विराटनगर । आँखाको उपचारका लागि विराटनगरको सीमावर्ती क्षेत्रमा सञ्चालित अस्पतालमा नेपालीभन्दा भारतीय बिरामीले भरिभराउ हुने गरेको छ ।

तराई क्षेत्रमा सञ्चालन भएका आँखा अस्पतालहरूमा उत्तर–पूर्वी भारत, पश्चिम बङ्गाल, विहार, झारखण्डलगायत भारतका राज्यबाट आँखाको उपचारका लागि दिनहुँ आउने गरेका छन् । उनीहरूले नेपालीले पाउने सुविधामै उपचार पाउने गरेका छन् ।

तराईका विभिन्न स्थानमा सञ्चालनमा आएको सुविधा सम्पन्न आँखा अस्पतालमा ७० प्रतिशत भारतीय बिरामी आउने गरेको अस्पतालका सञ्चालकहरू बताउँछन् । विराटनगर महानगरपालिका क्षेत्रमा सञ्चालित आधा दर्जन बढी आँखा अस्पतालहरू छन् । विराटनगर, विराट, गोल्छा, तापडिया आँखा अस्पताल सञ्चालनमा छन् । आँखाको उपचारमा राम्रो सेवा नेपालमा भएका कारण भारतीय बिरामी यसरी आकर्षित भएका हुन् । 

विराटनगर आँखा अस्पतालमा बर्सेनि ३ लाख ६० हजार बिरामीको आँखा परीक्षण हुने गरेको विराटनगर आँखा अस्पतालका प्रबन्ध निर्देशक कुमार पृथुले जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक १२ सय हाराहारीमा आँखाको समस्या लिएर बिरामीहरू आउने गरेका छन् । तीमध्धे अधिकांश भारतीय बिरामी आउने गरेको उनले बताए ।

वर्ष ०७९/८० मा ३ लाख ६० हजार जनाको विराटनगर आँखा अस्पतालमा आँखाको परीक्षण गरिएको अभिलेखमा देखिन्छ । जसमध्ये २ लाख १६ हजार भारतबाट आएका बिरामीको उपचार गरेको पृथुले जानकारी दिए । ६७ हजार ५ सय जनाको आँखाको शल्यक्रिया भएकोमा सबैभन्दा बढी मोतिया बिन्दुको समस्या भएका बिरामी भएको उनले बताए । शल्यक्रियामा पनि ७० प्रतिशत भारतबाट आएका बिरामी नै भएको अस्पतालको भनाइ छ ।

यसकारण आउँछन् भारतीय बिरामी
नेपालमा सञ्चालित आँखा अस्पतालहरूमा गुणस्तरीय तथा भारतमा भन्दा सस्तोमा उपचार हुने भएकाले हजारौं भारतीय नागरिक उपचारका लागि नेपाल आउने गरेका हुन् । भारतबाट आउने बिरामीमध्ये अधिकांश आँखाको उपचारका लागि नेपालमा सञ्चालित अस्पतालहरूमा आउने गरेका छन् ।

खुल्ला नाका भएको कारणले गर्दा पनि उपचार गराउन भारतीय नागरिकलाई सहज हुने भएकोले नेपालमा विभिन्न स्थानमा रहेका आँखा अस्पतालमा सेवा लिन आउने गरेको दिव्यज्योति अस्पतालका प्रशासन प्रमुख देवा यादवले बताए । उनी भन्छन्, ‘बाबुबाजेको पालादेखि नेपालका आँखा अस्पतालमा उपचार गराउँदै अएका हुन्छन् । उपचार राम्रो पनि हुन्छ ।’