धरान । धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय मा.वि.का शिक्षक गोपाल गुरागाईंले समाचार रोक्नका लागि केही पत्रकारसहित सञ्चार गृहलाई पैसा दिएको विषयमा ब्लाष्ट टाइम्स दैनिकको गम्भीर ध्यानाकर्षण भएको छ ।
शिक्षक गुरागाईंले विभिन्न पत्रकारसहित ब्लाष्ट टाइम्स दैनिकलाई पनि पैसा दिएको भनी काठमाडौँबाट प्रकाशित अर्थ बजार नामक अनलाइनमा समाचार लेखाएको देखिन्छ । उक्त विषय आएपछि ब्लाष्टले सूक्ष्मरूपमा छानबिन सुरु गरेको थियो । उक्त घटनामा प्रत्यक्ष संलग्न भएका शिक्षक हाल धरान–१७ स्थित सम्यक शिक्षा आधारभूत विद्यालयमा कार्यरत गुरागाईंलाई बुधबार दिउँसो ब्लाष्टकर्मीसहित अर्का आरोप लागेकी पत्रकार मनिता चाम्लिङसहितले प्रत्यक्षरूपमा भेटेका थियौँ । भेटमा शिक्षक गुरागाईंले आफूले कुनै पनि मिडिया तथा पत्रकारलाई पैसा दिन नलगाएको दाबी गरे । ‘होइन, मिडियाका नाममा कसैलाई पैसा दिएको छैन । अदालतले जे निर्णय गर्छ त्यही भोग्न तयार छु भनेर बसेको छु । म कुनै पत्रकारसँग पनि टचमा छैन’–उनले भिडियो कुराकानीका क्रममा भने । पत्रकारलाई पैसा दिन उनले सुनसरीको इटहरीस्थित माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलको अकाउन्टमा रकम ट्रान्सफर गरेको भनी उक्त मिडियाले दाबी गरेको छ ।
यसबारे बुझ्दा उनले भने, ‘माया घरमा आश्रितहरूका लागि रकम दिएको हो ।’ त्यसपश्चात् माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेललाई उनकै सामुन्ने फोन सम्पर्क गरेका थियौँ । ‘शिक्षक गुरागाईंले माया घरका लागि रकम सहयोग गरेको हो ?’ भनी प्याकुरेललाई प्रश्न गर्दा ‘माया घरका लागि कुनै पनि पैसा नआएको’ भनी प्रत्युत्तर दिइन् । अध्यक्ष प्याकुरेलले उक्त पैसा आफूलाई नभई उनको बहिनी योशा गुरागाईंलाई पठाइएको भनी बताइन् । ‘लाउड स्पिकर’ मा रहेका कारण शिक्षक गुरागाईंले पनि उक्त कुरा सुनेका थिए । लगत्तै शिक्षक गुरागाईंलाई के प्रयोजनका लागि प्याकुरेलको अकाउन्टमा पैसा लगाइयो भनेर पुनः सोध्दा उनले ‘मलाई यो कुरामा टेन्सन नदिनू’ भनी जवाफ दिए । उनले पुनः थपे, ‘मलाई कहाँदेखि कहाँ फसाउन लागेको छ । पैसाका विषयमा मलाई थाहा छैन ।’ उनले केही समयअघि माया घरलाई दिएको र फोनपश्चात् आफूलाई पैसाका विषयमा केही थाहा नभएको भन्दै पन्छिए ।
करिब १० मिनेटको बीचमा उनको कुरा ‘बाझिएको’ थियो । समाचार आएको बखतमै प्याकुरेलको अकाउन्टमा पैसा गएको देखिन्छ । उनले चार पटक गरी ८१ हजार रुपैयाँ रकम दिएको देखिन्छ । तर यस घटनामा एक लाख ५० हजार रुपैयाँको चलखेल भएको समाचार बाहिरिएको छ । अन्य पैसा के कसरी दिइयो भनी पुष्टि गर्ने आधार छैन । पीडिताका अनुसार सुभद्रा प्याकुरेलले आफूलाई पटक पटक गरी ८ हजार रुपैयाँ दिएको बताएकी छन् । यस विषयबारे प्याकुरेललाई बुझ्दा उनले भनिन्, ‘मैले पीडितालाई पैसा दिएको छैन । योशा गुरागाईंले दिएको हो । ८ हजार रुपैयाँ पैसा दिएको छ । त्यो कुरा नानीलाई नै सोध्नू न ।’ समाचार रोक्न तथा पीडिताको अदालतमा हुने बकपत्रमा फरक कुरा भन्नका लागि भनी तीन जना पत्रकार र सञ्चार गृहलाई पनि जबर्जस्ती जोडेर समाचार लेखिएको छ । पत्रकारहरूमा रश्मी प्रधान, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र मनिता चाम्लिङ छन् । यस विषयमा तीनै जनाले रकम लिएको विषयलाई ठाडै अस्वीकार गरेका छन् ।
सम्पादक मनिता चाम्लिङले भनिन्, ‘म त संलग्न पनि थिइनँ, मलाई त जानकारी पनि थिएन । त्यो डिजिटल पत्रिकाले मलाई फोन पनि गरेको छैन । तर बारम्बार सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन भनेर लेखेको छ । यो त पीत पत्रकारिता भयो नि हैन र । यसका विरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएको छु ।’ उनले यो समाचारका कहीँकतै नजोडिएको पत्रकारलाई पनि जबर्जस्ती तान्ने काम भएको बताइन् । यता नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले आफू यस विषयमा कहीँ पनि ‘टच’ नभएको प्रष्ट्याए । उनले भने, ‘म यसको विषयमा कहीँ पनि टच छैन । जानकारी पनि छैन । यो विषयमा कसैसँग कुरा पनि गरेको छैन । रश्मीलाई मैले केही भनेको पनि छैन । उसले पटक–पटक दबाव दिएको भन्ने छ । त्यो कुरा उसले सप्रमाण पुष्टि गर्नु परो होला नि त ।’ यस्तै पत्रकार रश्मी प्रधानले आफूले कोहीबाट पनि समाचार लेखेबापतको पैसा नलिएको प्रष्ट पारिन् । ‘मैले पैसा चारआना पनि कहीँबाट लिएको छैन । पैसा लिएको भन्ने कुरा फोन आएपछि मात्रै थाहा पाएँ’ उनले फोन भनिन्, ‘पैसाको प्रस्ताव कहीँबाट पनि आएको छैन, मैले पनि समाचार लेख्नु पर्यो भनेर उसैलाई बुझ्दा मलाई फोन गर्ने पत्रकारको पनि फोन लागेको छैन ।’
पैसा लिएको र बिचौलियाको काम गरेको विषयमा समाचार लेख्ने अर्थ बजारका पत्रकार तथा सम्पादक कसैले पनि सम्बन्धित आरोपित पत्रकार तथा मिडिया हाउसलाई घटनाको पुष्ट्याइँ गरेको छैन । ब्लाष्टका सम्पादक देवेन्द्र कार्कीलाई हिमालय टाइम्सका सरोज पौडेलले आफ्नो फोन नम्बर ९७०४५०९१९० बाट फोन गरेका थिए । अन्य पत्रकारहरूलाई पनि बुझ्दा उनैले फोन गरेको र आफूलाई हिमालय टाइम्सको पत्रकार भनी बताएको जनाएका छन् । ‘मलाई फोन गर्दा पनि हिमालय टाइम्सकै पत्रकार भनेर बताएको थियो’ महासङ्घका अध्यक्ष काफ्लेले भने, ‘अहिले फोन गर्दा लाग्दैन ।’
यस विषयमा पनि उनी हिमालय टाइम्स तथा हिमालयन टाइम्समा कार्यरत हो÷होइन भन्ने विषयमा ब्लाष्टले बुझ्ने प्रयास गरेको थियो । हिमालय टाइम्सका सम्पादक सन्दीप पौड्याललाई ‘सरोज पौडेल नामका पत्रकार तपाईंहरूको कार्यालयमा काम गर्नुहुन्छ ?’ भनी सोधेका थियौँ । तर, सम्पादक पौड्यालले त्यस्तो नाम गरेको कुनै पनि पत्रकार नभएको दाबी गरे । त्यस्तै अङ्ग्रेजी हिमालयन टाइम्सलाई बुझ्दा पनि उक्त नाम गरेको पत्रकार नभएको जनाएको छ ।
यस विषयमा ब्लाष्टकर्मीले अर्थ बजारका सम्पादक युवराज गौतमलाई फोन गर्दा उनले ब्लाष्टले पैसा नलिएको हो भने प्रक्रियाअनुसार खण्डन पठाइदिए छापिदिन्छौँ सहयोग गर्नुस् भन्दै विषयलाई सामान्यीकरण गर्न खोजेका थिए । यस विषयमा ब्लाष्ट दैनिकले पनि प्रेस काउन्सिलमा बुधबार नै उजुरी गरिसकेको सम्पादक तथा प्रबन्ध निर्देशक किशोरकुमार कार्कीले जानकारी दिए । शिक्षक गुरागाईंले ज्ञानोदय मा.वि.मा रहँदा विभिन्न छात्राहरूलाई यौन दुव्र्यवहार गर्दै आएको आरोप लागेको थियो । उक्त घटनामा उनी पक्राउसमेत परेका थिए भने हाल उनको मुद्दा जिल्ला अदालत सुनसरीमा विचाराधीन अवस्थामा छ ।