बिहीबार विश्वभर रेडियो दिवस मनाइयो । रेडियो दिवस मनाइरहँदा विश्वभर अहिले मिडियामा दुई खालका बहसहरु उठिरहेका छन् । एउटा बहस ‘ग्लोबलाइजेसन’ । अर्को बहस ‘ग्लोकलाइजेसन’ । यी दुई बहस मिडियामा मात्रै नभई आर्थिक, सांस्कृतिक, धार्मिक, राजनीतिक सबै सबैतिर छ । तर, पनि यहाँ मिडियाको सन्दर्भमा बहस उठाउन लागिएको छ । आखिर रेडियोको सान्दर्भिकतामा हेर्ने हो भने कुन चाहिँ बहस बढी सान्दर्भिक होला ? अवसरका हिसाबले र चुनौतीका हिसाबले उस्तै उस्तै होला । आज मिडिया डिजिटलाइजेसन भइरहेको छ । मिडिया कन्भरजेन्स भइरहेको छ । यसले पनि ग्लोकलाइजेसन र ग्लोबलाइजेसनका मुद्दाका हिसाबले रेडियोमा ग्लोबलाइजेसनभन्दा पनि ग्लोकलाइजेसन चाहिँ बढी प्रभावकारी होला भन्ने हामीले ठानेका छौँ । नेपालमा तीन प्रकृतिका रेडियोहरु छन् । सामुदायिक, व्यावसायिक र सरकारी । यी तीनै प्रकृतिका रेडियोको मूल अभिष्ट भनेको जनतालाई सुसूचित गर्नु नै हो । नागरिकलाई सूचना प्रवाह गर्नु नै हो । प्रिन्ट अर्थात् अखबारी पत्रकारिताबाट रेडियो पत्रकारिता आइरहँदा यसको महत्व एकदमै चुलिएको थियो । मानौँ अखबार सकिँदै छ । तर, कालान्तरमा रेडियोलाई चुनौती दिने अर्को मिडिया आइपुग्यो भने अहिले अर्को ‘प्याटर्न’ मा मिडिया चलिरहेको छ र पनि रेडियोको सान्दर्भिकता अझै सकिए जस्तो लाग्दैन । यसको अपरिहार्यता अहिले पनि उस्तै गरी छ भन्नेमा हामी ढुक्क छौँ तर केही आयामहरु चाहिँ फेरिएका छन् । कन्टेन्टहरुमा परिवर्तन गर्नुपर्ने अवस्था छ ।
विशेषगरी सामुदायिक रेडियोहरुले यो आवश्यकतालाई पूर्ति गर्ने देखिन्छ । तर नेपालमा २०५४ सालदेखि सामुदायिक रेडियो सुरू भए पनि त्यसले व्यावसायिक तथा सरकारी रेडियोभन्दा फरक कन्टेन्ट तथा विषयवस्तु दिएको अवस्था छैन । समुदायका स–साना विषयलाई रेडियोले उठाउन सक्छ । स्थानीय स्तरका मुद्दाहरुलाई राष्ट्रियस्तरको मुद्दा बनाउन सक्छ । त्यो सामथ्र्य रेडियोमा हुन्छ । तर जबसम्म स्थानीय रेडियोहरुले स्थानीय मुद्दाहरुलाई स्थापित गर्दैनन्, तबसम्म त्यो मुद्दा राष्ट्रिय मुद्दा बन्नलायक हुँदैन । यसकारण पनि समुदायमा रेडियोको अपरिहार्यता अहिले पनि उत्तिकै छ । माथि हामीले सुरू गरेको बहस ग्लोकलाइजेसन त्यसैको एउटा रुप हो । ग्लोकलाइजेसनले स्थानीय मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पु¥याउने गर्दछ । समाजमा लुकेका र लुकाइएका विषयहरुलाई रेडियोले उजागर गर्न सक्छ । थोरै लगानीमा थोरै ‘वाट’ को रेडियोहरु सञ्चालन गरेर समुदायले आफ्नो विषयवस्तुलाई बाहिर ल्याउन सक्छन् । यस्ता अनेकन उदाहरणहरु यसअघि देखिसकेको अवस्था पनि छ । रेडियोको विकास जुन रुपमा भयो र सन् १९३० को दशकमा जुन रफ्तारमा विकास भयो । स्वर्णकाल मानिएको त्यो युगमा रेडियो संसारभर लोकप्रिय माध्यम बन्यो । अहिले पनि बन्न सक्छ । तर त्यसका लागि समुदायको मुद्दा र विषयलाई बढी प्राथमिकता दिई अगाडि बढ्नुपर्छ । अहिले रेडियो अनलाइनमाध्यमबाट पनि सुन्न सकिने भएको छ । जहाँ जहाँ इन्टरनेट पुगेको छ, त्यहाँ त्यहाँ मानिसहरुले रेडियोलाई आत्मसात गर्न सक्छन् ।
यसका लागि समुदाय जाग्न आवश्यक
देखिएको छ । हाम्रा समाजका इस्यु वा मुद्दालाई अरुले हैन, हामी आफैले
ग्लोकलाइजेसन गर्न आवश्यक छ । स्थानिक मुद्दाहरु सबै पत्रपत्रिका, अनलाइन
तथा टिभीहरुले उठाउन सक्ने अवस्था हुँदैन । किनकि नेपालमा अनेक विचारबाट
प्रेरित अखबार, टिभी तथा अनलाइनहरु छन् । रेडियो पनि त्यसबाट अछूतो चाहिँ
छैन । तर, उसले स्थानीय मुद्दालाई स्थापित गर्ने मात्रै हैन, स्थानीय
भाषिका, ज्ञान र सीपलाई पनि उजागर गर्न सक्छ । आजका दिनमा पनि रेडियो त्यति
नै प्रभावकारी हुनसक्छ । अर्थात् सान्दर्भिक हुनसक्छ । रेडियोले आफूलाई
पनि परिवर्तन गर्न आवश्यक छ । मुद्दा वेशमा जानुपर्छ । समस्याहरु छन् । तर
ती समस्याहरुलाई पन्छाउने भूमिका पनि हाम्रै हो भन्ने हेतुबाट काम गर्ने हो
भने रेडियो ग्लोकलाइजेसन हुनसक्छ । अर्कोतिर राज्यले पनि रेडियोलाई जीवित
राख्नका लागि भूमिका खेल्नुपर्छ । अहिले स्थानीय सरकारहरुलाई पनि रेडियो
सञ्चालन अनुमति दिने प्रावधान छ । यसलाई कार्यान्वयन तहमा पनि लान आवश्यक छ
। मिडियालाई ‘वाच डग’ को भूमिकामा राख्नुपर्छ । अनि मात्रै हाम्रा ७ सय ५३
वटा स्थानीय तहहरु पनि जिम्मेवार तथा जवाफदेही हुन्छन् । सुशासन कायम
हुन्छ । तब मात्रै हामीले खोजेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई
मूर्त बनाउन सक्छौँ । यसतर्फ सबै सरकारहरु गम्भीर होऊन् ।