विराटनगर  । मोरङको धनपालथान गाउँपालिका–४ मा  रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

सहकारी ठगी मुद्दाका मुख्य अभियुक्त भनिएका रौनियारलाई मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले आइतबार पुर्पक्षको लागि कारागार चलान गरेको हो ।

अदालतको आदेशपछि रौनियार पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘रौनियारले सबै कारोबार गरेको रकम हिनामिना गरेको भन्ने बेहोरा उल्लेख गरेको समेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट अहिले नै यी प्रतिवादी कसूरदार होइनन् भनी विश्वास गर्ने मनासिब आधार नदेखिएकोले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई यी प्रतिवादी शम्भूप्रसाद रौनियारलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षको  निमित्त थुनामा राख्नू भनी ऐ. संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू’ आदेशमा भनिएको छ ।

सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी प्रहरीमा आएपछि २ असोजमा अध्यक्ष रौनियारविरुद्ध मोरङ अदालतले पक्राउ अनुमति दिएको थियो । पक्राउ अनुमति जारी भएको सूचना चुहिएपछि फरार भएको एक सय दिनपछि उनी सोमबार कानून व्यवसायीलाई साथमा राखेर अदालतमा उपस्थित भएका हुन् । उनले अदालतमा तीन दिन लगाएर बयान दिएपछि थुनछेक बहस भएको थियो । यो मुद्दामा २६ जना प्रतिवादी रहेका छन् । २६ मध्ये पाँचजना अदालतमा उपस्थित भएका छन् । दुई जना पुर्पक्षको लागि थुनमा गएका छन् भने तीनजना धरौटीमा रिहा भएका छन् ।

उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, शिक्षिका अञ्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मङ्सिरमा मुद्दा दायर भएको थियो । मङ्सिर २८ गते जिल्ला अदालत मोरङले थुनछेक बहसपछि सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । गत २४ पुसमा अदालतमा उपस्थित भएकी सहकारीको पूर्वसञ्चालक अञ्जला कोइराला पनि १० लाख धरौटीमा छुटेकी थिइन् ।

यसअघि अदालतले सहकारीका पूर्वसञ्चालक रोशन राजवंशीलाई पुर्पक्षको लागि थुनामा पठाउँदा पूर्वसञ्चालक सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद् ऋषिकेश पोखरेलको पत्नी अञ्जला कोइराला र सन्तलाल खवासलाई धरौटीमा छाडेको हो । सहकारीको अनुसन्धानपछि मुद्दा दायर हुँदा प्रहरी नियन्त्रणमा रहेका राजवंशीलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएकोमा त्यसपछि अदालतमा आफै उपस्थित भएका कोइराला र खवासलाई धरौटीमा छाडेको हो ।

सहकारी ठगीको अनुसन्धान सुरु भएपछि आफू पनि पीडित भएको भन्दै निवेदन लिएर पुगेका राजवंशीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले सहकारी अनुसन्धानको क्रममा अन्य सञ्चालकहरू कसैलाई पनि पक्राउ गर्न चासो दिएन । अन्य २५ जनालाई फरार अभियुक्त करार गर्दै मङ्सिर २७ गते जिल्ला अदालतमा अभियोगपत्र दायर भएकोमा २८ गते न्यायाधीश न्यायाधीश अरुणकुमार झाको इजलासले राजवंशीलाई थुनामा राख्ने आदेश दिएको थियो ।

सहकारीमा ठगी प्रकरण हुनुभन्दा अगाडि सञ्चालाक समितिमा रहेका खवासलाई न्यायाधीश मेघनाथ चापागाईंको इजलासले पुस १८ मा ५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उनी नेकपा (एमाले)बाट निर्वाचित रङ्गेली–२ का वडाध्यक्ष हुन् ।

यस्तै  २६ पुसमा  अदालतमा उपस्थित भएकी सार्वजनिक लेखा समितिका सभापतिकी श्रीमती रहेकी कोइरालालाई न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गरेको छ । पीडितको जाहेरी, प्रहरीको अनुसन्धान प्रतिवेदन र अदालतमा दायर गरेको अभियोगपत्र अनुसार अञ्जला र राजवंशी सञ्चालक भएको समयमा सहकारीमा अनियमितता भएको देखिन्छ ।

अझै २१ जना फरार सूचीमा
सहकारी ठगी मुद्दामा फरार सूचीमा २१ जना रहेका छन् । फरार हुनेमा सहकारी सञ्चालक अञ्जलासहित लक्ष्मण साह रौनियार, आलम अन्सारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जितमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, अञ्जला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहम्मद नजाम उद्दिनलाई प्रतिवादी बनाइएको छ । यसैगरी अदालतमा दायर भएको अभियोग पत्रमा चम्पा गिरी, शम्भुप्रसाद सिंह, सन्तलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्रप्रसाद शिवाकोटी, शरदराज सिंह, मो नसरुद्दिन, मनोजकुमार सोनी र यशोदाकुमारी राजवंशी फरार प्रतिवादीमा रहेको उल्लेख छ ।

दायर भएको अभियोग पत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ । उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर थिए । शेयर बापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ । सहकारीमा ७ सय ७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ ।