प्रतिक्रियावादी, देशभक्त र प्रगतिशील नेपालको राजनीतिक क्षेत्रमा विशेषगरी वामपन्थी पार्टीहरुमा प्रयोग भइरहने शब्दहरु हुन् । ती पार्टीहरुका लागि रास्वपा पनि प्रतिक्रियावादी शक्ति, दुर्गा प्रसाईंको आन्दोलन पनि प्रतिक्रियावादी शक्ति अनि गणतन्त्रले नेपाललाई केही दिन सकेन । भ्रष्टाचार, घुसखोरीजस्ता अनियमितताहरु बढेर जनतामा वितृष्णा फैलिन थालेको भन्ने पनि प्रतिक्रियावादी शक्ति हुन् । उनका नजरमा भरखरै एमालेको कारबाहीमा परेका पूर्व उपाध्यक्ष भीम रावल पनि प्रक्रियावादी शक्ति । देशभक्त र प्रगतिशील भन्ने शब्द चाहिँ तिनको आफ्नै पेवाजस्तै भएको छ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिक्रियावादी शक्तिहरु एमालेविरूद्ध निर्दयी भएर लागेको अनि देशभक्त र प्रगतिशील शक्तिहरु एक हुनुपरेकोमा जोड दिएका थिए । ओलीलाई भित्रैदेखि मन पराउनेहरुले त यसलाई स्वभाविक र नियमित मन्तव्यका रुपमा लिएका होलान्, तर आफूमाथि देशभक्त र प्रगतीशीलको बिल्ला भिराउ“दा भने छक्क पर्नेमा एमालेभित्र र बाहिर लाखौं सङ्ख्यामा छन् ।

मुलुकको सार्वभौमसत्ता, सम्प्रभुता विदेशी शक्ति केन्द्रको पाउमा चढाउने र नेपालको ढिकुटीमा ब्रह्मलुट मच्चाउनेहरुले पञ्चायतकालदेखिकै प्रयोग गर्दै आएका शब्दहरु हुन् । अठारौं शताब्दीको अन्त्यतिर फ्रेन्च रिभोलुशनका समयमा सुरू भएको यो ‘प्रतिक्रियावादी’ भन्ने शब्द २१ औं शताब्दीमा पनि आएर प्रयोग गर्नु, त्यो पनि नेपालको भूराजनीतिक सन्तुलनका सन्दर्भमा अव्यावहारिक हु“दाहु“दै पनि प्रयोग भई नै रहेको छ । देशको अस्मिता विदेशीको हातमा सुम्पेर आफूलाई देशभक्त ठान्ने नेताहरुले महाकाली सन्धिको कुरामा पनि हेक्का राख्ने गर, यो सन्धिको कुरा स्मृतिको गर्भबाट हराएको नहुनु पर्ने हो । अनि प्रगतिशील कसलाई भन्ने, आफैले आफैलाई ? आफू प्रगतिशील र अरु प्रतिक्रियावादी ठान्नेले पहिला आफूले ढिकुटी हजम गर्ने कि मुलुकको विकास निर्माण र आर्थिक रुपान्तरणको लागि दृढ सङ्कल्पित रहने हो, जनताले तेस्र्याउने प्रश्नहरु हुन् यी । गिरिबन्धु टी स्टेट, ललिता निवास, नक्कली भूटानी शरणार्थी, सेक्युरिटी प्रेस, टीकापुर जग्गाा, वाइडबडी, मेडिकल उपकरण, पशुपतिको जलहरी, एनसेल कर छली, विद्युत् बक्यौता, मीनबहादुर जग्गा दान, उपचारका लागि राज्यकोषमा ब्रह्मलुटलगायतका खरबौं रूपैयाँ बराबरको हिनामिना गर्नेहरुका लागि प्यारो शब्द बनेको छ ‘देशभक्त प्रगतिशील’ ।

वर्तमान सन्दर्भमा प्रगतिशील हुनका लागि आर्थिक समानता समाजमा विद्यमान हुनुपर्छ कि पर्दैन ? वातावरणीय स्थायित्व वा निरन्तरता, सामाजिक न्यायको बहाली, आफ्नै दलभित्र पनि जनवाद हुनुपर्छ पर्दैन । नेतृत्व गर्नेको आलोचना गर्दा वा आफ्नो विरूद्ध बोल्ने जतिलाई प्रतिक्रियावादी र सिङ्गै दलको विरोधीको संज्ञा दिने परिपाटी मजबुत भयो भने जनवाद वा लोकतन्त्र भन्ने कुरा हास्यास्पद मात्र हुन पुग्छ । प्रगतिशील हुनका लागि कस्ता कस्ता गुणहरु वा विशेषताहरु चाहिन्छन्  र त्यो गुण, विशेषता के के छ तिनमा ? सामाजिक, आर्थिक र राजनीतिक सुधारमा भूमिका के भइरहेको छ, सरकारको नेतृत्वको सकारात्मक परिणाम कहा“नेर हासिल भएको छ ? जनतामाथि आशा जगाउनुका साथै विज्ञान र प्रविधिले सुधारका लागि सम्बोधन गरेको छ कि छैन जस्ता कुराहरु हेरिनु पर्छ । यदि यी कुराहरुको प्राप्ति छैन भने आफूले आफैलाई प्रगतिशील भन्न सुहाउने कुरा हैन । यस्ता कुराहरुमा ध्यान दिए पो देश र जनताको भलो हुनेथियो र प्रगतिशील शब्दको हकदार हुन पाइने थियो । अलोकप्रियताले शिखर चुम्दै गरेको बेला यस्तो डिङ हाँक्दै हिँड्दा झन् प्रत्युत्पादक हुनेछ ।