धरान / आउँदो पौष २५ गतेदेखि धरान रंगशालामा सुरु हुने धरान एक्स्पो २०८१ व्यापार, कृषि, र पर्यटन प्रवर्द्धनको मुख्य केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ। १० दिनसम्म चल्ने यस एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नेछन्। स्थानीय व्यवसाय प्रवर्द्धनदेखि राष्ट्रिय स्तरका कार्यक्रमसम्मका विशेषताहरू समेटिएको यो एक्स्पोले धरानलाई आर्थिक गतिविधिको केन्द्रको रूपमा स्थापित गर्न भूमिका खेल्ने आयोजक सुनसरी उद्योग वाािणज्य संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
स्थानीय व्यापार, उद्योग, र कृषि उत्पादनलाई नयाँ उचाइमा पुर्याउन र व्यवसायीहरूलाई आफ्नो उत्पादन र सेवा प्रदर्शन गर्ने प्लेटफर्म का रुपमा धरान एक्स्पोलाई स्थापित गरिएको अध्यक्ष श्रेष्ठले बताए । धरानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न समेत आफुहरु लागि परेको उनको भनाई छ ।
यसपटकको एक्स्पोलाई अझ प्रभावकारी बनाउन स्टलहरूको व्यवस्थापन, प्रचार(प्रसार, र सहभागी व्यवसायहरूको छनोटमा ध्यान दिएका छौं। मनोरञ्जनका कार्यक्रम र सस्तो तर गुणस्तरीय सामानहरूको उपलब्धताले यसलाई विशेष बनाउने छ।, उनले भने ।
धरान एक्स्पो अवधिभर १० करोडभन्दा बढीको आर्थिक कारोबार हुने सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा एक्स्पो संयोजक गाेपाल श्रेष्ठले बताए । आयोजकका अनुसार एक्स्पोमा करिब एक सय पचास स्टलहरू हुनेछन्। राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, बाल उद्यान, र सस्तो सामानको बजार दर्शकका लागि विशेष आकर्षण बन्नेछन्। धरान एक्स्पोले धरानको सांस्कृतिक र पर्यटकीय महत्त्वलाई उजागर गर्नेछ। यसले पर्यटकहरूलाई आकर्षित गर्न र क्षेत्रीय पर्यटन व्यवसायलाई थप प्रवर्द्धन गर्न मद्दत गर्ने बताइएको छ।
प्रदेश सरकार, स्थानीय संघसंस्था, र निजी क्षेत्रसँग सहकार्यमा गर्न लागिएको एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । एक्स्पोलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन आगामी वर्षहरूमा विदेशी व्यापारिक प्रतिनिधिहरूलाई आमन्त्रित गरेर यसलाई विश्वव्यापी बनाउने योजना रहेको संयोजक श्रेष्ठले सुनाए ।
यो एक्स्पो केवल व्यापार र मनोरञ्जनको लागि होइन, यो हाम्रो स्थानीय पहिचान र आर्थिक गतिलाई अघि बढाउने महत्त्वपूर्ण अभियान हो। सबैलाई आग्रह छ, यस अवसरमा सहभागी भएर यसलाई सफल बनाउन सहयोग गरौँ।
एक्स्पोबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषिउपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं विकासे ९हाइब्रिड० प्रजातिको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ । कृषिअन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी कक्ष राखिनेछ । अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी महलगायत स्थानीय कृषिउपज तथा उत्पादन समावेश गरिनेछ । एक्स्पोमा घरेलु साना तथा ठूला उद्योगका सामाग्रीसँगै भारत, बंगलादेश र पाकिस्तानबाट पनि स्टल रहने छन् ।