगाउँमा ११ धुर जग्गा ३ लाखमा किनेका थिए ।
देवीले उनका पतिसँग जग्गा कहाँ किन्नुभयो भनेर सोध्दा पतिले दशगजामा भन्ने जवाफ दिएका थिए । दशगजा भनेको उनकी पत्नी देवीलाई थाहै थिएन । एकदिन पतिले उनलाई जग्गा देखाउन ल्याए । भारतसँग सीमा जोडिएको नेपालको दशगजाको नेपाल ९०/२ पीपी–५० नम्बरको पिलर छेउको यो हाम्रो जग्गा हो भनेर देखाए । पिलर देख्दा छक्क पर्दै देवीले भनिन्, ‘यो भारत होइन र ?’ छेउको खोला देखाउँदै उनले भनिन्, ‘खोलाले बगाउँछ होला नि ?’
स्थानीय बद्रीप्रकाश उप्रेतीको धनीपुर्जा भएको ११ धुर नम्बरी जग्गा उनीहरूले किनेका थिए । जुन जग्गा दशगजाको पिलरदेखि ३० फिट वारि पश्चिममा पर्छ । नेपाल र भारतको सहमतिअनुसार पिलरदेखि वारि वा पारि ३० फिटभित्र दशगजामा घर, खेतीपाती लगाउन मिल्दैन । दशगजा पिलरको पूर्व र पश्चिम ३० फिट खाली छ । पिलरको छेउमा सशस्त्र प्रहरीको सानो छाप्रो छ । नेपालपट्टिका प्रहरी पिलर कटेर पारिसम्मको गाउँसम्म ओहोर–दोहोर गरेर गस्ती गर्छन् । तर, भारतका एसएसबीले पिलरदेखि वारि अर्थात् नेपालपट्टि पाइलै टेक्दैनन् । पिलर छेउबाट प्रायः हिँड्ने र गस्ती गर्ने गरेको उनीहरूले सुनाए ।
एकदिन पिलरसम्म आएर एसएसबीले भने, ‘मेडम पानी पिलाओ ।’ ‘पिलरभन्दा एकइन्च यता आउने कोशिस गरेनन्’ दशगजामै घर बनाएकी देवीले भनिन्, ‘त्यहीँबाट पानी मागे, मैले बोतलमा लगेर दिएँ । उतैबाट लागे ।’ ‘नेपालको लाष्टमा घर छ’ उनले भनिन्, ‘अन्तिम धनीपुर्जा हाम्रो हो ।’ ‘एकदिन भारतबाट व्यापारीले कपडाहरू ल्याउँदै गर्दा सशस्त्र प्रहरीले खोसेपछि झडप भयो । झडप हुँदा व्यापारीले प्रहरीलाई ढुङ्गा हान्दा हाम्रो घरको टिनमा खसेको थियो । यो प्रक्रिया यहाँ भइरहन्छ’– उनको गुनासो गर्दै भनिन् ।
स्थानीय छात्रा पार्वती ठकुरीले दशगजाको पिलरछेउको खाली जग्गामा गाउँलेहरू मिलेर क्रिकेट, भलिबल, कबड्डीलगायत खेल खेल्ने गरेको बताइन् । यसअघि पनि त्यहीँ नजिकै साना व्यापारी र सशस्त्र प्रहरीको झडप हुँदा प्रहरीको खुकुरी प्रहारबाट व्यापारीहरू घाइते भएका थिए । व्यापारीहरूले पनि प्रहरीले बरामद गरेको सामान खोस्दा ढुङ्गामुढा गरेको उनीहरूले सुनाए । दशगजाको पिलरको ३० फिट वारि र पारिपट्टि नेपालीको खेतीपाती छ । पिलरको वारि र पारिपट्टि तोरीबारी छ । स्थानीय खगेन्द्र तिवारीको जग्गामा गाउँलेले वार्षिक भाडा तिर्ने गरी तोरी खेती गरेका छन् । गाउँलेले वर्षौंदेखि पिलर वारि र पारि आलु, लसुन, धान, मकै, सिमल तरुल, बन्दाकोपी, उखु खेती गरिरहेका छन् ।
बिजुली, पानी र बत्तीको व्यवस्था वारिपट्टिकाले नै उपलब्ध गराएको छ । पिलर उता भारतीय भूमि भए पनि स्थानीय नेपाली किसानहरूले खेती गर्दै आएका छन् । पारि अर्थात् मेची खोला यतै करिब १५ वटा किसानका घर छन् । उता पनि नेपालकै बिजुली, पानी र बत्तीको व्यवस्था छ । सडकको भने समस्या छ । गाउँदेखि घर, खेत र पिलर छेउछाउसम्म जाने पिच बाटो नपुगेकोमा स्थानीयको गुनासो छ ।
दशगजास्थित खेतमा काम गर्दै गरेको बेला भेटिएका मेचीनगर–६ स्थित पुरानो भन्सारका ७७ वर्षीय टङ्कबहादुर राईले पिलरको भाग छोडेर दशगजा वारि २ कठ्ठा, पारिपट्टि ७ कठ्ठा जग्गामा तरकारी तथा धान, मकै खेती गरिरहेको बताए । ‘पहिला वारिपट्टि ७ कठ्ठा जग्गा थियो’ राईले भने, ‘पिलर बीचमा भएकोले मालपोत कार्यालय झापाले धनीपुर्जामा ५ कठ्ठा जग्गा काटिदियो । कार्यालयले नेपालपट्टि दशगजाको जग्गा हाम्रो सबै पर्दैन भन्यो ।’
३० वर्षदेखि रिक्सा चलाएर परिवार पाल्दै आएका ५१ वर्षीय श्याम बातरको पनि पीडा उस्तै छ । सिटी रिक्सा आएपछि रिक्सा चलाएर परिवार धान्न नसक्ने बातरले पनि तीस वर्षअघि उप्रेतीसँगै ३० हजारमा १० धुर जग्गा किनेका थिए । उनको पनि अढाई धुर जग्गा काटिँदा दशगजाको सिमाना घरको आँगनमा आइपुगेको छ । उनका अनुसार उक्त जग्गा छाडेको ४ वर्ष भएको छ ।
पिलरदेखि पूर्व अर्थात् पारिपट्टि नेपालीहरूका करिब १५ वटा घर छन् । त्यहाँका स्थानीय खेतीपाती र मजदुरी गर्छन् । स्थानीय टीका चौधरीले हजुरबुबाको पालादेखि यहाँ बसेको बताए । ‘हामी नेपाली नै हौँ’ चौधरीले भने, ‘तर पछि पिलरले गर्दा पारिपट्टिका भयौँ ।’ त्यसो त प्रायः दशगजाका स्थानीयको खेती वारि र पारि दुवैतिर छ । गस्तीमा आउने एसएसबीले पनि उनीहरूलाई यहाँबाट हट्नु पर्छ नभनेको गाउँलेको भनाइ छ । तर, नेपालतिरका प्रहरीले कहिलेकाहीँ सोधपुछ गर्ने गरेको बताउँछन् ।