विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी सहकारी संस्थाको ठगी मुद्दाका प्रतिवादी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई  धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले बुधबार ठगी मुद्दाका प्रतिवादी कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । अदालतले तोकेको धरौटी रकम कोइरालाले नगद बुझाएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

गत मङ्सिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले ३ पुसमा उनीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले पढाउने विराटनगरको महेन्द्र रात्रि मा.वि.मा बिदा लिएर फरार भएकी थिइन् ।

फरार भएको तीन सातापछि अदालतमा
विद्यालयमा बिदा लिएर फरार भएको तीन सातापछि बुधबार बिहान १० बजे अदालतमा उनी उपस्थित भइन् । करिब डेढ घण्टा १ नम्बर इजलासमा इन्कारी बयान दिएपछि थुनछेक बहस सुरु भएको थियो ।  थुनछेक बहसअगाडि अदालतमा बयान दिँदै अञ्जलाले कुनै दायित्व आफूसँग नरहने गरी सहकारीको सञ्चालक समितिबाट राजीनामा दिएको तथा सञ्चालक समितिको कुनै पनि माइन्यूटमा हस्ताक्षर नगरेको दाबी गरेको आदेशमा उल्लेख छ । सहकारीबाट राजीनामा दिँदा कुनै दायित्व नहरने गरी प्रतिवादी अञ्जलाले राजीनामा दिएकोले थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने नदेखिएको आदेशमा उल्लेख छ ।

अञ्जलाको तर्फबाट बहस गर्ने २० वकिल
सहकारी ठगी मुद्दामा वादीको तर्फबाट सहायक न्यायाधीवक्ता सुदर्शन निरौलाले बहस गरेपछि प्रतिवादीको तर्फबाट २० जना कानून व्यवसायीहरूले बहस गरेका छन् ।

अञ्जलाको तर्फबाट ९ जना वरिष्ठ अधिवक्ता र ११ जना अधिवक्ताहरूले बहस गरेका थिए । जसमा वरिष्ठ अधिवक्ताहरू  चूडामणि आचार्य, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी, डिल्लीबहादुर कार्की, सीताराम राई, रमेश कोइराला, देवीबहादुर घिमिरे, गणेशराज लुइँटेल, हेमराज पन्त र अधिवक्ताहरू साहस आचार्य, रीता दाहाल, अन्ताज हुसेन, सन्नीकुमार साह, विश्वराम भट्टराई, मूना वस्ती, हरिशङ्कर मण्डल, कला त्रिताल, रसिकलाल मण्डल, डिल्लीराम घिमिरे र विनोदकुमार तिम्सिनाले बहस गरेका थिए ।

बहसपछि अदालतले गरेको आदेशमा ‘निजलाई हाल थुनामा नै राखी कारबाही गरिरहनु पर्ने नदेखिएकोले हाललाई यी प्रतिवादी अञ्जला कोइरालाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम रु. १०,००,०००।– (दश लाख रुपैयाँ) नगद धरौटी वा जेथा जमानत वा बैङ्क जमानत दिए लिई तारेखमा राख्नू । नदिए सोही कारण जनाई सोही संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई नियमानुसार सिदा खान पाउने गरी मुद्दा पुर्पक्षको लागि थुनामा राख्न कारागार कार्यालय मोरङमा पठाइदिनू भनी सोही संहिताको दफा ७९ बमोजिम यो आदेश गरिदिएको छ’ भन्ने निष्कर्ष दिइएको छ ।

अझै २३ जना फरार सूचीमा
सहकारी ठगी मुद्दामा अझै २३ जना फरार रहेका छन् । यसअघि धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई भने अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो । उनी नेपाली काङ्ग्रेसबाट २०७४ मा वडाध्यक्ष निर्वाचित भएका थिए । सोही मुद्दामा नेकपा (एमाले)बाट निर्वाचित रङ्गेली नगरपालिका वडानम्बर २ का बहालवाला वडाध्यक्ष सन्तलाल खवासलाई भने अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

अभियोगपत्र अध्यक्ष रौनियार र सञ्चालक अञ्जलासहित लक्ष्मण साह रौनियार, आलम अन्सारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जितमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, अञ्जला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहम्मद नजाम उद्दिनलाई प्रतिवादी बनाइएको छ । यसैगरी अदालतमा दायर भएको अभियोग पत्रमा चम्पा गिरी, शम्भुप्रसाद सिंह, सन्तलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्रप्रसाद शिवाकोटी, शरदराज सिंह, मो. नसरुद्दिन, मनोजकुमार सोनी र यशोदाकुमारी राजवंशी फरार प्रतिवादीमा रहेको उल्लेख छ ।

दायर भएको अभियोग पत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ ।

उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर थिए । शेयर बापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ । सहकारीमा ७ सय ७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ ।