नेपालमा गर्मीयामको सुरूवातसँगै देशका विभिन्न स्थानमा जङ्गल डढेलोका घटनाहरु दोहोरिन थालेका छन् । पछिल्ला वर्षहरुमा डढेलोको तीव्रता र प्रभाव झनै भयावह बन्दै गएको छ। यसले वातावरणीय सन्तुलन मात्र होइन, जीवजन्तु, मानव जीवन र सम्पत्तिमा पनि ठूलो क्षति पु¥याइरहेको छ। यस्तो अवस्थामा हामी सबैले सचेतता, सावधानी र साझा जिम्मेवारीका साथ डढेलो नियन्त्रणका उपाय अवलम्बन गर्न जरूरी छ।

नेपालको कुल भू–भागको झन्डै ४० प्रतिशत भाग वन क्षेत्रले ओगटेको छ। यी वनले जैविक विविधताको संरक्षण मात्र होइन, जलवायु सन्तुलन, पानीको स्रोत संरक्षण, औषधीय वनस्पति उत्पादनजस्ता अनेकौं फाइदा दिइरहेका छन् । तर, डढेलोका कारण प्रत्येक वर्ष लाखौं हेक्टर वन क्षेत्र नष्ट हुने गर्छ । कतिपय डढेलो प्राकृतिकरुपमा लागे पनि अधिकांश डढेलो मानवीय लापरबाही वा जानाजान गरिएका कार्यका कारण लाग्ने गरेका छन् ।

गाउँघरमा किसानहरुले खेतीपातीको बाँकी अवशेष हटाउन आगो बाल्दा नियन्त्रणबाहिर गई जङ्गलमा डढेलो फैलिन्छ। कतिपयले सिकारको आशामा आगो लगाउने र केही ठाउँमा घाँस उम्रनका लागि डढेलो लगाउनेजस्ता कार्यहरु अझै पनि भइरहेका छन्। यसरी गरिएको लापरबाहीले कहिलेकाहीँ ठूलो क्षति निम्त्याउने गर्छ, जसको असर वर्षौंसम्म देखिन्छ।

डढेलोका कारण वातावरणमा प्रदूषण बढ्छ, वन्यजन्तुको बासस्थान नष्ट हुन्छ, मानव बस्तीमा समेत आगो फैलन सक्छ। स्वास्थ्यमा असर पार्ने धुवाँ र कार्बन डाइअक्साइडजस्ता ग्यासहरु उत्सर्जन भई वायुमण्डलमा असर गर्छन् । जलवायु परिवर्तनलाई थप गति दिने यस्ता डढेलोले दीर्घकालीन असर पार्न सक्छ।

जङ्गल डढेलोको प्रतिकार्यमा सरकार, स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्ता समूह र सर्वसाधारण सबैको भूमिकालाई महत्वपूर्ण मान्नुपर्छ। सबै तहमा सचेतना फैलाउनु अत्यावश्यक छ। विद्यालयस्तरबाट नै जङ्गल संरक्षण र डढेलो नियन्त्रणसम्बन्धी पाठ्यक्रम समावेश गर्नुपर्छ। सामुदायिक वनका सदस्यहरुलाई डढेलो नियन्त्रणका लागि आवश्यक तालिम, उपकरण र सहजीकरणको व्यवस्था हुनुपर्छ। डढेलो लाग्ने सम्भावना भएका क्षेत्रहरुमा अग्नि–रेखा (fire-line) निर्माण, निगरानी टोलीको परिचालन र डढेलो रोक्ने प्रविधिको प्रयोग हुनुपर्छ।

हामी सबैको साझा उत्तरदायित्व हो— वनजङ्गलको रक्षा गर्नु। एउटा सानो गल्तीले ठूलो विपत्ति निम्त्याउन सक्छ भन्ने बोध गर्न जरूरी छ। यदि कसैले जङ्गलमा आगो देखे वा लापरबाहीपूर्वक आगो लगाइरहेको भेटेमा तुरून्त सम्बन्धित निकायलाई जानकारी गराउनु पर्छ। ‘सावधानीमा सुरक्षा’ भन्ने भनाइलाई आत्मसात गर्दै जङ्गल डढेलोबाट जोगिनु नै बुद्धिमानी हो।

अन्ततः जङ्गल हाम्रो सम्पत्ति हो— यसको रक्षा गर्नु हाम्रो कर्तव्य हो। प्रकृतिलाई नष्ट होइन, संरक्षण गर्न हामी सबै जुटौं। जङ्गल डढेलोको जोखिमबाट होसियार बनौं र हाम्रो वातावरणलाई हराभरा बनाऔं ।