दलहरुप्रति आजको नयाँ भाष्य–सबै भ्रष्ट हुन् । यो भाष्य जनताबाट निर्मित नभई राजनीतिक दल र तिनका कार्यकर्ताबाट निर्मित हो । सूचनाप्रविधिको यो युगमा यो सत्य ‘मल्टिप्लाई’ भइरहेको छ । यो सत्यको निर्माण राजनीतिक पार्टीहरुले नै गरेका हुन् । तर, अर्को सत्य के हो भने राजनीतिले नै यो देशलाई कायापलट गर्छ । राजनीति सुध्रिएन भने देशको अवस्था सुध्रिँदैन । आर्थिक अवस्था सुध्रिँदैन । आर्थिक वृद्धि हुँदैन, देशको कुल आम्दानी बढ्दैन । विकासको फड्को मार्दैन । राजनीति र राजनीतिक दल एक सिक्काका दुई पाटा हुन् । नेपालीहरु दुई सत्यलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बाध्यात्मक परिस्थितिमा छन् । कारण, जसले नेतालाई भ्रष्ट देख्छ । उसले एउटा सत्यलाई स्वीकार गरेर हिँडिरहेको छ । उसले नेता सबै खत्तम हुन्, यिनीहरु काम लाग्दैनन् । देशका निम्ति सोच्दैनन् । बरू राजा ठीक थिए भन्ने सोचबाट ग्रसित हुन थालेका छन् । अर्को सत्य स्वीकार गर्नेहरु नेताका पिछलग्गु, दलका कार्यकर्ताहरु छन् । खासमा यो सत्य चाहिँ आमनेपालीले विश्वास गर्नुपर्ने सत्य हो । दलका हुक्के, चिलिमेहरु यिनै नेताले देशलाई परिवर्तन गर्छन् भन्ने ठान्छन् । जादूको छडी बोकेका छन् भन्ने ठान्छन् । 

नेल्सन मण्डेला भन्छन्–‘जो जति बढी बोल्छ, उसले नै सबैभन्दा बढी गल्ती गर्छ ।’ अहिले हाम्रा नेताहरु नेल्सन मण्डेलाको यो कर्णप्रिय भनाइलाई अनुशरण गरिरहेका छन् । अर्थात् गल्ती गरिरहेका छन् । कामभन्दा बढी कुरा गर्ने प्रवृत्ति हाबी छ । सिन्को नभाँच्ने, कुरा मात्रै गर्ने प्रवृत्ति आमनागरिकमा स्थापित हुँदै गइरहेको छ । ‘राजा आऊ देश बचाऊ’ भन्ने नाराबाजी यसैको एउटा दृष्टान्त हो । यो चाहिँ नेताहरुले निर्माण गरिदिएको परिस्थितिको उपज हो । नियति हो । नेताहरु एवम् क्रमले सुध्रिँदै नजाने हो भने चाहिँ देश अन्यौलताको खाडलमा पस्ने निश्चित छ । देश ब्ल्याक होलमा प्रवेश गर्नेछ । यसले न त जनताको हित गर्छ न त नेताको नै । हामी दुई ठूला देशको बीचमा छौँ । अर्थात् दुई ठूला अर्थतन्त्र निर्माण गरिरहेको देशको बीचमा बसेर हामी पनि त्यही मार्गमा हिँड्नुपर्ने बाध्यात्मक अवस्था निर्माण हुँदैछ । विश्वलाई पुँजीवादले खाइरहेको छ । यो पुँजीवादमा नेपाल चाहेर नचाहेर फसिसकेको छ । 

यस्तो बेलामा देशका नेताहरुले कूटनीतिक तवरले समस्या समाधान गर्नुपर्ने अवस्था छ । नेपाली जनतामा जुन भाष्य निर्माण भइरहेको छ । अर्थात् एउटा सत्य स्थापित भइरहेको छ । तर त्यो सत्यलाई चिर्न नेताहरुले कुटनीतिक तवरबाट नै पाइला चाल्नुपर्ने देखिँदैछ । यी नेता सबै भ्रष्ट हुन् भन्ने सत्यलाई मेट्न सरकारले काम गर्नु पर्नेछ । जवाफदेही हुनु पर्नेछ । सुशासनको नारालाई प्रमाणित गर्नु पर्नेछ । तर, हाम्रा नेताहरुको चरित्र र कार्यशैली अहिले पनि उस्तै छ । अब हुने २०८४ को चुनावमा पनि कुनै पनि दलले बहुमत ल्याउने स्थिति छैन । फेरि देश गठबन्धनकै भरमा पर्नु पर्नेछ । त्योबेला जनताको आक्रोस झनै अर्को चरणमा प्रवेश गर्नेछ । यसलाई मत्थर गर्न संविधान निर्माणको १० वर्षमा अर्थात् २०८२ मा गम्भीर समीक्षा गर्ने भन्ने जुन विषय छ । त्यसमा यथोचित संशोधन गरेर जानुपर्ने स्थिति छ । प्रत्यक्ष र समानुपातिक व्यवस्थालाई टेकेर ज–जसले स्वार्थसिद्धि गरेका छन् । त्यसको अन्त्य नै पहिलो मुद्दा हो । 

नेताकै कारण जनआक्रोसको सीमा बढ्दै गइरहेको छ । दक्षिणपन्थीले टाउको उठाइरहेछ । नेताहरु सिन्को नभाच्ने, खालि सत्तोसराप गर्ने प्रवृत्ति नै जनतामा नैराश्यता सिर्जना गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले हालसम्म केही पनि उल्लेखनीय कार्य गरेको देखिँदैन । तर, प्रधानमन्त्रीको भाषणहरु सुन्दा यस्तो लाग्छ कि नेपालले कायापलट गरिरहेको छ । परिवर्तन भइरहेको छ । तर, जनताले सोध्न चाहिरहेका छन् । के हरेक वर्ष सार्वजनिक ऋण बढ्नु कायापलट हो ? के निर्यातभन्दा आयात बढ्नु कायापलट हो ? के आर्थिक वृद्धिदर खुम्चिनु कायापलट हो ? देशको कुल आम्दानी घट्नु कायापलट हो ? महँगी बढ्नु कायापलट हो ? कर्मचारीलाई तलबभत्ता खुवाउन ऋण लिनु कायापलट हो ? के चाहिँ हो कायापलट ? यस्ता आमप्रश्नको जवाफ नआएसम्म जनताले बुझ्ने पहिलो सत्य नै आजको वर्तमान अवस्था हो । खासमा दोस्रो सत्यलाई स्थापित गर्नु चाहिँ राजनेताको कर्तव्य हो । यो कर्तव्यबाट भने च्यूत भइरहेका छन् ।