विराटनगर । उच्च अदालत विराटनगर परिसरमा आइतबार दिउँसो बौआलाल चौधरी उज्यालो मुद्रामा भेटिए । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ घर भएका ५८ वर्षीय चौधरीको हातमा उच्च अदालतले गरेको फैसलाको १० पाना थियो ।

उक्त फैसलामा ठगी गरी आपराधिक लाभ लिएको मुद्दाको आरोपित अनिलकुमार पोखरेलविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न मोरङ प्रहरीको नाममा अदालतले फैसला गरेको थियो । अदालतले गरेको फैसलाको आधारमा ३८ लाख ८० हजार रुपैयाँ ठगी गर्ने अनिललाई प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाउने निश्चित भएपछि बौआलालको मुहारमा छुट्टै खुसी देखिएको हो । पोखरेल सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव हुन् । अदालतमा मुद्दा आए पछि उनलाई स्वकीयबाट निकालिएको छ ।

अदालतको परमादेशपछि न्याय पाउने आशा जागेको बौआलाल बताउँछन् । ‘धेरै दुःख गरेपछि अहिले अदालतले परमादेश दिएपछि आइतबार जाहेरी दर्ता गरी अनुसन्धान गर्ने फैसलाको पत्र प्रहरीले आइतबार बुझेको छ । त्यसपछि सोमबार फेरि जाहेरीमा सनाखत गरेपछि प्रतिवादीलाई पक्राउ पुर्जीको लागि अदालतले पनि अनुमित दिएको छ’ अदालत परिसरमा भेटिएका बैआलाले ब्लाष्टसँग भने, ‘अब चाहिँ न्याय पाउने आशा पलाएको छ ।’ न्यायको लागि ७ वर्षसम्म   भौंतारिनु परेको उनले सुनाए ।

‘छोरीलाई एमबीबीएसमा नाम निकालिदिन्छु भनेर ३८ लाख ८० हजार रुपैयाँ डुबेपछि पैसा फिर्ताको लागि प्रहरी प्रशासनदेखि राजनैतिक दलका नेताको घरसम्म पुगेँ । तर, कतैबाट न्यायको ढोका खुलेन ।  धेरै ठाउँ, धेरै मान्छेलाई भन्दा–भन्दा थाकेको मान्छे हुँ म । त्यसपछि मेरो मित्र वसन्त आर्यालमार्फत् एक जना कानून व्यवसायीलाई लिएर उच्च अदालतमा अनुसन्धान गरिपाऊँ भनेर रिट निवेदन दर्ता गराएँ । अहिले अदालतले आदेश दिएको छ । न्यायको बाटो खुलेको छ । अब मलाई मेरो पैसा फिर्ता चाहियो’–उनले भने  । राजनीतिक रूपमा केन्द्रसम्म पहुँच भएका अनिलविरुद्ध अब कसरी अनुसन्धान हुन्छ भन्ने प्रश्न पनि खडा भएको छ । उनी आबद्ध दल एमालेको नेतृत्वमा केन्द्र र प्रदेशमा सरकार रहेको छ । उनी अझै पनि न्याय नपाइने हो कि भन्ने शङ्कामा छन् ।

बौआलालले पहिलो किस्ताबापत २०७१ फागुन १३ मा साथी केदारप्रसाद घिमिरेमार्फत् अनिललाई ५० हजार रुपैयाँ दिएका थिए भने पछि रामदेव सिंहमार्फत् १ लाख रुपैयाँ नबिल बैङ्कमा रहेको अनिलको खाता नं. ३५१००१७५०३९८१ मा जम्मा गरेको बैङ्क भौचरमा उल्लेख छ । २०७३ जेठ १३ मा नबिल बैङ्कको सोही खातामा १ लाख ३० हजार जम्मा गरिएको थियो । २०७३ मङ्सिर २२ मा बौआलालले एकमुष्ठ १८ लाख रुपैयाँ जम्मा गरिदिएको उनको भनाइ छ ।

‘पटक–पटक गरी मैले ३८ लाख ८० हजार रुपैयाँ बुझाएको छु’ बौआलालले भने, ‘जीवनभर कमाएको पैसाले विराटनगर–१४ डिग्री क्याम्पसअगाडि जग्गा जोडेको थिएँ । त्यही जग्गा बिक्री गरेर छोरीलाई डाक्टर बनाउने सपना देखेको थिएँ । ठगको फन्दामा परेर जीवनभर कमाएको सबै पैसा अनिलले खाइदियो ।’  पैसा लिएपछि अनिल करिब ३–४ महिना सम्पर्कविहीन भएका थिए ।

२०७८ फागुन ९ मा भने हिसाब चुक्ता गरिदिन्छु भनेर अनिलले आफूलाई बोलाएको बौआलालको भनाइ छ । ‘तपाईंको हिसाब चुक्ता गरिदिन्छु, आउनुहोस् भनी बोलाई ८–१० जनाको समूहले मलाई २०७४ असार २५ गते आइतबारको मिति राखिएको कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराए’–उनले अदालतमा दिएको निवेदनमा उल्लेख छ ।

त्यसपछि बौआलाल ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानूनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रङ्गेली पुगे । प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार ग¥यो  । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे, त्यहाँ पनि जाहेरी दर्ता भएन ।

बौआलाल जिल्ला सरकारी वकिलको कार्यालय पुग्दा पनि जाहेरी दर्ताका लागि प्रहरीलाई आदेश दिइएन् । बौआलालले २०७९ साउन १८ मा हुलाकबाट प्रहरीलाई जाहेरी पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझेपछि ठगीमा अनुसन्धान अगाडि बढाइएन । त्यसपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका हुन् । उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले भदौ ३१ गते अनिलविरुद्ध जाहेरी दर्ता गरी कानूनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ ।

पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी
विराटनगर । 
नेकपा (एमाले) मोरङका सदस्य अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो ।

अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । सोही मुद्दामा अनुसन्धानको लागि प्रहरीले पक्राउ पुर्जीको अनुमति अदालतमा माग गरेको थियो । सोमबार दिउँसो पक्राउको लागि अदालतले अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । ‘प्रहरीले पक्राउ गरी अनुमति माग गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएको छ’–उनले भने । अदालतले अनुमति दिएपछि ठगी आरोप लागेको पोखरेलको खोजी कार्यमा प्रहरी लागिपर्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ‘अदालतबाट पक्राउ पुर्जी आएको छ । पक्राउ गरी घटनाको अनुसन्धान गर्न लागिपरेका छौं । त्यसको लागि प्रहरी परिचालन भएको छ’ –उनले भने । 

उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन फैसला गरेको पत्र आइतबार मोरङ प्रहरीले बुझेसँगै अनुसन्धान अगाडि बढेको थियो । वरिष्ठ कृषि प्रसार अधिकृतबाट अवकास प्राप्त सप्तरी घर भएका बौआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भनेर विश्वासमा पारी २०७१ देखि ०७३ का बीचमा पटक–पटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत् अनिलले पैसा लिएका थिए । सो रकम लिएपछि चेकको अर्धकट्टीमा हस्ताक्षर गरेर बौआलालको छोरीलाई नाम निकाल्ने जिम्मा लिएका थिए । पछि छोरीको नाम ननिस्केपछि पैसा फिर्ता माग्दा उल्टै अनिलले २०७४ असार २५ गते आइतबारको मिति राखेर कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराएका थिए । त्यसपछि बौआलाल ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानूनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रङ्गेली पुगे । प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार ग¥यो । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे, त्यहाँ पनि जाहेरी दर्ता भएन ।

बौआलाल जिल्ला सरकारी वकिलको कार्यालय पुग्दा पनि जाहेरी दर्ताका लागि प्रहरीलाई आदेश दिइएन । बौआलालले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझेपछि ठगीमा अनुसन्धान अगाडि बढाइएन । त्यसपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका हुन् ।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले भदौ ३१ गते अनिलविरुद्ध जाहेरी दर्ता गरी कानूनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ । आदेशको पुस ११ गते प्रमाणीकरण भएको छ । प्रमाणीकरण भएपछि अदालतले गरेको फैसलाको पूर्णपाठसहितको जानकारी प्रहरीमा पुगेपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।