माथिल्ला कक्षाहरुमा पढाउनका लागि विषयगत
शिक्षक अनिवार्य हो । विषयगत शिक्षक भएनन् भने त्यो कक्षा प्रभावकारी मान्न
सकिँदैन । परिणाम स्पष्ट छ कि शिक्षक अभाव हुँदा शैक्षिक गुणस्तर खस्किन्छ
। प्रतिविद्यार्थी शिक्षकको समय कम हुनजान्छ । विद्यालयको गुणस्तरमा
प्रश्न उठ्छ । हाल विद्यालय तहमा विशेषगरी गणित, विज्ञान र अङ्ग्रेजीको
विषयगत शिक्षक अभाव छ । सरकारले नै गठन गरेको शिक्षक दरबन्दी, पुनर्वितरण
सुझाव कार्यदलले गरेको अध्ययनअनुसार देशभरि अहिले २५ हजार शिक्षक अभाव
रहेको औंल्याइएको छ। कक्षा ११ र १२ मा प्रत्येक विद्यालयमा अनुदानका दुई
शिक्षकले धानेका छन् ।
सामुदायिक विद्यालयहरुमा सरकारले कक्षा सञ्चालनका अनुमति दिने तर शिक्षक दरबन्दी नदिने परिपाटीले त्यस्ता विद्यालयहरुमा समस्या हुँदै आएको छ । सुनसरीको वराहक्षेत्रस्थित महेन्द्र मा.वि.मा कक्षा ११ र १२ मा प्रा.वि. स्तरका शिक्षकहरुले अध्ययपन गर्दै आएको समाचार सार्वजनिक भएको छ । विषयगत शिक्षकको दरबन्दी अभावमा प्रा.वि. शिक्षकले त्यहाँको पढाइ धान्दै आएको यो एउटा उदाहरण मात्र हो । यस्ता समस्या भएका विद्यालय कैयौं छन् । हुन त शिक्षक अभाव नभएका कतिपय विद्यालयको हालत पनि झनै खराब छ। अनुभवी स्नातकोत्तर प्रा.वि. शिक्षकले पनि मा.वि. तहमा पढाउन नसक्ने त होइन तर राज्यको नीति अनुरुप शिक्षाको उच्च गुणस्तर र शिक्षण सिकाइमा भने फरक पक्कै पर्दछ । त्यसैले राज्यले शिक्षक अभाव हुन दिनु हुँदैन । राज्यले विद्यालय स्वीकृति दिएपछि दरबन्दी दिएर त्यसअनुसार शिक्षक व्यवस्थापन गर्नु पर्दछ । त्यो पहिलो शर्त हो । दरबन्दी दिन सकिँदैन भने विद्यालय स्वीकृत गर्न रोक्नु उचित हो । शिक्षक दरबन्दी अभावमा राम्रो परिणाम सुनिश्चित गर्न सकिँदैन । सँगसँगै शैक्षिक पूर्वाधारका कुरा, शिक्षण विधिका कुरा खेलकुदलगायत विषयमा पनि विद्यालयले ध्यान दिनु पर्दछ ।
यो वर्षको नीति तथा कार्यक्रममार्फत् सरकारले
विद्यालयमा देखिएको माध्यमिक तहको विषयगत शिक्षक अभाव समस्या हल गर्न
समाधानको उपाय त खोज्यो तर त्यो उचित समाधान भने मान्न सकिँदैन । नीति तथा
कार्यक्रममा सामुदायिक विद्यालयमा माध्यमिक तहमा अङ्ग्रेजी, गणित र विज्ञान
विषयका शिक्षकको अभाव पूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई
मूल्याङ्कनसहितको शिक्षण इन्टर्नसिपमा पठाउने प्रबन्ध गरिने उल्लेख गरेको
थियो तर त्यो सरकारले लागू गर्न पनि सकेको छैन । सीमित स्रोत खर्चेर धेरै
काम लिने सरकारी उपाय सकारात्मक भए पनि यो दीर्घकालीन समाधान भने होइन ।
यसले सरकारले तय गरेको विद्यार्थीको गुणस्तरीय सिकाइका लागि पर्याप्त
हुँदैन । अहिले विद्यालयहरुमा देखिएको शिक्षक अभाव अस्थायी रुपमा टार्न
पछिल्लो समय सरकारले ल्याएको शिक्षण इन्टर्नसिप योजना त्यस्ता शिक्षक अभाव
भएका विद्यालयहरुमा तत्काल खटाएर समस्या समाधान गरे पनि ती विद्यालयहरुलाई
राहत हुने थियो । तर त्यो कार्यक्रमसमेत सरकारले लागू गर्न सकेको छैन ।
शिक्षक अभावमा देशका कर्णधार नागरिक उत्पादन अभियान रोकिने भएकाले सरकारले
यस विषयलाई गम्भीररुपमा लिनुु पर्दछ ।