वराहक्षेत्र । वराहक्षेत्रको महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई प्रा.वि. तहका शिक्षकले अध्यापन गरिरहेको पाइएको छ ।

विषयगत शिक्षकको दरबन्दीको अभावमा अहिले कतिपय विषय प्रा.वि. शिक्षकले पढाइरहेको पाइएको हो । मा.वि.मा तीन जना शिक्षकको मात्रै दरबन्दी रहेको छ । विद्यालयमा गणित, विज्ञान, सामाजिक, लेखा, अर्थशास्त्र र ऐच्छिक  अङ्ग्रेजी विषयका शिक्षकको अभाव छ । विद्यालय ५० सालअगि स्थापना भएको हो । विद्यालयमा ८ जना दरबन्दीको आवश्यकता रहे पनि हाल एक जना शिक्षकको मात्रै स्थायी दरबन्दी रहेको छ । यस्तै विज्ञान विषयमा एक जना र गणितमा एकजना गरी दुईजना अनुदानमा र अन्य अस्थायी, करार र राहतमा शिक्षक राखिएको छ । अनुदानमा विज्ञान विषयमा अंशराम साह र गणितमा शरण लिम्बू छन् । विषयगत दरबन्दीको अभावमा मा.वि. विद्यालय चलाउन हम्मे परिरहेको प्राचार्य राजन घिमिरे बताउँछन् । कतिपय अवस्थामा प्रा.वि. तहका शिक्षकहरूबाट काम चलाउनुपरेको उनको भनाइ छ । ‘मा.वि.मा सरकारले तीनजना शिक्षक मात्र दिएको छ । अन्य प्रा.वि. स्तरका शिक्षकहरूले कक्षा चलाउनु परेको छ’–उनले भने ।

कक्षा १ देखि १० सम्म २६ शिक्षक छन् । पूर्ण दरबन्दी शिक्षक नहुँदा प्रा.वि. शिक्षकबाट काम चलाउनुपरेको प्राचार्य घिमिरेले बताए । ‘सरकारले शिक्षकको दरबन्दी दिँदैन, विद्यालय व्यवस्थापन समितिले आफैले शिक्षक नियुक्त गरे उनीहरूलाई दिने तलब हुँदैन, कसरी चलाउनु विद्यालय’–प्राचार्य घिमिरे भन्छन् । विद्यालयमा नौ सय ५१ जना विद्यार्थी छन् । ११ र १२ मा मात्रै २ सय ६१ विद्यार्थी पढ्ने गरेको उनले सुनाए । यहाँ खोटाङ, सङ्खुवासभा, धनकुटा, भोजपुर, उदयपुर र तेह्रथुमबाट आएका छन् । विद्यार्थीबाट लिइने फीबाट नै स्कुलको नब्बे प्रतिशतभन्दा बढी तलबलगायत खर्च बेहोर्नुपरेको उनी बताउँछन् । सरकारी विद्यालयमा कुनै शुल्क लिन पाइँदैन तर महेन्द्र मा.वि.मा विद्यार्थीसँग शुल्क उठाएर शिक्षकलाई तलब खुवाउँदै आएको छ ।

स्थानीय करिब १६ जनाले करिब १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । विद्यार्थी उठाइएको शुल्क र यही अक्षयकोषको ब्याजको खर्चबाट जेनतेन मा.वि. चलेको प्राचार्य घिमिरेले बताए । यस वर्षको एसईई उत्तीर्ण प्रतिशत ७६ रहेको छ । एक सय ३२ जना विद्यार्थीले दिएको परीक्षामा ९५ जना पास भएका थिए । विद्यालयमा आधारभूत १ देखि ५ कक्षा मा १५, ६ देखि ८ कक्षामा ५, मा.वि. ३ र निजी स्रोतबाट १ र २ कर्मचारी गरी २६ शिक्षक कार्यरत छन् ।

विद्यालयको मा.वि. तहका १९ जना आन्तरिक स्रोत र बाँकी अस्थायी, करार, राहत र अनुदानमा र प्लस टुतर्फ १८ जना शिक्षक निजी स्रोतबाट सञ्चालित रहेको विद्यालयले जनाएको छ । करिब एक बिघा पाँच कठ्ठा एलानी जग्गा रहेको विद्यालयको आफ्नै भवन छ । विद्यालय रहेको वडा ७ ले एक लाख २० हजार रुपैयाँ र नगरले अढाई लाख रुपैयाँ सहयोग गरेको छ । स्थानीय १६ जनाले अक्षयकोषको लागि दिएको चन्दाले स्कुल चलेको प्राचार्य घिमिरेले बताए । वराहक्षेत्र नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तमराज भारतीले नेपाल सरकारले वि.सं. २०५२ देखि पूर्ण शिक्षक दरबन्दी नखुलाएको बताए ।

सरकारले ५२ साल अगाडिसम्म दर्ता भएका विद्यालयलाई पूर्ण दरबन्दीसहित स्कुल सञ्चालनको अनुमति दिने गरेको छ । हाल नगरपालिका–२ को आदर्श, र ६ र ७ नम्बर वडाको महेन्द्र र वसन्तऋतु मा.वि.लगायतले मात्र पूर्ण दरबन्दी पाएका छन् । नगरमा रहेका करिब १७ मा.वि. मध्ये १० वटा विद्यालयले पूर्ण दरबन्दी नपाएको उनले बताए । पूर्ण दरबन्दी नपाएका विद्यालयलाई यसै आर्थिक वर्ष २०८१÷०८२ बाट प्रत्येक विद्यालयलाई दुई लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको उनले बताए ।