विराटनगर । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्य अनिल पोखरेल ठगी मुद्दामा  जोडिएका छन् ।

सप्तरीको अग्नि साइर कृष्ण सवरवन गाउँपालिका–५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीको छोरी दीक्षा चौधरीलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै मोरङ रङ्गेली नगरपालिका–२ मङ्गलबारेका ४३ वर्षीय पोखरेलले ३८ लाख ३० हजार रुपैयाँ लिएर ठगी गरेको पाइएको हो । 

ठगीमा जोडिएका पोखरेललाई सांसद् ऋषिकेशले डेढ वर्षअगाडि स्वकीय सचिवमा नियुक्त गरेका थिए । पोखरेलले अनिललाई स्वकीय सचिवमा नियुक्ति गर्नुअगाडि चौधरीसँग विभिन्न मितिमा सात पटक गरी ३८ लाख ३० हजार रुपैयाँ लिएको पाइएको छ । चौधरीले सुरुमा रामदेव सिंह मार्फत् २० भदौ २०७१ मा १ लाख रुपैयाँ पोखरेलको नबिल बैङ्कको ३५१००१७५०३९८१ नं.को खातामा जम्मा गरिदिएका छन् । त्यसैगरी केदारप्रसाद घिमिरे मार्फत् २३ कात्तिक २०७१ मा ५० हजार, १३ फागुन २०७१ मा फेरि ५० हजार, बौआलाल चौधरीमार्फत् २२ मङ्सिर २०७३ मा १० लाख, २२ मङ्सिर ०७३ मा ८ लाख र सोही मितिमा १७ लाख गरी पोखरेलको खातामा पटक–पटक गरी ३८ लाख ३० हजार रुपैयाँ जम्मा भएको देखिन्छ ।

पोखरेलले पैसा बुझेपछि  दीक्षा चौधरीलाई एमबीबीएसमा नाम निकाल्ने र होस्टलमा समेत राख्ने वातावरण बनाइदिने वाचा गरेको बौआलाल चौधरीले दिएको जाहेरीमा उल्लेख छ । ‘तपाईंको छोरीलाई डाक्टर बनाइदिन्छु । मेरो पहुँच र पावर माथिसम्म छ । मैले भनेपछि पैसा दिए एमबीबीएसमा नाम निकाल्ने र होस्टलमा राख्नसमेत वातावरण बनाइदिन्छु’ बौआलालले दिएको जाहेरीमा उल्लेख छ । पोखरेलले पैसा बुझे पनि छोरीको नाम एमबीबीएसमा ननिस्केपछि दिएको रकम फर्ता माग्दा उल्टै धाकधम्की दिने गरेको उनले बताएका छन् ।

पैसा माग्दा उल्टै धम्की
पैसा माग्दा पोखरेलले उल्टै ५० लाख ऋण लिएको कपाली तमसुक बनाएको चौधरीको भनाइ छ । ‘९ फागुन ०७८ मा पोखरेलले तपाईंको हिसाब चुक्ता गरिदिन्छु । आउनुहोस् भनी मलाई ८–१० जनाको समूह लिएर काठमाडौँमा आए । त्यसपछि करकापमा पारेर २५ असार ०७४ को पुरानो मिति देखाएर कपाली लिखतमा ऋणी मलाई बनाएर ५० लाखको कागजमा मेरो सम्पूर्ण रकम ठगी गरिखाने र पचाउने नियतले सही पनि गराए’ चौधरीले दिएको बयानमा उल्लेख छ ।

प्रहरीले उजुरी नलिएपछि अदालतको सहारा
विराटनगर । बौआलाल चौधरीले सांसद् ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेलबाट आफू ठगीमा परेको भन्दै मोरङ प्रहरी र इलाका प्रहरी कार्यालय रङ्गेलीमा जाहेरी दिँदा पनि प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि नबढाइदिएको पाइएको छ ।

तत्कालीन कोशी प्रदेशका डिआइजी अरुणकुमार बिसी र मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का रहेको बेला चौधरीले पोखरेलविरुद्ध ठगी मुद्दामा जाहेरी लिएर ११ फागुन २०७८ मा पुगेका थिए । तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै पहुँचवाला पोखरेलविरुद्धको उजुरी लिनेसम्म आँट गरेन । त्यसपछि चौधरीले फेरि १८ साउन २०७९ मा हुलाक निर्देशनालय विराटगरमार्फत् ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा जाहेरी दरखास्त मोरङ प्रहरीमा पठाए । हुलाकमार्फत् पठाएको पत्र १९ साउन ०७९ मा प्रहरीले हुलाक निर्देशानलय विराटनगरबाट प्राप्त पोष्ट म्यान बुकबाट बुझेको देखिन्छ । तर, प्रहरीले बौआलाल चौधरीको नामबाट कुनै पनि उजुरी प्राप्त नभएको भन्दै १० जेठ २०८० मा मोरङ प्रहरीका तत्कालीन मुद्दा फाँटका इन्स्पेक्टर मोहन पोखरेलले हस्ताक्षर गरेर उच्च अदालत विराटनगरमा जवाफ पठाएका छन् ।

प्रहरीले हुलाक र प्रत्यक्ष भेटेर पनि पोखरेलविरुद्ध उजुरी दर्ता नगरेपछि चौधरीले उच्च अदालत विराटनगरको सहारा लिन बाध्य भए । त्यसपछि ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागदाबी लिएर रिट निवेदन दर्ता गराए । चौधरीले ठगीमा संलग्न पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रङ्गेली र जिल्ला सरकारी वकिल कार्यालय मोरङलाई विपक्षी बनाएर रिट निवेदन उच्च अदालतमा दर्ता गराए ।

उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन परमादेश भदौ ३१ मा भएको छ भने प्रमाणीकरण ११ पुसमा भएको छ । ‘निवेदक बौआलाल चौधरीले हुलाकमार्फत् पठाएको जाहेरी दरखास्त मिति २०७९÷४÷१९ गते जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरले बुझिलिएको भन्ने पोष्टमेन (बुक) किताबको सक्कल किताबबाट देखिन आएकोले कानूनी प्रक्रिया पु¥याई जाहेरी दर्ता गरी कानून बमोजिम प्रक्रिया अगाडि बढाउनू भनी विपक्षी जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरका नाममा परामदेशको आदेश जारी हुने ठहर्छ । अरूको तपशिल बमोजिम गर्नु’ फैसलामा उल्लेख छ ।

अदालतको फैसला पालना गर्छुः पोखरेल
ठगी आरोप लागेका अनिल पोखरेलले उच्च अदालतले गरेको फैसला पालना गर्ने र प्रहरीले अनुसन्धान गरे सहयोग गर्ने बताएका छन् । बौआलालले चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएको विषयमा भने उनले अस्वीकार गरे । ‘प्रहरीमा जाहेरी दिने उहाँ मेरो साथी हो । पुरानो चिनजान हो । उहाँको श्रीमतीलाई पैसा पठाउनको लागि उहाँको साथीमार्फत् मलाई पैसा हालिदिएको हो’–पोखरेलले ब्लाष्टसँगको फोन सम्पर्कमा भने ।

‘विपक्षीले जे जुन विषयमा र जे जस्तो प्रकृतिको घटना देखाई ठगी मुद्दाको जाहेरी दर्ता नगरेको भनी परमादेशको निवेदन दर्ता गराउनुभएको छ, सो कुरा नै प्रचलित कानून र मान्य सिद्धान्तअनुरूपको दाबी होइन । जहाँसम्म विपक्षीको छोरीलाई डाक्टर पढाउने भनी आश्वासन दिई म निवेदकले ३८,८०,०००।– दिएको भन्ने कुरा हो सो पनि सरासर कपोलकल्पित भनाइ हो भन्ने कुरामा शङ्का छैन । म कुनै मेडिकल कलेजको प्रतिनिधि वा मेडिकल भर्ना गराउने व्यक्ति पनि होइन । यति ठूलो रकमको कारोबार हुँदा विना कागज, आधार कारोबार गर्ने भन्ने प्रश्नै होइन । विपक्षीले देखाएका यी सबै तथ्य कपोलकल्पित हुन्’ पोखरेलले अदालतमा फर्काएको लिखित जवाफमा उल्लेख छ ।