भद्रपुर । चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा झापामा मोटरसाइकल (दुई पाङ्ग्रे) सवारी साधनबाट ३७ जना मानिसको ज्यान गएको छ ।

सडक दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल (दुई पाङ्ग्रे) सवारी साधनका चालक त्यसमा सवार यात्रुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मोटरसाइकल र स्कुटर जस्ता साधन ठूला गाडीको कारणले मात्र होइन, आफ्नै कारणले पनि असुरक्षित बनिरहेका कतिपय घटनाले पुष्टि गरिसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँमा चार सय ४५ वटा मोटरसाइकल (दुई पाङ्ग्रे) सवारी साधन दुर्घटना हुँदा तीन बालक, सात महिला र २७ पुरुष गरी ३७ जनाको मृत्यु भएको छ । सोही अवधिको दुर्घटनामा परेर छ सय ८३ जना मानिस घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले जानकारी दिए ।

घाइते हुनेमा सबैभन्दा बढी चार सय ८२ जना पुरुष छन् । यसैगरी, १ सय ३५ महिला तथा ३३ बालक र ३३ बालिकासमेत घाइते भएका छन् । सबैभन्दा बढी असोज महिनामा ९० वटा मोटरसाइकल (दुई पाङ्ग्रे) सवारी साधन दुर्घटनामा ८ पुरुष र २ महिलासहित १० जनाको ज्यान गएको पौडेलको भनाइ छ । ८६ पुरुष ३० महिला तथा बाल÷बालिका दश–दश गरी एक सय ३६ जना सोही महिनामा घाइते भएका थिए । अन्य महिनाको तुलनामा चाडपर्व परेका कारण असोजमा बढी दुर्घटना भएको उनको भनाइ छ ।

पुसमा सबभन्दा कम भएका ६० वटा दुर्घटनामा परेर महिला र पुरुष एक–एकजनाको ज्यान गएको र दुर्घटनामा परी ७३ पुरुष, १० महिला, चार बालक र दुई बालिका घाइते भएको प्रहरीको भनाइ छ । साउनमा ७ पुरुष, एक महिला गरी आठ जनाको ज्यान गएको थियो । ८१ पुरुष, २७ महिला २ बालक र ६ बालिका गरी १ सय १६ जना घाइते भएको प्रहरीको अभिलेखले देखाएको छ । सो महिना जिल्लाका विभिन्न स्थानमा ७२ वटा दुर्घटना भएका थिए । भदौमा ७६ वटा दुर्घटनामा परी २ पुरुष, १ महिला र १ बालक गरी ४ जनाको मृत्यु भएको थियो भने ७१ पुरुष, २८ महिला, ८ बालक र ५ बालिका गरी १ सय १२ जना मानिस घाइते भएका थिए ।

कात्तिकमा भएका ७९ वटा दुर्घटनामा परी जिल्लामा ७ जनाको ज्यान गएको छ । ती दुर्घटनामा परेर ५ पुरुष र २ महिलाको ज्यान गएको हो भने  ८५ पुरुष २५ महिला ४ बालक र ६ बालिका गरी १ सय २० जना मानिस घाइते भएका थिए । त्यसैगरी मङ्सिरमा ६ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । ६८ वटा दुर्घटनामा परी ४ पुरुष र २ महिलाको ज्यान गएको हो । यसैगरी ८६ पुरुष १५ महिला ५ बालक र ४ बालिका गरी १ सय १० जना मानिस घाइते भएका थिए ।

मोटरसाइकल दुर्घटनाका कारण तीव्र गति, ट्राफिक नियम उल्लङ्घन, जथाभावी ओभरटेकलगायत ट्राफिक नियम पालना नगर्दा हुने गरेको प्रहरीको भनाइ छ । चारपाङ्गे्रको तुलनामा दुईपाङ्गे्र सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको बुझाइ छ । ट्राफिक नियमपालना नहुनु, थोत्रा सवारीसाधन गुडाउन अनुमति दिनु, नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही नहुनु, पैदल यात्रुले पनि नियम उल्लङ्घन गर्नु, सडक पूर्वाधार सुरक्षित नहुनुजस्ता कारणले दुर्घटना बढ्दै गएको जानकार बताउँछन् ।