अमेरिकी डलरको भाउ पुनः वृद्धि भई १ सय ३८ रूपैयाँ ८३ पैसा पुगेको छ । नेपाली रूपैयाँको तुलनामा अमेरिकी डलरको निरन्तर वृद्धि पछिल्ला वर्षहरुमा चासो र बहसको विषय बन्दै आएको छ । यो अवस्थाले विश्वव्यापी उतारचढावपूर्ण आर्थिक प्रवृत्तिलाई प्रतिविम्बित गर्दछ । एक हिसाबले भन्ने हो भने अमेरिकी डलरलाई सुरक्षित लगानीको रुपमा हेरिएको छ भने यो बलियो पनि हुँदै गएको छ । यसको प्रभाव नेपालको अर्थतन्त्रमा गहिरो र बहुपक्षीय रहेको छ । डलर वृद्धिको सकारात्मक पाटोतर्फ हेर्ने हो भने अमेरिकी डलरको मूल्य बढ्दा विदेशमा कार्यरत नेपाली श्रमिकहरुलाई फाइदा पुगिरहेको देखिन्छ । नेपाल भित्रिने रेमिट्यान्सले नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)को महत्वपूर्ण हिस्सा ओगट्ने भएकोले नेपाली रूपैयाँमा परिवर्तन भएर आउँदा पहिलेको तुलनामा बढी रकम परिवारले पाउँदछन् । यसले पारिवारिक आम्दानी, उपभोग र समग्र आर्थिक गतिविधिलाई बढावा दिन्छ । नेपालको मुद्रा कमजोर हुँदा विदेशी पर्यटकहरुको लागि सस्तो गन्तव्य हुने भएकोले नेपालको पर्यटन क्षेत्रमा पनि यसले फाइदा पुर्याउने देखिन्छ । जसले पर्यटकहरुको सङ्ख्या बढाउन र आतिथ्य क्षेत्रमा राजस्व वृद्धिलाई प्रवद्र्धन गर्न भूमिका खेल्न सक्दछ ।
डलरको वृद्धिले फाइदा बढी गर्छ कि घाटा बढी हुन्छ भन्ने पाटोलाई पनि मनन् गर्नु जरूरी हुन्छ । खासगरी इन्धन, मेसिनरी र आवश्यक सामग्रीजस्ता आयातित वस्तुहरुको अत्यधिक आयातमा निर्भर नेपालले उच्च लागतको सामना गर्नुपर्ने हुन्छ । त्यसैकारण बढ्दो वैदेशिक व्यापार घाटालाई झन् बल पुर्याउने हुन्छ । जसले गर्दा देशको भुक्तानी सन्तुलनमा दबाव सिर्जना गर्दछ । आयातित कच्चा पदार्थ र वस्तुहरुमा निर्भर व्यवसायीहरुले बढ्दो लागतको सामना गर्नुपर्छ र यसले मुद्रास्फीतिलाई थप प्रोत्साहन गर्दछ । अर्को महत्वपूर्ण चिन्ता भनेको विदेशी ऋणको सेवा प्रदायकमा पर्ने प्रभाव हो। नेपालको वाह्य ऋणको ठूलो हिस्सा अमेरिकी डलरमा रहेकोले ऋण तिर्ने लागत अमेरिकी डलरको मूल्य वृद्धिसँगै बढ्न गई सरकारको वित्तीय स्थितिमा दबाव सिर्जना गर्दछ । साथै विदेशी ऋणबाट सञ्चालित विकासे परियोजनाहरुलाई पनि असर गर्दछ, किनभने बढ्दो लागतले ढिलाइ वा कार्यान्वयनको दायरा खुम्चिन सक्दछ ।
यी चुनौतीहरुको सामना गर्न नेपाल राष्ट्र बैङ्कले समष्टिगत आर्थिक स्थायित्व सुनिश्चित गर्न सक्रिय कदम चाल्न आवश्यक छ । व्यापार साझेदारीलाई विविधीकरण गर्ने, निर्यातमुखी उद्योगहरुको प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेजस्ता उपायहरुले आयातमा निर्भरता कम गर्न र बलियो डलरको प्रभावलाई न्यून गर्न सहयोग पुर्याउन सक्छ । त्यसैगरी पर्याप्त विदेशी मुद्रा सञ्चिति कायम राख्नु र विवेकपूर्ण मौद्रिक नीति अपनाइयो भने यो अस्थिर आर्थिक अवस्थालाई व्यवस्थापन गर्ने अस्त्र सावित हुनसक्दछ । अमेरिकी डलरको वृद्धिले केही आर्थिक फाइदा प्रदान गरे पनि यसका व्यापक प्रभावहरुले नेपालको अर्थतन्त्रको कमजोरीहरुलाई उजागर गर्दछ । यसलाई व्यवस्थापन गर्न रणनीतिक र सन्तुलित दृष्टिकोण आवश्यक छ । नीतिनिर्माता, व्यवसायी र नागरिकहरुको सामूहिक रुपको पहलकदमीले नेपालको अर्थतन्त्रलाई सुदृढ र स्थिर बनाउनेतर्फ बेलैमा ध्यान पुर्याउन जरूरी छ ।