प्राविधिक विषयबाहेकका एसईई परीक्षा सकिएको छ र देशभरका पाँच लाखभन्दा बढी विद्यार्थी अहिले स्वतन्त्र बनेका छन् । विद्यालयको घेराभित्र अनुशासन, गृहकार्य र परीक्षाको तयारीले भरिएको जीवनबाट केही महिनाका लागि उनीहरूले छुट्कारा पाएका छन् । यस समयलाई कसरी सदुपयोग गर्ने भन्ने प्रश्न अहिले ती विद्यार्थीहरूको सामु खडा छ । के यो समय मोजमस्तीमै बिताउने ? कि आत्मविकास, नयाँ ज्ञान र उज्यालो भविष्यको तयारी गर्ने ? निर्णय उनीहरूकै हातमा छ ।
आत्मचिन्तन र व्यक्तित्व विकासको समय
यस स्वतन्त्र समयलाई विद्यार्थीहरूले आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिन सक्छन् । जीवनप्रति आफ्नो लक्ष्य, अभिलाषा र सपना के हुन् भन्ने कुरा सोच्ने सही समय यही हो । के गर्दा मन रमाउँछ ? के सिक्दा आत्मसन्तुष्टि मिल्छ ? के गर्न सकियो भने भविष्य सुरक्षित र सफल बन्न सक्छ ? यी प्रश्नहरू मनमा राखेर विद्यार्थीहरूले आफ्नो रुचि र क्षमताको पहिचान गर्नुपर्छ ।
आत्मविश्वास अभिवृद्धि गर्न विभिन्न उपायहरू अवलम्बन गर्न सकिन्छ । सार्वजनिक भाषण, सञ्चार कला र प्रस्तुतीकरणका सीपहरू सिकेर व्यक्तित्वमा निखारता ल्याउन सकिन्छ । भाषा सिक्न चाहनेहरूका लागि यो समय अमूल्य अवसर हो । अङ्ग्रेजी, जापानी, कोरियन, जर्मन वा कुनै नयाँ भाषा सिक्दा ज्ञानको सिमाना फराकिलो मात्र हुँदैन, भविष्यका नयाँ अवसरहरू पनि खुल्छन् ।
ज्ञान, सीप र सिर्जनशीलताको खोजी
आजको युगमा केवल किताबी ज्ञान मात्र पर्याप्त हुँदैन । समयसँगै हिँड्न प्रविधि र आधुनिक सीपहरू आवश्यक हुन्छन् । विद्यार्थीहरूले कम्प्युटरसम्बन्धी ज्ञान प्राप्त गर्न सकिन्छ । माइक्रोसफ्ट अफिस, ग्राफिक डिजाइन, भिडियो सम्पादन, वेब डिजाइनजस्ता सीपहरू सिक्न सक्छन् । यिनले भविष्यमा रोजगारीका ढोका खोल्न मद्दत गर्नेछ । लेखनमा रुचि राख्नेहरूले कथा, कविता, निबन्ध लेख्न सक्छन् । ब्लग लेख्न थाल्दा आफ्ना विचारहरू शब्दमा उतार्ने कला मात्र विकास हुँदैन, भविष्यमा पत्रकारिता वा साहित्यिक लेखनतर्फ उन्मुख हुने अवसर पनि प्राप्त गर्न सकिन्छ । सङ्गीत, चित्रकला वा नृत्य सिक्न चाहनेहरूले आफ्नो सिर्जनात्मक क्षमतालाई निखार्न सक्छन् ।
समाजलाई बुझ्ने, समाजसँग जोडिने
विद्यालयको पाठ्यक्रम पढेर मात्र विद्यार्थीहरू परिपक्व बन्दैनन् । उनीहरूले समाजलाई बुझ्नुपर्छ, वास्तविकताको धरातलमा पाइला टेक्नुपर्छ । समाजसेवाका विभिन्न गतिविधिमा सहभागी हुँदा पुस्तकमै मात्र सीमित ज्ञानलाई व्यावहारिक धरातलमा लागू गर्ने अवसर मिल्छ । विद्यार्थीहरूले आफ्नो समाज परिवार बुझ्न पाएका हुँदैनन् । यो समय परिवारसँग, समाजसँग घुममेल हुने समय हो । यस्तै वृक्षरोपण, सरसफाइ अभियान, रक्तदान, वा प्लास्टिक व्यवस्थापनजस्ता कार्यक्रमहरूमा संलग्न भई विद्यार्थीहरूले वातावरण संरक्षणमा योगदान दिन सक्छन् । वृद्धाश्रम वा बाल आश्रममा गएर असहायहरूसँग केही समय बिताउने, उनीहरूलाई रमाउने खुराक दिने र नयाँ कुरा सिकाउने कार्यले सामाजिक जिम्मेवारी बोध पनि गराउँछ ।
आर्थिक आत्मनिर्भरता र व्यावसायिक सोच
एसईईपछि विद्यार्थीहरूले केही आर्थिक स्रोत खोज्न सक्छन् । समयलाई सदुपयोग गर्दै ट्युसन पढाउने, पसल वा क्याफेमा पार्टटाइम काम गर्ने, अनलाइन व्यापारजस्ता उपायहरूबाट अनुभव बटुल्न सकिन्छ । शेयर मार्केटको काम गर्न सकिन्छ । विद्यार्थीहरूले व्यावसायिक सोच राखेर आफ्नै सानो व्यवसाय सुरु गर्न सक्छन् । अनलाइन स्टोर खोल्ने, हस्तकला वा कलात्मक सामग्री बेच्ने, युट्युब च्यानल सञ्चालन गर्ने जस्ता कार्यहरूले उनीहरूलाई उद्यमशीलताको स्वाद चखाउँछ । दक्षिण एशियामै नाम कमाएका उद्यमी विनोद चौधरीले विद्यालय जीवनमै कक्षा १० को प्रोजेक्ट वर्कमा सानो किराना पसल खोलेका थिए । जसले उनलाई व्यावसायिक यात्राको पहिलो पाइला तय गर्न सघायो । विद्यार्थीहरूले पनि यही उमेरमा आफ्नो भविष्यको आधारशिला राख्न सक्छन् ।
भविष्यको तयारीः सही निर्णय, सही मार्ग
विद्यार्थीहरूको अर्को गन्तव्य कक्षा ११ हो । तर कुन विषय अध्ययन गर्ने ? कुन क्षेत्र रोज्ने ? यी प्रश्नहरू महŒवपूर्ण छन् । हतारमा निर्णय लिनुभन्दा आफ्नै रुचि, क्षमता र भावी सम्भावनाहरूका आधारमा विषय छनोट गर्नुपर्छ । शिक्षक, अभिभावक र अग्रजहरूसँग सल्लाह गरेर सही निर्णय लिनुपर्छ । विद्यार्थीहरूले नेपालभित्र र विदेशमा पाइने छात्रवृत्तिका अवसरहरूको खोजी गर्नुपर्छ । एसईईपछिको समय नै यसबारे जानकारी लिन र आवश्यक तयारी गर्नका लागि उपयुक्त हुन्छ । मेडिकल, इन्जिनियरिङ, व्यवस्थापन, कानून वा अन्य क्षेत्रमा जाने सोच भएकाहरूले यसै समयदेखि आवश्यक अध्ययन सामग्री सङ्कलन गरी तयारी थाल्नुपर्छ ।
घुमफिर र नयाँ अनुभवको खोजी
समय सदुपयोग गर्ने नाममा केवल किताबै च्यापेर बस्नुपर्छ भन्ने छैन । जीवनलाई फराकिलो बनाउने अर्को राम्रो उपाय यात्रा पनि हो । घुमफिरले मानिसलाई नयाँ संस्कृतिसँग परिचित गराउँछ, इतिहास र भौगोलिक विविधता बुझ्न सघाउँछ । नेपालका रमणीय ठाउँहरूः पोखरा, लुम्बिनी, काठमाडौं, मुस्ताङ, जनकपुर, इलामजस्ता स्थानहरूको भ्रमण गर्दा नयाँ ज्ञान प्राप्त गर्न सकिन्छ । ट्रेकिङ, हाइकिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङजस्ता साहसिक गतिविधिहरूले आत्मविश्वास बढाउँछ । यी अनुभव लिए पनि समय बिताउने मात्र होइन, प्रशस्त ज्ञान आर्जन गर्न सकिन्छ ।
शारीरिक र मानसिक स्वास्थ्यप्रति सचेतता
स्वास्थ्य भनेको धन हो । शरीर र मन स्वस्थ नभए कुनै पनि लक्ष्य हासिल गर्न सकिन्न । ध्यान, योग, व्यायाम, खेलकुदजस्ता गतिविधिहरूले शारीरिक फिटनेस कायम राख्न मद्दत गर्छ । फुटबल, क्रिकेट, बास्केटबल, ब्याडमिन्टनजस्ता खेलहरूले अनुशासन, टीम वर्क र धैर्यता सिकाउँछन् । ध्यान तथा योगले तनाव कम गर्छ, आत्मशुद्धि गर्छ, र मानसिक एकाग्रता बढाउँछ । त्यसले एसईईपछिको समय यी काममा पनि खर्च गर्न सकिन्छ ।
समयको सदुपयोग
समय भनेको सबैभन्दा ठूलो सम्पत्ति हो । जसले यसलाई सही रूपमा सदुपयोग गर्छ, उही सफल हुन्छ । अनावश्यक घुमघाम, मोबाइलमा घण्टौं बिताउने वा निरर्थक गफगाफ गरेर यो बहुमूल्य समय नष्ट गर्नु हुँदैन । समयलाई व्यवस्थित बनाउने तरिका सिक्नुपर्छ । विद्यार्थीहरूले आफ्नै लागि समय तालिका बनाउनु जरुरी छ । दैनिक के गर्ने, कुन विषयमा ध्यान दिने, कुन नयाँ सीप सिक्ने । यी सबै कुरा स्पष्ट योजनाअनुसार गर्नुपर्छ ।
अभिभावकको भूमिका
विद्यालयमा हुँदा विद्यार्थीहरू शिक्षकहरूको निगरानीमा हुन्थे, तर अहिले उनीहरू स्वतन्त्र छन् । यो बेला अभिभावकले विशेष भूमिका खेल्नुपर्छ । उनीहरूको सङ्गत कस्तो छ ? कहाँ–कहाँ समय बिताउँदै छन् ? के सिक्दै छन् ? अभिभावकले यी विषयमा ध्यान दिनुपर्छ । सही बाटोमा हिँडाउन अभिभावकको मार्गदर्शन आवश्यक हुन्छ ।
आफ्नो नानी बाबुको साथीसङ्गत, रहनसहनमा ध्यान पु¥याउनु पर्दछ । उनीहरूलाई व्यस्त बनाउन कुनै न कुनै सीप सिक्नका लागि पठाउनु पर्दछ । ता कि ऊ सधैँ व्यस्त होस् र कुलत र गलत साथीहरूको सङ्गतमा नलागोस् । त्यसैले एसईईपछि विद्यार्थीहरूलाई सही बाटोमा हिँडाउन अभिभावक बढी जिम्मेवार हुनु पर्दछ । एसईई परीक्षा सकेपछि विद्यार्थीहरूले यो समयलाई राम्रोसँग उपयोग गरे भविष्यमा धेरै फाइदा लिन सक्छन् । नयाँ सीप सिक्ने, रोजगारीका अवसर खोज्ने, समाजसेवा गर्ने, करियर योजना बनाउने जस्ता कार्यहरू गरेर विद्यार्थीहरूले आफ्नो व्यक्तित्व र क्षमताको विकास गर्न सक्छन् । समयको सही सदुपयोग गर्नसके भविष्य अझ उज्वल बनाउन सकिन्छ ।
अहिले सिक, भविष्य उज्यालो बनाऊ
एसईई परीक्षा सकिएपछि आउने खाली समय अवसरहरूको खानी हो । यसलाई खेर जान दिनुहुँदैन । नयाँ सीप सिक्ने, समाजसेवा गर्ने, काम गर्ने, भ्रमण गर्ने, स्वास्थ्यको ख्याल गर्ने र भविष्यको तयारी गर्ने गर्नुपर्छ । यी सबै कार्यहरू विद्यार्थीको जीवन उज्वल बनाउन कोसेढुङ्गा सावित हुनेछन् । मोबाइलमा मात्र हराउनु, अनावश्यक घुमफिरमा समय गुमाउनु या निष्क्रिय भएर बस्नु– यी सबै कार्यले दिमागलाई ‘डल’ बनाउँछ । बरु, समयको सही व्यवस्थापन गरेर आफ्नो क्षमता निखार्नेतर्फ ध्यान दिनु बुद्धिमानी हुनेछ । किनभने समय अहिले छ, अवसर अहिले छ, सिक्ने बेला पनि अहिले नै हो ।