धरान। सुनसरीको धरानस्थित कृषिउपज बजार स्थलमा आउने हरियो तरकारीमध्ये ६ प्रकारका हरियो तरकारीमा विषादीको मात्रा उच्च भेटिएको छ ।

धरानको कृषिउपज बजार स्थलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले पछिल्लो ६ महिनामा आएका हरियो तरकारीहरूको जाँच गर्दा ६ प्रकारका हरियो तरकारी खान अयोग्य भेटिएको जनाएको हो । कृषिउपज बजार स्थलमा आइतबार प्रयोगशालाको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा दिएको तथ्याङ्कअनुसार विभिन्न ६ प्रकारका हरियो तरकारी खान नमिल्ने गरी विषादी भेटिएको छ ।

त्यस्तै पाँच प्रकारका हरियो तरकारी क्वारेन्टाइन गरेर पुनः विषादी जाँच गर्नुपर्ने देखिएको छ । एकाइका अनुसार ३५ प्रतिशतभन्दा कम भेटिएमा मात्रै खानयोग्य मानिन्छ । तर, विषादीको अवशेष जाँच गर्दा ३५ देखि ४५ प्रतिशतसम्म पाँच प्रकारका हरियो तरकारीमा विषादीको अवशेष भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ धरानका प्राविधिक रूपेश रिजालले बताए । ‘६ प्रकारको तरकारीमा चाहिँ ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष फेला परेको थियो’ उनले भने, ‘त्यस्ता तरकारी सिधै डिस्पोज गरिएको छ ।’

उनका अनुसार प्रारम्भिक चरणमा बन्दाकोपी, फूलकोपी, बोडी, मूलालगायतमा विषादीको अवशेष ४५ प्रतिशतभन्दा माथि देखिएको थियो । ‘यो नमुना सङ्कलनको चरणमा देखापरेका थिए’ उनले भने, ‘अहिले निकै सुधार हुँदै गएको छ ।’ धरानको कृषिउपज बजार स्थलमा आउने तरकारी चाहिँ अहिले ‘परीक्षणको चरण’ मा रहेको छ । ‘परीक्षणको चरणमा केही देखिन सक्छन्, तर निरन्तरता भयो भने चाहिँ समस्या हुन्छ’–उनले भने ।

आर्थिक वर्ष २०८१/०८२ को साउनयता हालसम्म धरानमा सातसय ४३ वटा नमुना सङ्कलन गरी परीक्षण गरिसकेको अवस्था छ । त्यसमध्ये खान अयोग्य ६ प्रकारका तरकारीहरू भेटिएका छन् भने क्वारेन्टाइनमा राखेर पुनः जाँच गर्नुपर्ने पाँच प्रकारका तरकारी भेटिएका छन् । कृषिउपज बजार स्थलमा हिउँदको बेला तराई क्षेत्र र भारततिरबाट सब्जी आउने गरेको छ भने बर्खायामका बेलामा पहाडी क्षेत्रबाट हरियो तरकारी आउने गरेको कृषिउपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।

उनले भने, ‘तराई र पहाडबाट ५०–५० प्रतिशत जति हरियो तरकारी कृषिबजार आइपुग्छ । बन्दाकोपी चाहिँ पहाडी क्षेत्रबाटै आउने गरेको छ ।’ केही दिनअघि मात्रै काठमाडौँको कालीमाटीमा हरियो सागमा विषादीको मात्रा उच्च भेटिएको थियो । ४५ प्रतिशतभन्दा बढी भेटिएमा डिस्पोज गर्नुपर्ने जनाइएको छ ।

नेपालभरि अहिले १२ स्थानमा निरन्तररूपमा विषादी अवशेष हेर्ने गरिन्छ । त्यसमध्ये धरान नयाँ हो । ‘४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष भेटिएमा डिस्पोज गर्ने गरिन्छ’–प्राविधिक रिजालले भने । केही समयअघि काठमाडौँमा बोडीमा विषादी भेटिएपछि व्यापारीहरूले डिस्पोज नगर्दा विवाद उत्पन्न भएको थियो । नेपालमा तरकारीमा सरदर विषादीको खपतको अवस्था १.६०४६९३ प्रतिहेक्टर रहेको कृषि विभागले जनाएको छ ।