शिक्षाविद् केदारभक्त माथेमाले शिक्षक मासिकको मङ्सिरको अङ्कमा आफ्नो विचार यसरी प्रस्तुत गरेका छन्, “जो कोही, जस्तोसुकै कमजोर आर्थिक वा सामाजिक अवस्थामा जन्मेको भए पनि शिक्षाले उसको अवस्थामा सुधार ल्याउन, अरुहरुसित प्रतिस्पर्धा गर्न र आफ्नो उन्नति गर्न उसलाई समर्थ बनाउँछ ।” उनको यो वस्तुवादी विचार नेपालको हकमा कतिको लागू भएको छ त ? यो एउटा अध्ययनको विषय हो ।
शिक्षा त्यस्तो ‘सौम्य शक्ति’ हो, जसले आफूलाई मात्रै बदल्दैन, संसार बदल्न भूमिका खेल्छ । तर आफूलाई र संसारलाई बदल्ने अस्त्र शिक्षाको स्तर हामीकहाँ कस्तो छ ? यो प्रश्नको जवाफ खोज्दै गर्नुहोला । मैले शिक्षाप्रति आम किशोरकिशोरीको सोचाइ वा धारणा कस्तो छ अर्थात् हाम्रो सोचाइ कस्तो छ र संसारको महाशक्ति राष्ट्र बन्ने दौडमा हिँडिरहेको चीनका किशोरकिशोरी अर्थात् विद्यार्थीहरु के सोच्छन् भन्ने विषयमा यो लेख केन्द्रित छ ।
गत असोज २२ गतेदेखि कात्तिक ६ गतेसम्म चीनको राजधानी बेइजिङ जाने अवसर जु¥यो । १६ दिनको बसाइको क्रममा केही सिक्ने र अवलोकन गर्ने अवसर जुट्यो । त्यही क्रममा हेनान प्रदेशको ‘काइफिङ सिटी’ मा चार दिन बिताउने अवसर पाइयो । त्यहाँ हामीलाई चार ठूला उद्योगहरुमा घुमाउने तालिका तय गरिएको थियो । जसका लागि हामीलाई सहयोग गर्न केही चाइनिज किशोरकिशोरी अर्थात् कक्षा १२ सकेका विद्यार्थीहरु थिए । निरन्तरको भेटघाटले गर्दा उनीहरु हामीसँग घनिष्ट भए । हामीले सोधेका प्रश्नको उत्तर सहजै दिन्थे । त्यही क्रममा मैले सोधेको थिएँ, “पढाइबारे तपाईंहरुको धारणा के छ ?”
उनीहरुले मलाई दुइटा महत्वपूर्ण कुरा बताए । एउटा थियो, “बेटर लाइफ” र दोस्रो थियो, “मोर मनी ।” सटिक उत्तर दिन मन पराउने भएर हो या भाषिक जटिलताका कारणले हो, उनीहरुले यी दुई वाक्यबाट मलाई बुझाउन खोजेका थिए । उनीहरुको शिक्षास्तर कस्तो छ भन्ने विषयबारे म त्यति ज्ञात छैन । अर्थात् त्यति धेरै अध्ययन गरेको छैन । कारण, भाषाको जटिलता । चाइनिज अर्थात् मडारिन भाषा छिचोल्न जोकोहीलाई सहज छैन । छिचोलिहाले पनि ठाउँ, परिवेशअनुसारको वस्तुवादी बुझाइ प्राप्त गर्न कठिन छ । अर्कोतिर चाइनिजहरु दोस्रो भाषामा त्यति धेरै लगाव रहेको पाइँदैन । एक युवतीले भनेकी थिइन्, “अहिले नयाँ पुस्तालाई बल्ल अङ्ग्रेजी सिकाइँदै छ । अङ्ग्रेजी जान्नुपर्ने बाध्यता आइपरेको छ ।”
यहाँ मैले जोड्न खोजेको विषय के हो भने चाइनिज विद्यार्थीहरु बेटर लाइफका लागि पढ्न रूचाउँछन् । पढेन भने जीवन निकृष्ट बन्छ भन्ने उनीहरुमा आमधारणा रहेको पाइयो । अर्कोतिर पैसा कमाउनु छ भने पढ्नुपर्छ भन्ने मानसिकता रहेको पाइयो । हुन त जनसङ्ख्याका हिसाबले दोस्रो ठूलो देशको रुपमा रहेको छिमेकी मुलुक चीनमा जुनसुकै अवसरका लागि पनि तीव्र प्रतिस्पर्धा छ । यो त प्राविधिक कुरा भयो । यहाँ जोड्न खोजेको विषय चाहिँ आखिर उनीहरुमा यो धारणा कहाँबाट आयो ? र त्यसका लागि चाइना सरकारले के गर्छ वा गर्दैछ ? चाइनिज किशोरकिशोरीको यी दुई धारणाबाट चाइना सरकारले उनीहरुका नागरिकमा शिक्षामा कस्तो बृहत्तर अवधारणा प्रवेश गराइरहेको छ भन्ने प्रष्ट पार्दछ ।
तर, ठीक विपरीत हामीकहाँ पढ्नुपर्छ भन्ने अवधारणा झन् झन् स्खलित हुँदै छ । मङ्सिरकै अङ्कमा ढुण्डीराज लामिछानेले पछिल्लो १० वर्षको आँकडालाई विश्लेषण गर्दै लेखेका छन्, “स्कुल जाने उमेरका बालबालिकाको सङ्ख्या २०६८ सालमा ८५ लाख थियो भने २०७८ सालमा ७४ लाखमा झरेको छ ।” बाध्य भई पत्याउनै पर्ने यो हाम्रो आँकडाले पनि राज्य कहाँ छ र शिक्षाप्रति राज्य कति संवेदनशील छ भन्ने प्रमाण दिन्छ ।
देशको बृहत्तर विकासका लागि मात्रै हैन, शिक्षाविद् केदारभक्त माथेमाको माथि उल्लेखित भनाइलाई पुष्टि गर्न पनि शिक्षा अपरिहार्य र अनिवार्य तत्व हो भनेर हामीले किशोरकिशोरीलाई बुझाउन सकेको देखिँदैन । शिक्षा एउटा यस्तो हतियार हो जसले व्यक्तिको व्यक्तित्वलाई मात्रै अगाडि बढाउँदैन । देशलाई समृद्धतर्फ धकेल्न पनि भूमिका खेल्छ । त्यही कारण नेपालको संविधानको मौलिक हकको धारा ३१ मा ‘शिक्षाको हक’ को व्यवस्था गरिएको होला । यही धारालाई टेकेर निर्माण गरिएको शिक्षा ऐनमा कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा र कक्षा १२ सम्म निःशुल्क शिक्षा हुनेछ भन्ने व्यवस्था पनि छ । शिक्षा मानवअधिकारको एउटा महत्वपूर्ण अङ्ग पनि हो ।
हाम्रा विद्यार्थीमा पनि शिक्षा प्राप्त भइसकेपछि ‘बेटर लाइफ र मोर मनी’ हुन्छ भन्ने ज्ञान दिलाउन जरूरी छ । जबसम्म विद्यार्थी आफैले त्यसबारे मनन् गर्दैनन्, तबसम्म हाम्रो शिक्षा प्रणालीलाई दोष देखाउँदै ‘ड्रप आउट’ हुने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै जानेछन् । आखिर बन्द समाज रहेको चाइनामा हरेक विद्यार्थी विश्वविद्यालय टेक्न चाहन्छन् । विश्वविद्यालय पुगेर ज्ञान आर्जन गर्न चाहन्छन् । ताकि एउटा उत्कृष्ट जीवन बाँच्न सकौँ भनी कल्पना गर्छन् । धेरैभन्दा धेरै पैसा कमाएर आफू र आफ्नो समाज र राष्ट्रलाई समृद्ध तुल्याउन चाहन्छन् ।
दी गभरनेन्स अफ चाइना नामक दोस्रो भोल्युमको पुस्तकको ३८४ पृष्ठमा यस्तो लेखिएको छ, “विशेष गरी आमाबुबा, परिवारको प्रभावले व्यक्तिलाई उसको जीवनभर प्रभाव पार्दछ । त्यो प्रभावका लागि छिमेकी तथा परिवारमा शिक्षाको स्तरलाई वृद्धि गर्नुपर्छ ।” चाइना सरकार कसरी सोच्छ, शिक्षालाई कसरी अगाडि बढाउन चाहन्छ भन्ने यो पुस्तकको सानो वाक्यांशबाट थाहा हुन्छ । त्यसैको प्रभाव त्यहाँका विद्यार्थीहरु उत्कृष्ट जीवन र पैसाका लागि विश्वविद्यालयको प्राङ्गणमा पुग्छन् । हामी चाहिँ ठीक उल्टो दिशातिर उन्मुख छौँ । यो हुनुको पछाडि दुई कारण छन् भन्ने मान्दछु ः पहिलो, सरकारको शिक्षा नीति । दोस्रो, गरिबी ।
शिक्षा नीतिमा सरकारको द्वैध चरित्र देखिन्छ । सरकारको ‘दूरगामी लक्ष्य’ नागरिकलाई शिक्षित बनाउने र समृद्धिको ढोका खोल्ने शिक्षालयको अवधारणा नै गलत छ । यहाँ संस्थागत र सामुदायिक विद्यालयको जुन अवधारणा छ, त्यो नै गलत छ । यसले वर्ग निर्माण गरिरहेको छ । वर्गीय रुपमा विभेद गरिरहेको छ । हुँदा खाने र हुनेखानेबीचमा ठूलो भेद सिर्जना गरिरहेको छ । हुँदा खानेहरु कहिल्यै प्रतिस्पर्धामा पुग्न सक्दैनन् किनकि शिक्षामा जुन खाडल देखिएको छ त्यो झन् झन् विकराल बन्दै छ । हुनेखानेहरु सबैकुराले पूर्ण हुन्छन् । उनीहरुसँग हुँदाखानेहरुको कहिल्यै प्रतिस्पर्धा हुनै सक्दैन । फलतः त्यो समूह सदैव पछाडि परिरहन्छ ।
गरिबी शिक्षाको बाधक हो । अर्थात् वर्गशत्रु हो । हाम्रो देशमा भएको शिक्षा नीतिले यो खाडललाई कहिल्यै पुर्न सक्दैन । वर्ग शत्रुको रुपमा रहेको गरिबीले विद्यार्थीलाई विद्यालयमा पु¥याउनै सक्दैन । अर्कोतिर विद्यार्थीहरुमा किन पढ्ने भन्ने नकारात्मक धारणाले बीजारोपण गरिरहेको छ । पढेर के हुन्छ ? जस्ता प्रश्नबाट आजका किशोरकिशोरी घेरिएका छन् । भनसुनका भरमा काम हुने, पैसाका भरमा काम हुने जुन प्रवृत्ति मौलाएको छ । यो प्रवृत्तिबाट आजका किशोरकिशोरी अर्थात् जेन–जीहरु ज्ञात छन् । सूचनाप्रविधिले उनीहरुलाई त्यो ज्ञान प्रवाह गरेको छ । यसकारण राजनीति गर्ने र सरकार चलाउनेहरुको जबसम्म तौरतरिकाहरु फेरिँदैनन्, तबसम्म हाम्रो शिक्षाप्रतिको आम अवधारणा तोडिने स्थिति छैन ।
जबसम्म शिक्षालाई सौम्य शक्ति हो भन्ने आम धारणाको विकास गराइँदैन, तबसम्म हाम्रा बालबालिकाहरुमा पढाइप्रतिको धारणा नकारात्मक नै बनिरहन्छ । जबसम्म हाम्रा विद्यार्थीको धारणा पनि चाइनिज विद्यार्थीको जस्तो हुँदैन, तबसम्म हाम्रो सिकाइहरु प्रत्युत्पादक नै बनिरहन्छन् । शिक्षाविद् केदारभक्त माथेमा थप लेख्छन्, “हालको शिक्षा प्रणालीमा व्यापक सुधार गरी समुदायका सबै केटाकेटीलाई एकै स्तर र मापदण्डका सार्वजनिक स्कुलमा भर्ना गर्ने र सबैलाई स्तरीय शिक्षा प्रदान गर्ने । यसले समतामूलक र मिलनसार समाज निर्माण गर्दछ ।”
शिक्षालाई वर्गीय विभेद अन्त्य गर्ने एउटा अस्त्रको रुपमा पनि लिइन्छ । तर, नेपालको जस्तो शिक्षा नीतिले त्यो सम्भव छैन । किनकि जो गुणस्तरीय शिक्षाबाट सिञ्चित भइरहेको छ, ऊ समाजमा अब्बल सावित भइरहन्छ । त्यसको प्रतिफल उसले प्राप्त गरिरहन्छ । यसले समाजलाई ‘काखा–पाखा’ बनाइरहन्छ । जसले गुणस्तरीय शिक्षा प्राप्त गर्छन् उनीहरुले समाजमा आफ्नो प्रभुत्व जमाइरहन्छ । यसले झन् झन् समाज विखण्डित गरिरहन्छ ।