पूर्वोत्तर मोरङमा रहेको पथरीशनिश्चरे नगरपालिका पूर्वपश्चिम (महेन्द्र) राजमार्गसँग जोडिएका साबिक पथरी र शनिश्चरे गाविसलाई मिलाएर २०७१ सालमा गठन भएको थियो । नेपाल सरकारबाट स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा साविक हसन्दह गाविसलाई समेत मिलाएर २०७३ फाल्गुन २७ गते हालको पथरीशनिश्चरे नगरपालिका स्थापना भएको हो । १० ओटा वडा रहेको यस पालिकाले सर्वाङ्गीण विकासमा खासै ठुलो फड्को मार्न सकेको छैन ।
विकासको दिगो स्वरूपमध्ये शैक्षिक उन्नति पनि एक हो, जसले व्यक्तिमा चेतना जगाउन अहम् भूमिका निर्वाह गरिरहेको हुन्छ । मूलतः भौतिक उन्नयन र आर्थिक समृद्धि मात्र विकास ठान्ने हाम्रो मस्तिष्कले अब भने सामाजिक, सांस्कृतिक एवम् बौद्धिकसहितको सर्वाङ्गीण विकासको केन्द्रमा शिक्षालाई लिनुपर्ने हुन्छ ।
पथरीशनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकीका अनुसार यहाँ ४ ओटा मन्टेस्वरी स्कुल र ५ बालविकास केन्द्रहुँदै ६६ विद्यालय र २ ओटा क्याम्पससम्मका शैक्षिक संस्थाहरू छन् । यिनमा धार्मिकसहित कुल २८ ओटा सामुदायिक र गुठीद्वारा सञ्चालितसहित ३८ संस्थागत विद्यालय छन् । पथरी बहुमुखी क्याम्पस र ऋतम्भरा बहुमुखी क्याम्पस यहाँका उच्च शिक्षा प्रदायक संस्था हुन् ।
वडा नं. ८ मा सञ्चालित कक्षा १२ सम्मै पूर्ण निःशुल्क अध्ययन गर्न पाउने कार्यक्रमले केही चर्चा लिए पनि नगरलाई आकर्षक ‘शैक्षिक हब’ को रूपमा विकास गर्न सबैको पहलकदमी हुन आवश्यक छ । अथाहा सम्भावनाका माझ पालिकाले शिक्षा क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने गरी विशेष प्रकृतिका केही तपसिलबमोजिकका उदाहरणीय कार्य गर्ने हो भने ऐतिहासिक उपलब्धि मात्र नभई चौतर्फी नगरको सुनाम फैलिने देखिन्छ ।
सार्वजनिक पुस्तकालयको प्रबन्ध
पथरीशनिश्चरे नगरपालिकामा कहीँकतै पनि वाचनालयसहितको सुविधासम्पन्न सार्वजनिक ई–पुस्तकालय छैैन । पालिकाले पहल गरेर कम्तीमा एउटा यस्तो पुस्तकालय बनाउने हो भने नगरको शैक्षिक उन्नयनमा टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ । ज्ञानको भण्डार मानिने पुस्तकालयबाट नै विभिन्न विषयका पुस्तकहरू, अनुसन्धानमूलक सामग्री, पत्रपत्रिका र डिजिटल स्रोतहरू उपलब्ध गराउन सकिन्छ । पुस्तकालयमा रहेर अध्ययन गर्दा व्यक्तिमा मानसिक विकाससमेत हुन्छ । पुस्तकालयले समय सदुपयोग गर्न सहयोग गर्छ ।
अनावश्यक क्रियाकलापमा समय बिताउनुको सट्टा ज्ञानवद्र्धक सामग्री अध्ययन गर्नतर्फ व्यक्ति तल्लीन हुन्छ । यति मात्र नभई पुस्तकालयमा पाइने विविध संस्कृति, इतिहास र समाजसम्बन्धी पुस्तकहरूबाट व्यक्तिमा सामाजिक र सांस्कृतिक चेतना बढाउन सहयोग पुग्दछ । आधुनिक पुस्तकालयमा इन्टरनेट, ई–बुक, अडियोबुक र डिजिटल अभिलेखहरू प्राप्त गर्न सकिने हुँदा प्रविधिसँग परिचित हुने मौका पनि मिल्छ । पठनपाठनमा सन्दर्भसामग्रीको खोजी गर्न पनि यस्तो पुस्तकालय आवश्यक देखिन्छ । नगरमा रहेका सार्वजनिक जग्गामा कतै पनि यस्तो पुस्तकालय बनाई आवश्यक व्यवस्थापन गर्ने हो भने नगरको सर्वाङ्गीण विकासमा थप टेवा पुग्ने देखिन्छ ।
उच्च शिक्षा अध्ययनमा प्रोत्साहन
पथरीशनिश्चरे नगरपालिकाले शिक्षाक्षेत्रमा गर्न सक्ने अर्को नवीन कार्य भनेको उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन हो । कम्तीमा पनि पहिलो चरणमा नगरभित्रका सामुदायिक विद्यालय र क्याम्पसमा कार्यरत शिक्षक÷प्राध्यापकलाई अनुसन्धान तहमा आकर्षित गर्ने गरी विशेष प्रोत्साहन कार्यक्रम ल्याउन सके सो कार्य अन्य पालिकाका लागि पनि अनुकरणयोग्य हुन सक्छ । आज पालिकामा केकति सङ्ख्यामा उच्च शिक्षाअन्तर्गत दर्शनाचार्य (एमफिल) गरेको जनशक्ति कार्यरत छ भनेर खोज्ने हो भने आधा दर्जनको हाराहारीमा पनि पाइँदैन ।
विद्यावारिधि (पिएचडी) गरेको जनशक्ति त शून्यप्रायः छ भन्दा अत्युक्ति नहोला । अब पालिकाले बर्सेनि कम्ती– केशव निरौला मा पनि २/२ जना शिक्षकलाई एमफिल र पिएचडी गर्न छात्रवृत्ति रकममार्फत प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने हो भने नगरमा उच्च शिक्षा आर्जन गर्ने जनशक्ति बढ्ने मात्र नभई अन्य पालिकाका लागि पनि उदाहरणीय बन्छ । यस्तो कार्यक्रमले क्रमशः नगरलाई मोफसलमा ‘सबैभन्दा बढी एमफिल पिएचडी हुने पालिका’को रूपमा दर्ज गराउँछ ।
सामुदायिक र संस्थागत गरी कक्षा १२ सम्म पढाइ हुने १४ माध्यमिक विद्यालय रहेको यस नगरपालिकामा कार्यरत शिक्षकका लागि माथिल्लो योग्यता भनेको अब एमफिल मात्र हुँदै छ । स्नातकोत्तरसम्म पठनपाठन हुने पथरी बहुमुखी क्याम्पसमा पनि अहिलेसम्म विद्यावारिधि गरेको प्राध्यापक नभएको अवस्थामा यहाँका शिक्षक÷प्राध्यापकलाई उच्च शिक्षा अध्ययनमा पालिकाले प्रोत्साहन गर्ने कार्यक्रम तत्काल सुरु गर्नु आवश्यक हुन्छ ।
पहिचानसहितको एकरूपतामा पहलकदमी
पथरीशनिश्चरे नगरपालिकाअन्तर्गत मूलतः चार प्रकृतिका विद्यालय छन् । यिनमा सामुदायिक, संस्थागत, गुठीमार्फत सञ्चालित र धार्मिक विद्यालय पर्दछन् । गुठी शैक्षिक संस्थाअन्तर्गत वडा नं. १ मा भूपू सैनिक अङ्ग्रेजी स्कुल र धार्मिक शैक्षिक संस्थामा वडा नंं. २ मा विश्वनाथ संस्कृत (गुरुकुल) विद्यालय सञ्चालित छन् । सामुदायिक र संस्थागत विद्यालयको नाममा गुठी मातहतको भूपू सैनिक र विश्वनाथ गुरुकुल पनि गुम्राहामा परेको देखिन्छ ।
हुन पनि विश्वनाथ गुरुकुललाई अन्य सामुदायिक विद्यालय र भूपू सैनिक स्कुललाई अन्य संस्थागत विद्यालय सरहकै नाममा उच्चारण गरिन्छ । यी दुवै विद्यालयको आफ्नो पहिचान ओझेलमा परेको आभास हुन्छ । यसैले अब भने पालिकाले यस्ता भिन्न प्रकृतिका शैक्षिक संस्थाको स्वपहिचान रक्षा गर्ने गरी कार्ययोजना अगाडि ल्याउन जरुरी छ, जसले गर्दा नगरमा सबै प्रकृतिका शैक्षिक संस्था छन् भन्नेसम्मको भाष्य विकास गर्ने वातावरण बनोस् ।
नगरमा रहेका सामुदायिक र संस्थागत विद्यालय आफैँमा एकअर्काका पूरक शैक्षिक संस्था हुन् । यसैले स्थानीय सरकारको नजरमा दुवै प्रकृतिका संस्थालाई हरसम्भव समन्वयात्मक कार्यक्रम ल्याउनुपर्ने हुन्छ । यसको उदाहरणमा बर्सेनि हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मात्र नभई भर्खरै भागीरथ माविमा भएको ‘विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम’ पनि हो । यस्ता कार्यक्रमबाट पालिकाको सकारात्मक शैक्षिक गतिविधि उजागर भइरहन्छ ।
पञ्चायत माविमा भएको सामुदायिक विद्यालयकेन्द्रित प्रार्थनासभा व्यवस्थापनसम्बद्ध कार्यक्रम भने आउने वर्ष संस्थागत विद्यालयकेन्द्रित गर्न सक्नुपर्छ । त्यतिबेला सहभागी हुन चाहना राख्ने सामुदायिक विद्यालयलाई पनि समेट्दै सिकाउनका लागि सक्षम बनेको यहीँको जनशक्तिलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । जसको परिणामस्वरूप नगरभित्रका सबै विद्यालयमा एउटै प्रकृतिको प्रार्थनासभा होस् ।
नगरले यस वर्षदेखि कक्षा ५ र ८ को वार्षिक परीक्षालाई अन्तरविद्यालय परीक्षा केन्द्र गरेर सञ्चालन गर्दैछ । यसले नगरभरका सबै विद्यालयको परीक्षा प्रणाली र मूल्याङ्कन पद्धतिमा एकरूपमा कायम गरी वास्तविक सिकाइ उपलब्धि दर्साउँछ । यस्तो परीक्षा प्रणालीले विद्यार्थीलाई पढाइप्रति अझ जागरूक पनि बनाउँछ । अब कक्षा ५ र ८ को मात्र होइन, नगरले कक्षा ११ का विद्यार्थीको पनि वार्षिक परीक्षा यही ढाँचामा सञ्चालन गर्ने हो भने पक्कै पनि विद्यार्थीमा पठन संस्कृति बढ्ला । अहिले पालिकाभित्रका सबै विद्यालयमा एकै समयमा वार्षिक परीक्षा हुँदैन ।
यस्तो अवस्थामा कम्तीमा पनि पालिकाले नै सबै विद्यालयमा एकरूपता हुने गरी वार्षिक परीक्षाको कार्यतालिका मात्र सार्वजनिक गरिदिने हो भने एकरूपमा कायम हुने थियो । सम्भव भएसम्म पालिकाको पहलमा विद्यालयको प्रकृतिअनुसार विद्यार्थी पहिरनमा एकरूपता लागु गर्ने हो भने अर्को उदाहरणीय कार्य बन्न सक्छ ।
नयाँ विषय पठनपाठन
यस नगरपालिकाको वडा नं. १ मा रहेको पञ्चायत माविमा देशमै उदाहरणीय हुने गरी कक्षा ११ र १२ मा धेरै ऐच्छिक विषय पठनपाठन भइरहेको छ । प्राविधिक धारको सिभिल इन्जिनियरिङसहित कानुन मूल समूहका विषयहरू (विधिशास्त्र, संवैधानिक कानुन, कार्यविधि, कानुनी मस्यौदा लेखन आदि), ललितकला मूल समूहका विषयहरू (चित्रकला, मूर्तिकला, एप्लाइड आर्ट्स), आमसञ्चार तथा पत्रकारिताजस्ता नयाँ विषय पठनपाठनमा यस विद्यालयले राम्रै पहिचान कायम गरेको छ । अब भने पालिकाले कक्षा ९ देखि १२ सम्ममै थप नयाँ विषय पठनपाठनको व्यवस्था गर्न सके पालिकामा अधिकतम विषय पढाइ हुने मात्र नभई पालिकाबाट अन्यत्र बाहिरिने विद्यार्थी सङ्ख्यामा कमी आउँछ ।
देशभरमै चर्चा हुने कक्षा ९ र १० का लागि ऐच्छिक पहिलो विषयमा वाणिज्य गणित, सहकारी शिक्षा, कोरियन, सामान्य कानुन र दोस्रो विषयमा पत्रकारिता, विज्ञान, सङ्गीत, सौन्दर्य शास्त्र आदि पर्दछन् । त्यसै गरी कक्षा ११ र १२ मा नृत्य, योग, सिलाइ तथा बुनाइ, वाद्यवादन, फेसन डिजाइनिङ, सिनेमा तथा डकुमेन्ट्री, पुस्तकालय तथा सूचना विज्ञान, साधारण कानुन, सौन्दर्यकला र केशकला, होटल मेनेजमेन्ट, गायन लगायतका विषयको माग बढ्दो छ ।
विद्यार्थीको रुचि र चाहनाअनुसार यस्ता विषयको पठनपाठन गराउनका लागि पालिकाले साविकका तीनओटा गाविस (पथरी, शनिश्चरे र हसन्दह) का प्रतिनिधि विद्यालय छनोट गर्नु उपयुक्त हुन्छ । ती विद्यालयमा यस्ता नयाँ विषय अध्यापन गराउने शिक्षकको पारिश्रमिक व्यवस्थापन पनि पालिकाबाटै हुन सके सकारात्मक सन्देश प्रवाह हुन्छ ।
भूगोलअनुसार साविकका तीनओटै गाविसलाई समेट्ने गरी नयाँनयाँ विषय थप गरी व्यवस्थित तवरबाट कक्षा सञ्चालन गर्न पालिकाले तदारूकता देखाउने हो भने नगरको समानुपातिक विकासमा पनि जोड पुग्ने थियो । यही पालिकामा नयाँनयाँ विषय पढ्न पाउने हो भने निश्चय पनि यहाँबाट अन्य पालिकामा जाने विद्यार्थीको सङ्ख्या ह्वात्तै घट्ने कुरामा दुईमत छैन ।
नयाँ क्याम्पस स्थापना
पालिकामा हाल सामुदायिक तवरबाट सञ्चालित उच्च शिक्षा प्रदायक संस्थाको रूपमा पथरी बहुमुखी क्याम्पस छ । यहाँ त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्कायका स्नातक एवम् स्नातकोत्तरका कक्षा सञ्चालित छन् । भौतिक पूर्वाधार र प्रविधिमा सबल क्याम्पस भनिए पनि विश्वविद्यालय अनुदान आयोगमार्फत गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त भइसकेको छैन ।
त्रिविले क्युएए प्राप्त नगरेका क्याम्पसका लागि नयाँ विषय र सङ्काय थप्न खासै निर्णय गर्दैन । यस्तो अवस्थामा क्याम्पसले दिवा वा सन्ध्याकालमा नयाँ कक्षा सञ्चालन गर्न असमर्थ भई आफ्नो पठनपाठनको अवधि बिहानी सत्रमा मात्र सीमित राख्नुपर्ने हुन्छ । नभन्दै अहिले झन्डै बिहान ११ बजेपछि क्याम्पसको भवन त्यत्तिकै खाली हुने गरेको छ । यस्तो अवस्थामा पालिकाले दिवा वा सन्ध्या सत्रमा पनि उक्त क्याम्पसको भवन सदुपयोग गर्ने ठोस नीति अख्तियार गर्नुपर्ने हुन्छ ।
त्यसका लागि पालिकामातहत नयाँ सामुदायिक कलेज स्थापना हुनुपर्छ । सोको सम्बन्धन आफ्नै प्रदेशको पूर्वाञ्चल विश्वविद्यालय वा अन्य कुनै उपयुक्त विश्वविद्यालयबाट लिने हो सहजै तरिकाबाट नयाँनयाँ सङ्कायका कार्यक्रम सञ्चालन गर्न सकिन्छ । जसरी मोरङकै मिक्लाजुङ गाउँपालिकाले मिक्लाजुङ क्याम्पस सञ्चालन गरिरहेको छ त्यसरी नै यस पालिकाले पनि आफ्नै पहल र दायित्वमा नयाँनयाँ सङ्काय र विषय पढाउने गरी नयाँ क्याम्पस स्थापना गरी दिवा र सन्ध्यासत्रमा कक्षा सञ्चालन गर्न सक्छ ।
प्रस्तावित नयाँ क्याम्पसको नाम ‘पथरी कलेज’ वा यस्तै अरू कुनै पनि हुन सक्छ, जसमा सञ्चालक समितिसहित नितान्त नयाँ क्याम्पस प्रमुख हुने गरी क्याम्पसको विधान बन्छ । भूपू सैनिक स्कुलको दक्षिणतर्फबाट नयाँ क्याम्पसको मूलद्वार बनाउन सकिन्छ भने सोही क्याम्पस भवनको उत्तर दिशाबाट प्रशासनसहितका कक्ष सञ्चालन गर्न सकिन्छ । नयाँ क्याम्पसमा अहिले पथरी बहुमुखी क्याम्पस र ऋतम्भरा बहुमुखी क्याम्पसमा पठनपाठन हुनेबाहेकका कार्यक्रम (विषय) सञ्चालन गर्नुपर्ने देखिन्छ ।
यस्ता कार्यक्रमहरूमा तत्काल बिएस्सी, बिए.एलएलबी, बिटेक, बिआइएम, बिबिए, बिसिए, बिएस्सी सिएसआइटी आदि हुन सक्छन् । यस आधारमा पथरीशनिश्चरे नगरपालिकाभित्रै दुईओटा सामुदायिक क्याम्पस सञ्चालन हुन्छन् भने यहाँबाट कक्षा १२ उत्तीर्ण गरेका सबैजसो विद्यार्थीलाई यिनै क्याम्पसमा अँटाउन सकिन्छ । यता, निजी क्षेत्रबाट सञ्चालित क्याम्पसले पनि नगरको गरिमा र शैक्षिक उन्नयनमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नसक्ने सबालमा गुणस्तरीय शिक्षाको पर्याय नै पथरी नगरका क्याम्पसहरू गनिने स्थिति बन्छ ।
यसै गरी पालिकामा अध्यापनरत शिक्षकलाई थप हौसला र प्रोत्साहन गर्ने गरी बर्सेनि पुरस्कार एवम् सम्मानसहितका विशेष कार्यक्रम आयोजना गर्न सकिन्छ । स्थायीइतरका सबै शिक्षकलाई पेसागत प्रत्याभूति दिलाउने सबालमा ‘सञ्चयकोष’ खडा गरी योगदान गर्न/गराउन पालिकाको पहलकदमी कोसेढुङ्गा सावित हुने देखिन्छ । यसर्थ, पालिकाले उपयुक्त प्रकारका नयाँ कार्यक्रम सञ्चालनका लागि शिक्षा क्षेत्रमा बजेट वृद्धि गरी दिगो विकासको आधार खडा गर्ने तत्परता भने बढाउनु पर्ने हुन्छ ।