विराटनगर । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा (एमाले) का सांसद् ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले ठगी मुद्दामा जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) द्वारा निषेधित ऐनको उपदफा (२) बमोजिमको कसूर अपराध गरेकाले निज प्रतिवादीलाई सोही ऐनको दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबानाको माग दाबी लिएर अभियोग दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । सरकारी वकिलको कार्यालयले क्षतिपूर्ति पनि दिलाइदिन माग गरेको छ । ‘प्रतिवादीबाट ठगी भएको पुष्टि भएको रकम ३८ लाख ८० हजार निज प्रतिवादीबाट जाहेरवालालाई मुलुकी अपराध संहिता २०७४ को दफा २५४ बमोजिम दिलाई भराई पाऊँ’ अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ ।

अभियोग दर्ता भएपछि आज (बिहीबार) प्रतिवादी पोखरेलको बयान हुने र सकिएपछि थुनछेक बहस सुरु हुने उनले बताए । थुनछेक बहसपछि अदालतले पुर्पक्षको लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश आउनेछ । ठगी आरोपमा पोखरेललाई प्रहरीले २५ पुसमा पक्राउ गरेको थियो । पक्राउ परेको १२ दिनमै अनुसन्धान टुङ्ग्याएर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा मङ्गलबार बुझाएको थियो ।

पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । मोरङको रङ्गेली नगरपालिका–२ घर भई काठमाडौंमा बस्दै आएका ४३ वर्षीय अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन् । पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै बौआलालसँग २०७१ देखि २०७३ सालसम्म विभिन्न मितिमा ३८ लाख ८० रुपैयाँ चौधरीले पोखरेललाई दिएको बौआलालले बताएका छन् ।

एमबीबीएसमा छोरीको नाम निकालिदिने आश्वासन दिएपछि पैसा बुझाएको बौआलालको भनाइ छ । तर, छोरीको नाम ननिस्किएपछि पैसा फिर्ता माग्दै अनिलकहाँ पुग्दा उल्टै आफूसँग जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालले दिएको बयानमा उल्लेख छ ।

बौआलालले पहिलो किस्ताबापत २०७१ फागुन १३ मा साथी केदारप्रसाद घिमिरेमार्फत् अनिललाई ५० हजार रुपैयाँ दिएका थिए भने पछि रामदेव सिंहमार्फत् १ लाख रुपैयाँ नबिल बैङ्कमा रहेको अनिलको खाता नं. ३५१००१७५०३९८१ मा जम्मा गरेको बैङ्क भौचरमा उल्लेख छ । २०७३ जेठ १३ मा नबिल बैङ्कको सोही खातामा १ लाख ३० हजार जम्मा गरिएको थियो । २०७३ मङ्सिर २२ मा बौआलालले विराटनगरको १ कठ्ठा जग्गा बिक्री गरेर एकमुष्ठ १८ लाख रुपैयाँ जम्मा गरिदिए ।

बौआलाल ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानूनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रङ्गेली पुगे । प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार ग¥यो । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे, त्यहाँ पनि जाहेरी दर्ता भएन ।

बौआलाल जिल्ला सरकारी वकिलको कार्यालय पुग्दा पनि जाहेरी दर्ताका लागि प्रहरीलाई आदेश दिइएन । बौआलालले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझे पनि ठगीमा अनुसन्धान अगाडि बढाइएन । त्यसपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका हुन् । उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले भदौ ३१ गते अनिलविरुद्ध जाहेरी दर्ता गरी कानूनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको थियो । त्यसपछि प्रहरीले जाहेरी दर्ता गरेर पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी ग¥यो । पक्राउ पुर्जी जारी भएको चार दिनपछि गत पुस २५ गते पोखरेल आफै मोरङ प्रहरीमा उपस्थित भएका थिए ।