विराटनगर । कोशी प्रदेशमा सरकारको बेवास्ताले विराटनगरस्थित शैलजा आचार्य हृदयरोग केन्द्र नाजुक अवस्थामा पुगेका छ ।
हृदयरोग केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूको महिना दिनदेखि करार सेवा अवधिको म्याद थप नगरेर कार्यरत कर्मचारीहरूको मनोबल गिराउने काम प्रदेश सरकारले गरेको यहाँका चिकित्सकले बताएका छन् । निवेदन दिएको महिना दिन भइसक्दा पनि प्रदेश मातहत रहेको अस्पतालले करार अवधि थप नगरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको चिकित्सकहरू बताउँछन् ।
केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले पटक–पटक लिखित रूपमा निवेदन दिँदा पनि करार म्याद थप नभएका कारण बुधबारदेखि त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू केन्द्रको ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । करार म्याद थपका लागि निवेदन लेख्दा उल्टै कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पतालमा कार्यरत डा. सर्वेशकुमार झालाई स्पष्टीकरण सोधिएको छ ।
कोशीको स्वास्थ्य मन्त्रालयले ६–६ महिनामा करारका चिकित्सक र स्वास्थ्यकर्मीहरूको करार म्याद थप गर्दै आएको थियो । यस पटक पुस मसान्तसम्मको मात्रै करार म्याद थपको अवधि रहेको थियो । करार म्याद थपको अवधि सकिएपछि पुनः थपका लागि पत्राचार गर्दा पनि स्वास्थ्य मन्त्रालयले कुनै सुनुवाइ नगरेको शैलजा आचार्य हृदयरोग उपचार केन्द्रका प्रमुख डा. सर्वेशकुमार झाले बताए ।
‘हामीले करार म्याद थपका लागि पटक–पटक स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा पनि भनेका छौं । अहिलेसम्म पनि म्याद थप भएर पत्र आएन । बाध्य भएर अहिले हामी आन्दोलनमा उत्रिनुपरेको छ’ उनले भने, ‘बुधबार शान्तिपूर्ण रूपमा विरोध ग¥यौं । बिहीबारदेखि अस्पताल जानै छोडिदिएका छौं ।’
मन्त्रालयले करार म्याद थप गरेर पत्र दिएपछि मात्रै सेवामा फर्किने डा. झाले बताए । सेवा बन्द गर्ने बारेमा यसअघि नै स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि जानकारी गराएको उनले बताए । ‘शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगरमा कार्यरत करारका कर्मचारीहरूको म्याद २०८१ पौष मसान्तसम्म मात्र रहेकोले सो को जानकारी नियमानुसार सबै प्रक्रिया पूरा गरेर यस अस्पतालबाट समयमा नै पठाइसकेको र सो को जानकारी पटक–पटक गराउँदा पनि हालसम्म मन्त्रालयबाट म्याद थपको पत्र नआएको उनले बताए । ‘अब उप्रान्त म्याद थप विनाका करार कर्मचारीहरूसँग कामकाज गर्न असमर्थ भएकोले मिति २०८१÷१०÷२३ गतेदेखि यस अस्पताल सञ्चालनमा बाधा पुग्ने हुँदा सो को जानकारीको लागि अनुरोध छ’ स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चिकित्सकले पठाएको पत्रमा उल्लेख छ ।
चिकित्सक र स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण दैनिक ओपिडीमा आउने २५ देखि ५० जनासम्म बिरामी अहिले समस्यामा परेका छन् । उनीहरू अस्पताल पुगेर उपचार नपाएरै घर फर्किन बाध्य भएका छन् । मोरङ रतुवामाई नगरपालिका–५ का ७७ वर्षीय रत्नबहादुर श्रेष्ठ पाँच वर्षदेखि मुटुका बिरामी छन् । उनले मुटुरोग विशेषज्ञ डा. झासँग स्वास्थ्य परामर्श लिएर औषधि सेवन गर्दै आएका छन् । उनी बुधबार फलोअपको लागि हृदयरोग उपचार केन्द्र आएका थिए तर चिकित्सकहरूको आन्दोलनको कारणले उनले चिकित्सकलाई देखाएर औषधि खान पाएनन् ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले चिकित्सक र स्वास्थ्यकर्मीहरूको करारको म्याद थप भइसकेको दाबी गरिन् । ‘करार म्याद थप गर्ने निर्णय भइसकेको छ । पत्र नपुगेको हुन सक्छ’ डा. थपलियाले भनिन्, ‘डा. सर्वेशको बुधबार करार म्याद थप गर्ने निर्णय भएको छ । पत्र नगएको हुनसक्छ । हामी यस विषयमा बुझ्नेछौं ।’
तर, डा. सर्वेशले भने बिहीबारसम्म मन्त्रालयबाट कुनै पनि
पत्र नआएको बताए । ‘मलाई मन्त्रालयबाट कुनै पनि जानकारी अहिलेसम्म आएको छैन
।’ करार सेवाको म्याद थप नगर्ने उल्टै आफूलाई मन्त्रालयले स्पष्टीकरण
सोधेको उनले बताए । बिहीबार मन्त्रालयले के कति कारणले अस्पतालको ओपिडी
सेवा बन्द गरेको भनेर स्पष्टीकरण सोधेको थियो । हृदयरोग उपचार केन्द्रमा एक
जना मुटुरोग विशेषज्ञ, तीन जना नर्स र नौ जना कर्मचारी कार्यरत छन् ।