भद्रपुर । लज्जावती झारजस्तै देखिने विदेशबाट भित्रिएको ‘उल्टा काँडा’ नामक मिचाहा प्रजातिको झार फैलिएर झापामा जैविक विविधता, खेतीयोग्य जमिन, सडक र पशुपालनमा सङ्कट थपिँदै गएको पाइएको छ ।
फरेस्ट एक्सन नेपाल झापाकी फिल्ड को–अर्डिनेटर मुना भट्टरार्ईले झापाको भद्रपुरभित्र यस्ता मिचाहा प्रजातिका विषयमा विभिन्न सरोकारवालामाझ जानकारी गराएपछि त्यसबाट जैविक विविधतामा सङ्कट निम्तिएको पाइएको हो ।
भद्रपुर नगरपालिका र फरेस्ट एक्सनको सहकार्यमा गरेको स्थलगत अनुगमनमा भद्रपुरका सबै वडामा फैलिएको तथ्य फेला परेपछि यसको नियन्त्रण अभियानमा भद्रपुर नगरपालिकाले चासो बढाएको छ । नगरले १८ गतेबाट नगरभित्र रहेका १० वटै वडाका टोल विकास संस्था, स्थानीयवासी, विभिन्न सङ्घ–संस्था, राजनीतिक दल, जनप्रतिनिधिलगायतको उपस्थितिमा छलफल जारी राखेको छ । झापाको टिमाई, बिरिङ, रतुवा, मावालगायतका खोला किनारबाट ल्याइने बालुवासँगै यसको वीज गाउँबस्तीमा फैलिने गरेको उनको भनाइ छ । झापाका अधिकांश सामुदायिक वन, सहरका नयाँ घडेरी क्षेत्र र सडक किनारमा यसले रैथाने झारलाई विस्थापित गरिरहेको उनले जानकारी गराइन् ।
उनका अनुसार वैज्ञानिक नाम ‘मिमोसा डिप्लोट्राइका’ रहेको यो आगन्तुक झारलाई स्थानीयले ‘उल्टा काँडा’ भन्ने गर्छन् । लज्जावती झारसँग मिल्दोजुल्दो यो झारको पात, डाँठ र फूलमा मिमोसिन नामक विषालु रसायन हुने भएकाले उल्टा काँडाको घाँसमा झुस हुन्छ भने यसको घाँस खाएका पशु बिरामी भएर मर्ने गरेको उनको भनाइ छ । यसको झुस र काँडा बिझेमा पशु र मानिसको शरीर चिलाउने र घाउ बन्ने गर्दछ । यसलाई नियन्त्रणमा लिन कात्तिक महिना प्रभावकारी हुने उनले बताइन् ।
कोसा लागिसकेपछि बिउ माटोमा झरेमा पचास वर्षसम्म रहने उनले बताइन् । यसको डाँठमा उल्टो परेको काँडा हुने भएकाले स्थानीयले यसको नाम नै ‘उल्टा काँडा’ भन्ने गरेका हुन् । जैविक विविधता जोगाउन यस्ता मिचाहा झारको नियन्त्रणको खाँचो औंल्याउँदै अभियानकै रूपमा आइरहेको उनले बताइन् । झापा, मोरङ र सुनसरी जिल्लाका अधिकांश सामुदायिक वन र खाली जमिनमा ‘उल्टा काँडा’ झार डरलाग्दो रूपमा फैलिरहेको उनको भनाइ छ । भुटानी शरणार्थी शिविरको घेराबाराका लागि यसको वीज ल्याएर छरिएको र त्यहीँबाट फैलिएको अनुसन्धानले देखाएको उनले बताइन् । हाल पूर्वी नेपालमा मात्र यो पाइएको उनको भनाइ छ । ‘उल्टा काँडा’ बहुवर्षीय मिचाहा प्रजातिको झार हो । यसको बोट हरेक वर्ष फैलिरहन्छ । यसको उद्गम थलो अमेरिकी महाद्वीप मानिएको छ । दुई दशकअघिदेखि नेपालमा फैलिन थालेको अनुसन्धानकर्ताको भनाइ छ ।
अरेली काँडाको जस्तो काँडा र लज्जावतीको जस्तो पात हुने यसको झाडी तीव्रगतिमा फैलिन्छ । खोलाको किनार, बगर, खुला ठाउँ, जङ्गल, सडक छेउछाउ र ढुङ्गा, बालुवा छरिएको ग्राभेल बाटोमा यो जताततै भेटिने गर्छ । खोलाबाट ढुङ्गा र बालुवा ल्याइएको कारण सहरका घडेरी र सडकमा यसको झाडी फैलिएको विज्ञहरूको भनाइ छ ।
यसले खेतबारीमा फैलिएर अन्नबाली र चरन क्षेत्र मास्ने गरेको जलथल सव–डिभिजन प्रमुख कुलप्रसाद भट्टराईले बताए । ‘उल्टा काँडा झार नियन्त्रण गरौँ, किसानहरूको थप क्षति हुनबाट रोकौँ’ भन्ने नारा लगायत विभिन्न जनचेतना जगाइरहेको उनले बताए । झापाका २२ सामुदायिक वनमा अध्ययन गर्दा यसले जैविक विविधतामा सङ्कट निम्त्याइसकेको पाइएको उनको भनाइ छ । उनका अनुसार यो झार जहाँ फैलिन्छ, त्यहाँ रैथाने झार र बुट्यान मासिन्छ । फूल, जरा र लहराको माध्यमबाट यसको झाडी छिटो बढ्ने गरेको छ । झाडीभित्र वन्यजन्तुसमेत छिर्न नसक्ने अवस्था सिर्जना हुने जनाइएको छ ।
यो अभियानमा भद्रपुर नगरका वन तथा वातावरण व्यवस्थापन शाखा प्रमुख नेत्रसाद भट्टराईले सहजीकरण गर्दै आइरहेका छन् । अभियानमा सम्बन्धित वडाका जनप्रतिनिधि एवम् कर्मचारीले वडावासीलाई उपस्थित गराई मिचाहा प्रजातिका वनस्पति प्रजातिका बारेमा जानकारीमूलक छलफल तथा नष्ट गर्ने काम गरिरहेका छन् ।