चालु आर्थिक वर्ष २०८१/०८२ को माघ मसान्तसम्मको वित्तीय विवरणले सरकारको आम्दानी र खर्च दुवै कमजोर देखाएको छ। सरकारले निर्धारित गरेको बजेट र राजस्व लक्ष्यको तुलनामा तल्लोस्तरको प्रदर्शनले देशको आर्थिक दृष्टिकोणमा चिन्ता थपिएको छ । आर्थिक वर्षको सात महिना बितिसक्दासमेत कुल बजेटको मात्र १९ प्रतिशत विकास खर्च हुनु र कुल आम्दानीको ४४.८३ प्रतिशत मात्र सङ्कलन भएको तथ्यले आर्थिक विकासको गति तीव्र बनाउने सरकारका उद्देश्यहरुलाई ठूलो चुनौती थपिएको छ ।

सरकारले यो वर्ष १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो र १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, माघ मसान्तसम्मको तथ्याङ्कअनुसार, सरकारको राजस्व सङ्कलन मात्र ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत पुगेको छ। यसको अर्थ, सरकारका योजनाहरु अपेक्षाकृत रुपमा कम गति पाइरहेका छन् र यो अवस्था वित्तीय वर्षको अन्त्यसम्म अझ जटिल बन्न सक्ने सम्भावना उत्तिकै छ । सरकारको यो रफ्तारले आर्थिक वर्षको अन्त्यमा लक्ष्यमा पुग्ने आशा गर्न सकिँदैन । विकास खर्चमा कमी हुनु, पुँजीगत खर्चको १९ दशमलव ४२ प्रतिशत मात्र खर्च हुनु र वित्तीय व्यवस्थाको ४४ दशमलव ६ प्रतिशत मात्र खर्च हुनु, यी सबै तथ्यहरु अर्थतन्त्रको दीर्घकालीन विकासको लागि चिन्ताजनक स्थिति हो । निश्चय नै सरकारको खर्च व्यवस्थापनमा प्रभावकारिता र बजेटको सटिक कार्यान्वयनमा कमजोरी देखिएको छ। यो समस्या केवल वर्तमान वर्षको मात्रै होइन, आगामी वर्षहरुको लागि पनि जोखिम सिर्जना गर्न सक्छ। यसको हेक्का सरकारमा रहेकाहरुले राख्नु पर्दछ ।

साथै, वैदेशिक अनुदानको सङ्कलन पनि अपेक्षापछि निकै कम भएको छ। सरकारले निर्धारित गरेको लक्ष्यको केवल १६ दशमलव ८७ प्रतिशत मात्र प्राप्त गर्न सकेको छ, जुन थप चिन्ताजनक तथ्य हो। यसका साथै, वित्तीय साक्षरता र प्रवृद्धिको स्तरमा सुधार नहुने हो भने मुलुक आर्थिक सङ्कटमा नपर्ला भन्न सकिँदैन । समग्रमा, सरकारको आर्थिक प्रशासन र वित्तीय योजनामा सुधार गर्नु जरूरी छ । राज्यको खर्चको उचित व्यवस्थापन र आम्दानीको व्यवस्थापन गर्ने उपायहरुको खोजी गरिनु पर्दछ । सरकारको योजनाबद्ध काम र प्रभावकारी कार्यान्वयनले मात्र नेपालको आर्थिक स्थितिलाई सुधार्न सक्छ। यसमा राजनीतिक इच्छाशक्ति र दीर्घकालीन दृष्टिकोणको आवश्यकता अपरिहार्य छ । साथै, सरकारले आगामी समयमा अर्धवार्षिक समीक्षामा देखिएका कमजोरीलाई ध्यानमा राख्दै आवश्यक सुधार गर्न सक्ने अवसरलाई उपयोग गर्नुपर्दछ ।