धरान । सुनसरीको धरान उपमहानगरपालिका–२० सानोखैरेका अदुवा किसान पदमबहादुर राई ‘अदुवामा गानो कुहिने रोग’ बाट पीडित छन् र अदुवा खेतीबाट क्रमशः निराश हुँदै छन् । बर्सेनि २०–२२ मनसम्म अदुवा फलाउने पदमको बारीमा केही वर्षबाट ७–८ मनमा झरेको छ ।

‘खै केले हो, गानो कुहिने रोगले हैरान छौँ’–उनी भन्छन् । उनी मात्रै हैन, गाउँका ५०–६० घर नै अदुवामा देखिएको रोगबाट पीडित छन् । गानो कुहिने रोग आउन थालेपछि अहिले त्यहाँका किसानको साझा धारणा बनेको छ–जलवायु परिवर्तनको असर । पदमले मुख खोले, ‘जलवायु परिवर्तनको असर देखिएको होला । केही वर्षअगिसम्म यस्तो समस्या हाम्रोतिर फिटिक्कै थिएन । अहिले त गानो कुहिएर हैरान भएका छौँ ।’ तर त्यहाँका किसानले अहिलेसम्म माटो जँचाएका छैनन्, कृषिविज्ञ तथा प्राविधिकलाई देखाएका छैनन् । के भएर समस्या भएको हो भन्नेसम्म जानकारी लिएका छैनन् । तर समयको परिवर्तन अर्थात् जलवायु परिवर्तनले नै यसो भएको दाबी गर्न छाड्दैनन् ।

पदम मात्रै हैन, अर्का किसान क्षितिज राईले पनि त्यही प्रकृतिको आशय व्यक्त गरे । उनले भने, ‘तापक्रमले हो कि जस्तो लाग्छ । चिसो चिसो ठाउँमा सप्रिन्छ । गर्मी ठाउँमा छिटै नष्ट हुन्छ ।’ उनी दुई–तीन वर्षअगिसम्म पाँच बिघामा अदुवा खेती गर्थे । ‘यो पटक त जिरोमै झरिएको छ । बेलैमा कुहिने समस्या देखियो । बच्चामै कुहिन थालेपछि बच्चामै बेचियो’ उनले फोनसम्पर्कमा ब्लाष्टकर्मीलाई भने । पाँच बिघामा लगाएको अदुवा खेतीबाट उनी वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी गर्थे । त्यही आम्दानीले जीविका चल्थ्यो । तर अहिलेको साल सबैभन्दा बिग्रिएको उनको अनुभव छ । ‘झण्डै दुई बिघामा लगाको थिएँ’ उनले भने, ‘जिरोमै आइयो ।’

अदुवामा गानो कुहिने रोग नयाँ नभएको कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी विकास अधिकृत प्रवीणलाल श्रेष्ठ बताउँछन् । ‘यो नयाँ समस्या होइन, यो पुरानै समस्या हो । यो ढुसीजन्य रोग हो’ उनले फोनसम्पर्कमा भने, ‘यो पिथियम र फ्युयारिजियम ढुसीका कारणले हुन्छ । यसले बोट पहेँलो बनाउने, बोटको फेद कुहिने, गानो कुहिने र सुक्ने समस्या हुन्छ ।’ उनी भने अदुवाको गानो कुहिने, बोट सुक्ने समस्या जलवायु परिवर्तनको असर हो भनी शतप्रतिशत मान्न तयार छैनन् । उनी भन्छन्, ‘ओभरअल क्लाइमेट चेन्जले सबै क्षेत्रमा असर गरेको छ । त्यसमध्ये कृषिमा नगर्ने भन्ने होइन । यसमा पनि भएकै छ ।’

विष्णुपादुकाको सानोखैरे, ठूलोखैरेलगायत धेरै स्थानमा अदुवाको व्यावसायिक खेती गरिन्छ । तर किसानहरूले बोट कुहिने, गानो कुहिने, सुक्नेलगायतको समस्या देखिए पनि कृषिविज्ञहरूलाई देखाएका छैनन् । अर्का अदुवा किसान भविन राई भन्छन्, ‘हामीले प्राविधिकलाई नै चाहिँ बोलाएर देखाएका छैनौँ । तर हरेक वर्ष अदुवामा समस्या आउँदै छ । २–४ वर्षअगिभन्दा अहिले त्यो बढेको छ ।’ भविन राईको पनि आर्थिक स्रोत नै अदुवा हो । चार–पाँच कठ्ठामा अदुवा खेती गर्ने गरेका छन् । एक मन माउ रोपेमा एक मन बराबर झण्डै ८–९ मनसम्म फल्ने उनको भनाइ छ । ‘रोप्दा राम्रै हुन्छ, पछि आफै सुक्न थाल्ने कुहिन थाल्ने समस्या देखिन्छ’ उनी भन्छन्, ‘भदौरे कडा घामले गर्दा यो पटक कुहियो । पहिला पनि हल्का हुन्थ्यो । तर यति सारो समस्या देखिएको थिएन ।’

कृषिविज्ञ श्रेष्ठका अनुसार अदुवा खेती गर्दा माटो र बिउ सबैभन्दा महŒवपूर्ण हुन्छ । ‘नियमित एउटै खेतमा कुनै पनि खेती गर्नु राम्रो होइन । अदुवाको हकमा पनि त्यो लागू हुन्छ’ उनी भन्छन्, ‘माटो र बिउमार्फत् सर्ने रोग हो यो । त्यसकारण सङ्क्रमित जग्गामा खेती ग¥यो भने फेरि देखिन्छ ।’ उनी स्वस्थ बिउ र स्वस्थ माटोमा खेती गर्न किसानलाई सल्लाह दिन्छन् । उनका अनुसार १५–२० वर्षअगि नै यो समस्या सल्यानमा देखिएको थियो । किसानले राम्रो गुणस्तरको बिउ र पानी नजम्ने, चक्रीय प्रणाली अपनाई खेती गर्ने हो भने यो समस्या नदेखिने उनको भनाइ छ ।

तर, किसानहरू भने बर्सेनि उत्पादन घट्दै गएका कारण चिन्तित बनिरहेका छन् । ‘खै हेरौँ’ भन्दै उनीहरू अनुमानमा खेती गरिरहेका छन् । जसले गर्दा उनीहरूको परिश्रम मात्रै गइरहेको छैन, त्योसँगै आर्थिक रूपमा पनि घाटामा गइरहेका छन् । रैथाने बालीको रूपमा रहेको अदुवालाई प्रवर्धन गर्न स्थानीय सरकार लागेको देखिँदैन ।