न्युट्रास्युटिकल अर्थात् खाद्यपूरक (भिटामिनले भरिपूर्ण) सामग्री सम्बन्धी गैरसरकारी संस्था न्युट्रास्युटिकल एसोसिएसनका अध्यक्षले नै पुरानो उत्पादन मितिलाई मेटाएर बढी मुनाफा कमाउने नियतबाट अभिप्रेरित भएर नयाँ उत्पादन मिति राखेर जनस्वास्थ्यमा खेलवाड गर्ने कार्य गर्नु आपराधिक कार्य हो, जुन क्षम्य हुन सक्दैन । सो एसोसिएसनका अध्यक्ष विपिन झाको घरमा जिल्ला प्रहरी कार्यालय मोरङ र राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेर मल्टिभिटामिनलगायत ठूलो परिमाणमा न्युट्रास्युटिकलहरु बरामद गरेपछि पूर्वको औषधि बजारमा सरगर्मी पैदा भएको छ ।

झाले आफ्नो गोदामबाट पूर्वका औषधि पसलहरुलाई बिक्री वितरण गर्न दिएको यस्तो खालको मल्टिभिटामिनलगायतका न्युट्रास्युटिकलहरुको फेहरिस्त ती पसलहरुमा खोजतलास गर्दा झाले अहिलेसम्म कति परिमाणमा, कहिलेदेखि, कति रकम बराबरको वितरण गरेका थिए भन्ने खुल्थ्यो । भरिया लगाएर सुरक्षाकर्मीहरुको आँखा छली सीमा कटाउँदै जनस्वास्थ्यमा असर पर्नसक्ने र आर्थिकरुपमा लुट मच्चाउन सफल भएका झा जसले भारतमै मिति सकिएको न्युट्रास्युटिकललाई नयाँ उत्पादन मिति लेख्ने र त्यसका लागि प्रयोग गरिने सबै सामग्रीहरु बरामद गरिनुले पनि जानाजान गरिएको कालाबजारी र जनस्वास्थ्य साथै जनताका पैसामाथिको खेलवाड हो भन्ने प्रष्ट हुन्छ । कानूनले नै पुष्टि गर्न सकिने खालको आपराधिक मनसाय राखी उक्त आपराधिक कार्य गरेको हो भनेर ठोकुवा गर्न सकिन्छ । न्युट्रास्युटिकल भन्नाले खाद्यपूरक सामग्री हो, जसले रोगीहरुको स्वास्थ्यमा फाइदा पु¥याउनुका साथै रोगहरु लाग्न नदिने, रोगको उपचारमा प्रयोग हुने गर्छ ।

गरिएका सामग्रीहरुको बिलविजक नभेटिनु र राजश्व अनुसन्धान कार्यालयले प्रज्ञापन–पत्रको ताकेता गरिरहँदा पनि झाले उपलब्ध गराउन नसक्नुले सबैजसो सामग्रीहरु भरियाबाटै (भन्सार नतिरी) ल्याउने गरेको हुनसक्ने देखिन्छ । यस्तो आपराधिक कुकृत्यमा संलग्न भएकोलाई सामग्रीसहित मान्छेको नाम सार्वजनिक गर्नु प्रहरी र राजश्व अनुसन्धान कार्यालयको उदाहरणीय काम हो भन्दा फरक पर्दैन । तथापि अनुसन्धानको प्रारम्भिक चरणदेखि नै अनुसन्धानको प्रक्रिया र यससँग सम्बन्धित पछिल्ला परिणामहरुका सन्दर्भका तहकिकात गर्ने निकायले सार्वजनिक गर्दै लगेमा जनविश्वास बढेर जान्थ्यो । पक्राउ त ग¥यो तर मुद्दालाई रफादफा गर्ने, फितलो बनाउँदै लैजाने विगतमा देखिएका सुनिएका निकायहरुको कामजस्तै नियति नहोस् भन्नेतर्फ सचेत हुन जरूरी हुन्छ, जसले गर्दा अरुले अपराध गर्ने त के आँट गर्न पनि थर्थर काम्ने अवस्था सिर्जना होस् । बरामद गर्दै गर्दाकै अवस्थामा नै आपराधिक मनसाय रहेको देखिएको र सो मनसायअनुसार कार्य पनि भएको देखिएको हुनाले त्यस्ता क्रियाकलाप गर्ने व्यक्ति अधिकतम् सजायको भागिदार हुनुपर्छ । साथै त्यसरी वितरण गरिएका सामग्रीहरु बिक्री गर्ने फार्मेसीलगायत औषधि पसलहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन राजश्व अनुसन्धान सफल होस् र स्वास्थ्यको हिसाब साथै आर्थिकरुपमै ठगी गर्ने गरेको देखिँदा प्रहरीको अनुसन्धान पनि सफल होस् । यस अभियानका लागि सुपथ तरिकाले औषधि व्यवसाय सञ्चालन गर्दै गरेका औषधि पसलेहरु अनि नागरिक समाजको सहयोगी भूमिका तथा सकारात्मक र दबावमूलक पहल होस् ।