वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले जारी गरेको नगरको गरिब घरपरिवारको तथ्याङ्कमा ‘धनीमानी’ मात्रै परेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नगर कमिटीले जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वराहक्षेत्रमा गरेको तथ्याङ्क सङ्कलनमा हुनेखानेहरूको नाम मात्रै समावेश भएको भन्दै तथ्याङ्क सच्याउन माग गरेको छ । तात्कालीन समयमा नेकपा (एमाले)बाट निर्वाचित स्वर्गीय निलम खनाल नगर प्रमुख रहेका थिए ।
एमालेकै पालामा गरिएको तथ्याङ्क सङ्कलनलाई अहिले सोही पार्टी र माओवादी केन्द्रले बखेडा झिकेको नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताले आपत्ति जनाएको छ । वर्तमान नगर प्रमुख रमेश कार्कीले पूर्व नगर प्रमुखको कार्यकालमा गरिएको तथ्याङ्क सङ्कलनलाई अहिले सार्वजनिक मात्रै गरिएको बताए । २०७९ साल जेठ ८ गते तथ्याङ्क सङ्कलन सकिएको विषयलाई हाल आई अतिरञ्जित बनाउन खोजिएको आरोप लगाए ।
नेकपा एमाले नगर अध्यक्ष सीता भण्डारी र सचिव देवेन्द्र विष्टले विज्ञप्ति जारी गर्दै सूचीमा वास्तविक गरिबहरू नभएर आर्थिक, सामाजिक तथा राजनीतिक रूपले सबल र सक्षम व्यक्तिहरूको नाम समावेश भएको बताए । वास्तविक गरिबहरू छुटेकाले तथ्याङ्क तत्काल सच्याउन विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ ।
यस्तै माओवादी केन्द्रका नगर अध्यक्ष कमल कटुवाल र सचिव रामप्रकाश कोइरालाले पनि विज्ञप्ति जारी गर्दै प्रकाशित तथ्याङ्कले सामाजिक सद्भाव खल्बलाउने बताए । गरिबको परिचय–पत्र पाउने नामावलीमा गरिबको नभएर धनीमानी र सरकारी जागिरे साथै जनप्रतिनिधिसमेत रहेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले तत्काल छानबिन समिति बनाएर वास्तविक गरिबलाई परिचय–पत्र बाड्न माग गरेको छ ।
यता नगरपालिकाको वडा १ र २ का अध्यक्षद्वय किसन थापा र होमप्रसाद गौतमले पूर्व वडाध्यक्ष सुरेश श्रेष्ठ र हरिकृष्ण भट्टराईले लगत सङ्कलन कसरी गरे भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए । नेपाली काङ्गे्रस पार्टीबाट जितेका वडा नम्बर ५ र १० का वडाध्यक्षहरू रोहित काफ्ले र तेजबहादुर गुरुङले आफूहरूभन्दा पूर्व अध्यक्ष बनेका एमालेका राजु अधिकारी र महेन्द्रबहादुर खत्रीको कार्यकालमा गरिएको लगत सङ्कलनमा आएको गुनासोलाई आफूहरूले सम्बोधन गरेको बताए ।
तथ्याङ्क सङ्कलन गर्दाताकाका सुपरिवेक्षक विक्रम कर्णले मन्त्रालयको गरिब घरपरिवार पहिचान–पत्र कार्यविधिमा तोकिएको अनुसार आँकडा सङ्कलन गरिएको बताए । तत्कालीन समयका गणक अनिल प्रधानले नगरको २० हजार पाँच सय जना गरिबहरूको पहिचान गरेकोमध्ये दुई हजार सात सय ९१ जना अति गरिबको सूची प्रकाशित गरिएको उनले जानकारी दिए ।
हालसम्म तीन सय ५० जनाले गरिब सूचीमा आफ्नो नाम नआएको, सयजनाले विरोध दाबी गरेको, ४० जना अति गरिबमा बस्न नचाहेको, २५ जनाले गरिबको सूचीबाट नाम कटाउन चाहेको र नाम, नागरिकता र बुबाको नाम नमिलेकोले विवरण सच्याउन गुनासो दर्ता गरिएको प्रधानले बताए ।
नगरले तथ्याङ्क सार्वजनिक गरेसँगै दाबी विरोध भए गुनासो दर्ताका लागि १५ दिने सूचनासमेत जारी गरेको भए पनि उक्त मिति सकिएको छ । यता गुनासोका लागि सङ्घीय मन्त्रालयले फेरि एक हप्ताको म्याद थपेको जनाएको छ । जसको अन्तिम नामावली फागुन÷चैत महिना आउने गुनासो अधिकारीको रूपमा रहेका प्रधानले जानकारी दिए ।