युमा अध्यात्मिक दर्शनका अनुयायीहरूको ‘खी’ अर्थात् ‘धागोको डोरा’ र ‘थाक्’ अर्थात् ‘तान’ सँग गहिरो नाता छ । मुन्धुममा तागेरा निङ्वा फुमा युमा माङ(परमात्मा) ले जहाँतहीँ खी (धागोको डोरा) टाँगेको र थाक् (तान) सँगै दर्शन दिएको र पटक–पटक लुगा बुनेर लाउन सिकाएको चर्चा छ । मुन्धुममा विभिन्न आत्मा पात्र र ठाउँहरूको चर्चा छ । यस्ता ठाउँहरूमा अझै पनि विभिन्न ऐतिहासिक कुराहरू पाइन्छन् ।
ती सबै अवशेषहरूमा सबैभन्दा स्थायी रूपमा अझ ‘ढुङ्गाको आसन’ अर्थात् ‘थाक् केलुङ र खिबेलुङ’ विभिन्न ठाउँमा अस्तित्वमा रहेका छन् । सुन र चाँदी विशाल विशाल थाक् (तान) सहित दर्शन दिएको मुन्धुम पाइन्छ । प्रकृतिमा पनि अनगिन्ती यस्ता छापहरू भेटिन्छन् । यसैले तान र डोरालाई युमाको प्रतिकको रूपमा पनि मानिन्छ । सामान्य अर्थमा खी (धागो) र खीबे (डोरा) भन्नाले सानो खी (धागो) आकारलाई ठूलो खी (डोरा) आकारलाई भनिन्छ । तर, यसलाई एकै अर्थमा युमा अध्यात्मिक दर्शन अनुयायीको बुझाइमा अर्थ एउटै हुन्छ ।
खी (धागोको डोरा) युमा अध्यात्मिक दर्शन अनुयायीले एक आभारको रूपमा लिएका छन् । सृष्टि हुँदा खिजोरा माङ मेन्जोरो माङ (धागो र जालको माङ(देउता) ले सम्पूर्ण पिण्ड सृष्टिको आधारस्तम्भ तयार गरेको चर्चा छ । यो आधार विना केही पनि अडिएन भन्ने बुझाइ छ । यसले माकुरा जस्तै जालो बनाएको ‘नावा चइत्’ मुन्धुममा मुन्धुमी चर्चा छ । यसले विभिन्न मानव समुदायहरू एक–अर्कामा अन्तर सम्बन्धमा बाँधिएका छौँ भन्ने स्पष्ट पारेको छ । यसले नै बाँकी सृष्टिको काम अगाडि बढेको मुन्धुमी चर्चा छ । मुन्धुममा आदि मानव मुजिक्ना खेयङ््ना आफ्नो गर्भबारे साधनी गर्न तागेरा निङ्वा फुमा युमा माङ कहाँ जाँदा थाक् (तान) चलाई लुगा बनाई लाउन ज्ञान दिएको कुरा छ ।
खी (धागोको डोरा) आफैमा रेशमबाट बनेको हुन्छ । हुन त आजभोलि अल्लो र अन्य विभिन्न वस्तुहरूको पनि धागो बनाइन्छ । सनपाट, नरिवल आदिको खी (डोरा) पनि बनाइन्छ । यो आफैमा सृर्जनशील तथा मिहिनेत र परिश्रमको काम हो । एउटा किराको ¥याल र वनस्पतिको फूलबाट धागो बनाउने कुरा एकदमै मिहिनेत परिश्रम र सृजनशीलताको काम हो । यसले मानिसलाई मिहिनेती, परिश्रमी र सृर्जनशील बनाइरहेको हुन्छ । थाक् (तान) आफैमा धागोबाट बनेको हुन्छ । यसले समय–समयमा दिने आवाजले मानिसलाई सचेत तुल्याइरहेको हुन्छ । यसले शरीरका सम्पूर्ण अङ्गहरू हात, खुट्टा, आँखा आदि चलायमान बनाएको हुन्छ । खी (धागोको डोरा) हरू बुनेर कपडा बनाएर लाइन्छ ।
यसले शरीरलाई छोपिन्छ र जीवनलाई सजाइन्छ । यसले नै जीवनलाई सुन्दर तुल्याएको हुन्छ । थाक् (तान) चलाई धागो कपडा बुनेर थरी थरीको रङ र आकारमा कपडा निकालिन्छ । जीवनलाई पनि यसरी फरक–फरक रूप दिइन्छ । जीवनलाई सिँगारिन्छ । यसले हेर्दा खी (धागोको डोरा) युमा अध्यात्मिक दर्शन अनुयायीले जीवनसँग तुलना गरेको देखिन्छ । त्यसैले जीवनको खी (धागोको डोरा) चुँडिन दिनहुन्न भन्ने विश्वास छ ।
यसलाई जति तन्काउन सक्यो, त्यति जीवन तन्कन सक्ने विश्वास गरिएको छ । थाक् (तान) बुन्दा जसरी खी (धागोको डोरा) सावधानीपूर्वक खेलार्र्र्ईन्छ, त्यसरी नै जीवनलाई सन्तुलित ढङ्गले अगाडि बढाउनु पर्दछ । जीवनमाथि कसैले पनि खेलवाड गर्नहुन्न । खी (धागोको डोरा) तागेरा निङ्वा फुमा युमा माङले देखाएको जीवनको बाटो मानिएकोले नै सधैँ खी (धागोको डोरा) उनलाई अर्पण गरिन्छ । यसको अर्को अर्थ जीवनलाई सधैँ तागेरा निङ्वा फुमा युमा माङलाई अर्पण गरिन्छ ।
युमा देखिएको वा रहेको विश्वास गरिएको ख्याति प्राप्त तीर्थस्थल सेमुक्तु मुक्तिगोक (पाथीभरा) मा खी (धागोको डोरा) प्रयोग गरिन्छ । यहाँ फेदी कान्छीथानदेखि सेतो साधा खी (धागोको डोरा) अनवरत टाँग्दै सेमुक्तु मुक्त्तिगोकको शिरमा पुगिन्छ । यसले जस्तोसुकै परिस्थितिमा पनि निरन्तर शिखरमा पुग्न अभिपे्ररित गरिरहेको हुन्छ । शिखर पुग्न हुने थकानहरूमा पनि साहस दिइरहेको हुन्छ ।
यसले जीवनमा आइपर्ने विभिन्न कठिनाइहरूमा पनि सावधानी र धैर्यपूर्वक निरन्तर उकालो चढ्नु पर्छ भन्ने कुरा सिकाइरहेको हुन्छ । यसले खी (धागोको डोरा) लाई सावधानीपूर्वक सम्हाल्न अभिपे्ररित गरिहेको हुन्छ । हुन त धागो आफैमा आशा, भरोसा, निरन्तरता, भविष्य, सुनिश्चितता र विश्वासको प्रतीक हो । यसैमा मानिसको जीवन चलिरहेको हुन्छ ।
थाक्
(तान) बुन्दा जति कपडा बन्दै जान्छ, उति धागोको मुठ्ठालाई तान्नु पर्दछ ।
यसले एउटा एक तरङ्ग निर्माण गरिरहेको हुन्छ । कपडालाई जीवनसँग तुलना गर्दा
कपडा तान्ने डोरी मृत्युसँग तुलना गर्न सकिन्छ । जन्मपछि मृत्यु अनिवार्य
हुन्छ । जीवनमा मृत्युसँग डराएर बस्नु हुँदैन । यो चाहेर वा नचाहेर फरक
पर्दैन । मात्र जीवनलाई गोड्न स्याहार्न सकिन्छ । त्यसैले पनि आत्मा स्थायी
हो भने जीवन अस्थायी हो । जीवनपछि मृत्यु अकाट्य हुन्छ । जीवन र मृत्यु एक
तरङ्गका नभेटिने दुई पाटा हुन् ।
(लेखक युमा साम्यो महासभा नेपाल अनुसन्धान तथा लेखन विभाग प्रमुख हुनुहुन्छ ।)