२१ औं शताब्दीमा जल्दोबल्दो प्राकृतिक प्रकोपका रुपमा जलवायु परिवर्तनको मुद्दा एउटा ठूलो समस्याको रुपमा देखापरेको छ । विश्वव्यापी तापक्रम वृद्धि, बढ्दो समुद्री सतह र बारम्बार खडेरी सबै जलवायु परिवर्तनका सङ्केत हुन् । विश्वमा बेमौसमी बाढी, आँधीबेहरी, खडेरी, तातो हावाको लहर, आगलागीजस्ता प्रकोप निरन्तर बढ्दै गएका छन् । वायुमण्डलमा हरितगृह ग्यासको बढ्दो घनत्वसँगै तापक्रम औसतमा बढ्दै जाँदा परिस्थिति झन् विकराल हुँदै गइरहेको अवस्थामा जलवायु परिवर्तनप्रति विश्व समुदाय संवेदनशील हुनु पर्ने अवस्था टड्कारो रुपमा आएको छ ।

एउटा अध्ययनले भन्छ–सन् २०५० सम्ममा बाढीपहिरोबाट विनाशको लागत करिब ११ अर्ब डलरले बढ्नेछ । विश्वमा करिब तीन अर्ब ६० करोड मानिस जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेका छन् । गरिब देशका मानिस र धनी देशका गरिब मानिस यसको चपेटामा पर्नेछन् । विश्वको जनसङ्ख्या घट्दै जानेछ । जलवायु सङ्कट तीव्र हुँदै जाँदा प्रकोप, महामारी निम्त्याउने विकराल मौसमको आवृत्ति बढ्दै जानेमा कुनै शङ्का भएन । संयुक्त राष्ट्र सङ्घले जलवायु परिवर्तन पछिल्लो समयको परिभाषित मुद्दाका रुपमा ग्रहण गर्दै आएको छ । जलवायु सङ्कट पृथ्वी र मानवले सामना गरिरहेको सबैभन्दा ठूलो आर्थिक, सामाजिक र वातावरणीय समस्याको रुपमा सङ्घले ग्रहण पनि गरेको छ । तर ग्रहण गरेर मात्र हुँदैन । त्यस्ता सङ्कटको दिगो व्यवस्थापनको उचित रोडम्याप ल्याउनु अपरिहार्य छ । विभिन्न निकायका अध्ययनले उल्लेख गरेअनुसार जलवायुसम्बन्धी प्रकोपहरू विगत बीस वर्षको तुलनामा लगभग दोब्बर भएका छन् । दिगो विकासका लागि दिगो विकास लक्ष्य, सन् २०१६–२०३० प्राप्त गर्ने क्षमतालाई कमजोर बनाइरहेको अवस्था छ । हरेक योजनाहरुलाई प्रभाव पार्दै आउनु विश्वको लागि गम्भीर विषय हो ।

जलवायु अनुकूलनका लागि विपत जोखिम न्यूनीकरणलाई उचित कदम मान्न सकिन्छ । वातावरणीय स्रोतको संरक्षण, भूमि प्रयोग योजना तथा भवन संहिता र तिनको कार्यान्वयन, जोखिम मूल्याङ्कन र प्रारम्भिक चेतावनी प्रणाली, जनचेतना र शिक्षासम्बन्धी कार्यक्रम, राजनीतिक प्रतिबद्धता, नीति, बजेट र प्रशासनिक प्रणालीले प्रभावकारी जोखिम न्यूनीकरण एजेन्डालाई चलायमान बनाउनु आजको आवश्यकता हो । के यी विषयमा विश्वका मुलुकहरु कति हदसम्म चिन्तित छन् ? भन्ने प्रश्न मूल हो । हाल हुँदै आएका न्यूनीकरण प्रयास पर्याप्त छन् त ?  दीर्घकालीन प्रभावलाई मध्यनजर गर्दै अब भइरहेका जोखिम व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिनु जरूरी भएको छ ।  दिगो शुद्ध शून्य कार्वनयुक्त संसारमा रुपान्तरणका लागि ऊर्जा, खाद्य र स्वास्थ्यजस्ता प्रमुख क्षेत्रलाई प्रणालीगत परिवर्तन गर्न अब ढिलाइ गर्नुहुन्न । हरितगृह ग्यासको उत्सर्जन घटाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्दछ । प्रकृति हाम्रो सहयोगी हो भन्ने सोचको विकास गर्दै भावी पुस्ताको जीवन रक्षाका लागि जिम्मेवार हुनु आवश्यक छ ।