पदाधिकारीबीच कुरा नमिली तामझामसाथका साथ सम्पन्न गर्न लागिएको कार्यक्रम स्थगित हुन्छ र उद्घाटनको रिबन काट्न आउन लागेका स्वास्थ्यमन्त्रीलाई नआउनू भनिन्छ भने त्यस्तो कहाँ भएको भनेर कसैले कसैलाई सोधेमा पाइने उत्तर हो ‘नेपाल’ मा । अनि नेपालमा कुन ठाउ“ भनेर सोधेमा थाहा हुन्छ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान । यस्ता घटनाले अवाक् भइसकेका नेपालका जनताले अब अचम्म मान्न पनि छाडेका छन् । राजनीतिक नियुक्ति हुन सरकारलाई दाम चढाउन प्रतिस्पर्धा गर्ने यहाँका भिसी, रजिष्ट्रारमा स्वभाविक हिसाबले चढाएको दामको उच्चन्तीसहित असुलउपर हुने गरी काम गर्ने पक्ष र बीपीलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन खोज्ने दुईपक्षबीचको स्वार्थको टकराव त हुने नै भयो ।

अनि अङ्कोलोजी भवनको उद्घाटन रोकिनु प्राविधिक कारणले हो भन्छन् बीपी प्रतिष्ठानका प्रशासकहरु । प्रतिष्ठानका सबैकुरा बाहिर ल्याउने होइन भन्ने रजिष्ट्रारका लागि सबै कुराहरु (अनियमिततासमेत) गुपचुप राखिदिनु पर्ने ? बाहिर आउ“दा त्यहा“को प्रशासनमाथि के पहाड खस्थ्यो त आर्थिक स्वार्थ नभए ? जबकि प्रतिष्ठान स्रोतले नै भनेको फार्मेसी सञ्चालनको विषयमा प्रमुख प्रशासकहरुबाटै एकलौटी निर्णय गरिन्छ भने त्यहा“ दालमा कालो छ भन्ने हुनु स्वभाविक हो । शिलालेखमा समेत उद्घाटनकर्ताको नाम उल्लेख गरेर कार्यक्रममा हुने खर्च पनि भइसकेको अवस्थामा उद्घाटन कार्यक्रम रोकिनुको मुख्य जिम्मेवार भिसी र रजिष्ट्रार नै हुन् ।

जहाँ आर्थिक गतिविधि बढी हुन्छ, त्यहाँ अनियमितता हुने चान्स बढी हुने हुन्छ । बीपीमा आर्थिक गतिविधि बढी हुनेमध्येको एक फार्मेसी पनि भएकोले अब यसलाई पारदर्शी बनाऊ“, स्वार्थ प्रेरित एकलौटी निर्णय नगर भनेर बच्चालाई कखरा सिकाएजस्तै सिकाउनु पर्ने अवस्था देखिनु राम्रो होइन । नियुक्त भएर आइसकेपछि मैले बीपी प्रतिष्ठानका लागि के योगदान दिनसकें, बीपीले धरानको हकमा के योगदान दिनसक्यो भनेर सोच्ने गरेको देखिँदैन । धरानकै स्थानीय व्यक्तित्व डा. गोपाल श्रेष्ठका पालामा भएजस्तो बीपी प्रतिष्ठान अहिले छैन । डाक्टर सुन्दरमणि दीक्षित, डा. शेखर कोइरालाजस्ता हस्तीहरुको पालामा बीपी प्रतिष्ठान कहिले गन्हाएन । अहिले त दुर्गन्ध पनि विविध थरिका छन् । चौध–चौध करोड बुझाएर भिसी हुने प्रचलनको सुरूवात भएयता फोहोरको दुर्गन्ध मात्रै हैन, आर्थिक दुर्गन्धले गाँज्न थालेको धरानको एक मात्र गौरव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जोगाउन धरानेहरु जाग्न आवश्यक छ । पूर्वाञ्चलभरिका निजी अस्पतालका खेताला, गोठालाहरु प्नि तिनै हुन्, जसले प्रतिष्ठानलाई धरासायी बनाउन भूमिका खेलेका छन् । धराने जनता सचेत हुनेबेला आइसकेको छ । त्यहाँ उपचार गर्न आउने बिरामीहरुको स्वास्थ्यभन्दा पहिला बीपी प्रतिष्ठानको स्वास्थ्य बनाउनतिर लागौं अनि मात्र धराने जनताको मात्र हैन, टाढाटाढाबाट आउने बिरामीहरुले समेत राहत पाउन सक्दछन् ।