धरान । ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको दोहन हुन लागेको विरोधको क्रममा अवरोध गर्ने पक्ष र प्रहरीहरू घाइते भएपछि ‘नयाँ बहस’ सिर्जना गरेको छ ।

शनिबार साँझतिर अवरोध पक्षका तीनजना गम्भीर घाइते बन्न पुगेका छन् भने झण्डै दुई दर्जन प्रहरी पनि घाइते बनेको सरकारी पक्षले जनाएको छ । यो विषयले कोशी प्रदेशको संसद् भवनभित्र पनि बहस भएको छ । प्रतिपक्षी सांसद्हरूले ‘केबलकार निर्माण बन्द गरी वार्ताको वातावरण तयार गर्नुपर्ने’ भनी माग राखेका छन् । पाथीभरा मन्दिर क्षेत्रमा पुग्ने आन्तरिक तथा वाह्य पर्यटकका लागि आवतजावत सहज बनाउन केबलकार निर्माण थालिएको थियो । शनिबार त्यही विषयमा अवरोध गर्ने पक्ष र प्रहरीबीचमा झडपको स्थिति सिर्जना भएको थियो । प्रहरीले अश्रुग्यास र केही सेल हवाई फायर खोलेको थियो ।

तर अवरोधक पक्षले ढुङ्गामुढा गरेपछि प्रतिरक्षाका लागि फायर खोलेको जनाएको छ । जसमा तीनजना गम्भीर घाइते बनेका छन् । घाइते हुनेमा तेह्रथुम म्याङ्लुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का सगुन लावती र ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ का धर्म पालुङ्वा छन् । उनीहरूलाई मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौँ पठाइएको छ ।

झडपमा २१ सुरक्षाकर्मी र पाँच अवरोधक पक्ष गरी कुल २६ जना घाइते भएको प्रशासनले जनाएको छ । घाइतेमध्ये सगुनको छाती र यामबहादुरको तिघ्रामा गोली लागेको छ । यस्तै धर्मको कुमको हड्डी भाँचिएको छ । अहिले केबलकार निर्माणको जिम्मा पाएको हिमालयन कन्स्ट्रक्सनले काम गरिरहेको छ । १५ महिनाभित्र काम सम्पन्न गर्ने गरी जिम्मेवारी पाएको हिमालयनले गत मङ्गलबारबाट काम सुरु गरेको थियो । यसअघि निर्माणका लागि शिलान्यास गरिएको थियो । तर मुक्कुमलुङ सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समितिलगायत सङ्घ–संस्थाहरूले मुक्कुमलुङ ‘धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा’ रहेको क्षेत्र भएकाले केबलकार निर्माण गर्न नहुने अडान लिँदै आएको थियो । निर्माण गरे त्यसविरुद्ध प्रतिकार गर्नेसम्मको चेतावनी दिँदै आएको थियो । सोही क्रममा शनिबार निर्माण कम्पनीले जमिन सम्याउने क्रममा विरोधको क्रममा झडपको स्थिति सिर्जना भएको हो ।

हाल केबलकारका लागि फुङ्लिङ नगरपालिका–११ बलुडाँडामा निर्माणको काम थालिएको छ । पाथीभरा माता केबलकार कम्पनीले पाथीभरा क्षेत्रमा केबलकार निर्माण थालेको थियो । त्यसैको विरोधमा पहिचान पक्षधरले मुक्कुमलुङ सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति गठन गरेर आन्दोलित हुँदै आएका थिए । गोली लागी घाइते भएको घटनापश्चात् चौतर्फीरूपमा बहस तथा विरोध सुरु भएको छ । विभिन्न मानवअधिकारवादी सङ्घ–संस्थाका साथै राजनीतिक दलहरूले पनि गोली लागेको विषयलाई गम्भीररूपमा लिएको जनाएको छ ।
राष्ट्रिय मानवअधिकार प्रतिष्ठान काठमाडौँ नेपालका आदिवासीहरूको मानवअधिकारसम्बन्धी वकिलहरूको समूह (लाहुर्निप) काठमाडौँ, राष्ट्रिय

आदिवासी जनजाति महिला सङ्घ, काठमाडौँ, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहलगायतले विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेको छ । साथै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । यस्तै जनता समाजवादी पार्टी, काठमाडौँका प्रवक्ता मनिषकुमार सुमनले विज्ञप्ति जारी गर्दै घटना अन्त्यन्त निन्दनीय रहेको जनाएको छ । यस्तै धरानको भानुचोकमा कोणसभा गर्दै पहिचान पक्षधरहरूले घटनाको भत्र्सना गरेका छन् । कोणसभामा अधिकांश वक्ताहरूले प्रहरीको दमनविरुद्ध खुलेर विरोध गरे । कार्यक्रममा पहिचान पक्षधर युवा नेता जेन्टल लावतीले मुक्कुमलुङमा केबलकार बनाउनु हुँदैन भन्ने जनताको आक्रोसलाई सम्बोधन नगरेको बताए । उनले लाइसेन्स खारेज नगरे आन्दोलनको स्वरूप फरक हुने बताए ।

कोणसभामा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, ताप्लेजुङका सांसद् योगेश भट्टराई र व्यापारी चन्द्र ढकालको तस्बिर जलाएका थिए । आन्दोलनलाई विप्लव नेतृत्वको किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले पनि ऐक्यबद्धता जनाएको छ । संयोजक सुनिता किरातीले कोणसभालाई सम्बोधन गर्दै मुक्कुमलुङको रक्षार्थ गोली थाप्न पनि तयार रहेको बताइन् । उनले नेपालको संविधानको खिल्ली उडाएको पनि बताइन् । उनले भनिन्, ‘नेपालको संविधानको धारा ३२ को उपधारा ३ मा लेखिएका कुराहरू आफैले तोडेका छन् ।’ उनले आतङ्ककारी शैलीमा जनतामाथि बर्बर दमन अस्वीकार्य हुने बताइन् ।

यातायात बन्दको घोषणा
प्रहरीले दमन गरेको भन्दै पहिचान पक्षधरहरूले आइतबार मेची कोरिडोरसमेत अनिश्चितकालीन बन्दको आह्वान गरेको छ । यस्तै १५ गतेबाट मेची, कोशीका केही क्षेत्रमा यातायात बन्दको घोषणा गरेका थिए । पाथीभरामा केबलकार निर्माण सुरु गरेको विरोधमा उत्रिएका अवरोध गर्ने पक्षमाथि ज्यादती गरेको भन्दै यातायात बन्दको घोषणा गरेको हो । मङ्गलबारदेखि मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने सडक नाकाहरूमा यातायात बन्दको घोषणा गरेको हो । मुक्कुमलुङ संरक्षण संयुक्त समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ सङ्घीय समिति, लिम्बू थरगत संस्था सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान सङ्घले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेको हो ।

सरकार निरङ्कुशः लिङ्देन
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले मुक्कुमलुङ क्षेत्रका विषयमा सरकार निरङ्कुश ढङ्गले अगाडि बढेको बताएका छन् । धरानको भानुचोकमा सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष लिङ्देनले राज्यले ताप्लेजुङस्थित मुक्कुमलुङको धार्मिक तथा प्राकृतिक सम्पदामाथि ठाडो प्रहार गरेको बताए । उनले केबलकार बनाउने कार्यको पार्टीले भत्र्सना गरेको बताए । पार्टीका महासचिव तथा सुनसरी जिल्ला इन्चार्ज भूपेन्द्रसुन्दर लावतीले सत्तारुढ दलहरूले पार्टीको सिद्धान्तअनुसार भूमिका निर्वाह नगरेको बताए । यस्तै सङ्घीय लिम्वुवान महिला मञ्चकी जिल्ला अध्यक्ष पवित्रा हुक्पा चोङ्बाङ, सङ्घीय सदस्य बीबी लिङ्देन, नगर अध्यक्ष मोहनप्रसाद तिगेला, उपाध्यक्ष एनके दर्नाललगायतले बोलेका थिए ।