सुनसरीको कोशी गाउँपालिकाको ६ नम्बर वडास्थित सप्तकोशी कृषि फार्ममा पालिएको हाँसमा बर्डफ्लु भेटिएको छ । त्यहाँका चार सय ४३ वटा हाँसमा बर्डफ्लु भेटिएपछि अन्यमा पनि फैलिने डर उत्पन्न भएको छ । जिल्लास्थित बर्डफ्लु नियन्त्रण समितिको बैठक बसेर सङ्क्रमित हाँस नष्ट गरिएको छ । बर्डफ्लु भेटिएको क्षेत्रलाई केन्द्रबिन्दु मानेर चार किल्ला तोकेर नियन्त्रण गर्ने प्रयास थालिएको भनिएको छ । तर, बर्डफ्लुको स्रोत के हो र कहाँ हो ? भन्ने विषयमा खोजीनीति गर्न आवश्यक देखिँदै गएको छ । बर्डफ्लु पुष्टि भएसँगै सङ्घीय सरकारअन्तर्गतको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको निर्देशनअनुरुप चारकिल्ला तोकेर नियन्त्रण गर्ने प्रयास थालिएको हो । सरकारको कार्य सह्रानीय छ । तर, यथेष्ट हो कि होइन भन्ने विषयमा चाहिँ अलि बढी गम्भीर मन्थन गर्न जरूरी छ । बर्डफ्लुको समस्या यसअघि पनि देखिँदै आएको हो । बर्डफ्लुको समस्या हरेक वर्ष देखिँदै आएको छ । यसलाई नियन्त्रणमा चाहिँ यथेष्ट लगानी नभएको हो कि भन्ने देखिँदै आएको छ ।
बर्डफ्लु एभियन इन्फुएन्जा भाइरसको सङ्क्रमणबाट हुने गरेको छ । यो विशेषगरी चरा प्रजातिमा हुन्छ । यो सरूवा रोगको रुपमा रहेको छ । हाँस, कुखुरा, परेवालगायतका चराजन्य प्रजातिमा लाग्दै आएको छ । नेपालमा पनि प्रत्येक वर्ष देखिँदै आएको छ । केही नियन्त्रणका प्रयास भएका छन् । तर ती प्रयासहरु कति सफल छन् ? कति विफल छन् भन्ने यकिन हुन सकेको छैन । हाँसमा जुन रुपमा देखिएको छ, यसको स्रोतको पहिचान गर्न आवश्यक छ । विशेषगरी भारततिरबाट चराजन्य सामग्री नेपालमा भिœयाउने प्रचलन व्याप्त छ । राति राति चोरबाटोबाट कुखुराहरु नेपालमा बिक्रीका लागि ल्याउने गरेको यसअघिका घटनाक्रमहरुले पुष्टि गरिसकेको छ । बर्डफ्लु रोक्नका लागि राज्यबाट प्रयासहरु नभएका होइनन् तर ती प्रयासहरु पूर्णतः सफल भएको देखिँदैन । नेपालमा पटक पटक यो समस्या देखिनु राम्रो कुरा होइन । किन यसलाई पूर्ण निणन्त्रण गर्न नसकिएको हो, त्यो विषयमा यथेष्ट जानकारी आमनागरिकले पाउन सकेका छैनन् ।
बर्डफ्लु एउटा साझा समस्याको रुपमा रहेको छ । यसलाई बेलैमा सचेत भएर नलागे सखापै बनाउने स्थिति निर्माण हुन्छ । जसले गर्दा किसानको लाखौं तथा करोडौँ लगानी खेर जान्छ । हामीले सतर्कता अपनाउन नसक्दाको परिणाम नै बर्डफ्लु फैलिँदै आएको छ । यसलाई आम नागरिकले पनि बढीभन्दा बढी सतर्कता अपनाउन आवश्यक छ । विशेषगरी चराजन्य प्रजाति पालन गर्दै आएका फार्म सञ्चालकहरुले गम्भीर हुन आवश्यक छ । कुनै पनि कुरा एक ठाउँबाट अर्को ठाउँमा लाँदा वा ल्याउँदा पनि ध्यान पु¥याउनुपर्छ । यसो गर्नसके मात्रै बर्डफ्लु जस्ता आम सङ्क्रमणलाई रोक्न सकिन्छ । बर्डफ्लुले एउटा समस्या मात्रै नभएर यसले आर्थिक क्षतिसमेत पु¥याउँछ । त्यो क्षतिका कारण मानसिक समस्याहरु सिर्जना हुन सक्ने खतरा पनि बढ्न सक्छ । यस्ता आम समस्याको निराकरणमा राज्यले जतिसक्दो चाँडो पहल गरेमा मात्रै समस्याको हल हुन्छ । खुला सीमाका कारण आउने कुनै पनि खालका पक्षीजन्य सामग्रीलाई नियन्त्रण गर्न आवश्यक छ । सीमा नाकामा बढीभन्दा पनि निगरानी बढाउने हो भने यस्ता समस्या धेरै हदसम्म नियन्त्रण हुनेछ । त्यसका लागि राज्य नै गम्भीर हुन आवश्यक छ ।