धरान । शूलीकोट ओझेलमा रहेको धरानको ऐतिहासिक गन्तव्य हो । जहाँ सोह्रौँ शताब्दीका राजा विजयनारायण रायको पालामा ‘शूली’ दिने ठाउँ हो । इतिहास अध्येताहरूका अनुसार विजयनारायण रायको पालामा शूली दिनका लागि उक्त स्थान बनाइएको थियो ।
विजयनारायणले मुरेहाङ खेवाहाङलाई शूली दिएको इतिहास पाइने अध्येता डा. कमल तिगेला बताउँछन् । उनले भने, ‘मुरेहाङ खेवाहाङ बुद्धिकर्ण रायका पुर्खाहरू थिए । उनलाई त्यहीँ शूली दिइएको भन्ने छ ।’ शूली दिने कार्यलाई सेनहरूले पनि निरन्तरता दिए । विजयनारायणलाई पराजित गरेपछि संवत् १६१६ ताकादेखि सेनहरूले शासन गरे । ‘सेनहरूले पनि शूली दिने कुरालाई निरन्तरता दिए’–उनी भन्छन् । सेनहरूले विजयपुरमा झण्डै दुई यस १५ वर्षजति शासन गरे । विभिन्न पुस्तकहरूमा शूली अड्डाको स्थापना किरात वंशमा भएको उल्लेख छ । किरातीहरूले शासन सञ्चालन गर्दा चारवटा अड्डाहरूलाई प्रचलनमा ल्याए ।

जसमा कुथेर, शुली, माप्चोक र लिङ्कवल अड्डा थिए । त्यही अड्डा पछि गएर अधीकरणमा परिवर्तन भयो । किरातलाई पराजित गरी लिच्छवीहरूले शासन गर्न थालेपछि अधीकरण भनी नामकरण गरे । जसमध्ये शूली अड्डा अर्थात् शूली अधीकरणले पञ्चापराधमा मृत्युदण्डको सजाय दिने व्यवस्था गरिएको थियो । पञ्चापराधमा चोरी÷डकैती, कर्तव्य ज्यान (हत्या), परस्त्रीगमन÷अपहरण, राजद्रोह र यी अपराधमा सहयोग गर्ने सहयोगी पर्थे । लिच्छवीबाट पराजित भई पूर्वतर्फ आएका किरातीहरूले राजकाजका बेला गरेका कयौँ अभ्यासलाई निरन्तरता दिए । सोहीअनुसार नै हालको धरान उपमहानगपालिका–२० मा शूलीकोट स्थापित गरेको एक खाले मान्यता छ ।

पर्यटन व्यवसायी वासु बराल भन्छन्, ‘सुनेअनुसार विजयपुर राज्यमा सजाय दिने दुई ठाउँ थिए रे । एउटा धरानको हात्तीसार । जहाँ हात्तीले किचाएर सजाय दिने र अर्को चाहिँ शूली घोचेर सजाय दिने । त्यो ठाउँ चाहिँ शूलीकोट हो भनेर पढेकोसुनेको हो ।’ अहिले त्यो ठाउँमा सामान्य ढङ्गले घेरेर राखिएको छ । ‘ऐतिहासिक चर्चा परिचर्चा जति छ । त्योअनुसारको पूर्वाधार केही पनि छैन’ पर्यटन व्यवसायी बराल भन्छन्, ‘सामान्य ढङ्गले घेरेको सानो खाडलजस्तो छ, त्योबाहेक केही छैन ।’ त्यही घेरिएको ठाउँमा आजभोलि ‘थान’ स्थापना गरी पूजाआजा गर्न थालिएको छ । स्थानीय दिलबहादुर तामाङ अहिले त्यहाँका पुजारी छन् । हरेक बिहान उनी त्यहाँ पुग्छन् र धूपबात्ती गरेर फर्किन्छन् । पाँच–छ वर्षयतादेखि थान थापेर पूजा गर्न थालिएको पुजारी दिलबहादुर बताउँछन् ।

तर, कतिपय स्थानीयहरूले भने ‘राजा मारेको’ भनी सुन्दै आएका छन् । स्थानीय पूर्णबहादुर तामाङ भन्छन्, ‘बाउबाजेले कुरा गरेको सुन्दा राजाचाहिँ मारेको अरे भनेर सुनेको हो । शूली चढाएको भनेर त थाहा छैन ।’ स्थानीयसँग शूलीकोटबारे अनेकन मिथक सुन्दै आएका छन् । कतिपयले शूली चढाउने ठाउँको रूपमा बुझ्छन् भने कतिपयले थानको रूपमा बुझ्छन् । कतिपयले राजा मारेको रे भन्ने बुझेका छन् ।

‘मैले बिहे पनि गरेको थिइनँ, मान्छेहरू आको थियो । यो भताभुङ्गे राजाको पालादेखिको हो; दर्शन गर्न आएको भनेर भने’ पुजारी दिलबहादुर भन्छन्, ‘पापीअपराधीहरूलाई शूली चढाउने ठाउँ हो । यहाँ धुपबत्ती गर्नूस् भनेर भने ।’ उनका अनुसार आफू १५–१६ वर्षको उमेरमा भनेको कुरा पछि आएर दुःखबिराम भएपछि धामीलाई देखाउँदा ‘धामी हुन्छस्’ भनेर भनेका थिए । त्यही भएर आफू दैनिक आई पूजाआजा गर्न थालेको उनले सुनाए । ‘त्यो मान्छेहरूले भनेको कुरा जस्तै पछि दुःखबिराइ भो’ उनले भने, ‘धामीलाई देखाउँदा धामी हुन्छस् भने । अहिले धामीको काम गर्दैछु ।’

नेपाली शब्दकोशमा ‘शूली’ को अर्थ ‘ठूला अपराधीलाई गुदद्वारबाट रोपी माथिसम्म उनेर प्राणदान दिइने, भालाजस्तो तिखो टुप्पो भएको प्राचीन हतियार आदि’ भन्ने उल्लेख छ । शाह वंशको उदयपूर्व उक्त ठाउँमा मृत्युदण्ड दिइने व्यवस्था रहेको जानकारहरू बताउँछन् । तर, आजकाल भने पूजा गर्ने थलो बनेको छ । अहिले यसको ऐतिहासिकता मेटिने खतरा छ । यो ठाउँको ऐतिहासिकलाई जीवित राख्न स्थानीय सरकारले पनि खासै चासो नदिएको स्थानीय बताउँछन् । धरानको भानुचोकबाट करिब ११ किलोमिटर टाढा पर्ने उक्त स्थलको संरक्षणमा कसैले पनि ध्यान दिएको छैन । त्यसको राम्रोसँग प्रचार–प्रसार गर्न सके आन्तरिक तथा वाह्य पर्यटक भिœयाउन सकिने अवस्था रहेको पर्यटन व्यवसायी बताउँछन् । ‘अहिले पनि अलिअलि मान्छेहरू आउनुहुन्छ’–पुजारी दिलबहादुर भन्छन् ।