धरान । आ–आफ्नो क्षेत्रमा योगदान गरेर चर्चित आँखा विशेषज्ञ डा. सन्दुक रुइत, उज्यालो अभियानका कुलमान घिसिङ र नेपाली वैज्ञानिक महावीर पुनको एकै स्थानमा ढुङ्गामा प्रतिमा देख्नेहरु निकै खुसी देखिन्छन् । धरान उपमहानगरपालिका–४ खैरेनीटारमा निर्माण हुँदै गरेको ‘ढुङ्गे कलापार्क’ मा उनीहरुको प्रतिमा बनेपछि घुम्न आउने पर्यटकहरुले घुमीघुमी हेर्ने गरेका छन् ।

डा. रुइत ‘इन्ट्राओकुलर लेन्स’ बनाई विश्वभर चर्चित छन् । यो लेन्स संसारमा सबैभन्दा सस्तो मानिन्छ । कुलमानले देशमा भएको १८ घण्टाको लोडसेडिङ अन्त्य गरेका थिए । यता वैज्ञानिक पुनले आफ्नै गाउँघरमा इन्टरनेटको विस्तार गरेका थिए । यिनीहरु अहिले नेपालीको मनमनमा बस्न सफल छन् । उनीहरुको प्रतिमा पूर्वका विभिन्न कलाकारहरुले निःशुल्क बनाइदिएका हुन् । धरानमा चलिरहेको श्रम अभियानअन्तर्गत नै कलाकारहरुले पनि निःशुल्क रुपमा ढुङ्गे कलापार्कलाई सहयोग गरेका हुन् । कलापार्क निर्माणका संयोजक पत्रकार भैरव आङ्ला भन्छन्, ‘यो पार्कमा स्थानीय सरकारको एक रूपैयाँ पनि लगानी छैन । सबैले निःशुल्क रुपमा श्रम खर्च गरिरहेका छन् ।’

धरान–४ मा बनिरहेकाले पार्कको मध्यभागमा वडा नम्बर ४ अङ्कित लोगो पनि बनाइँदै छ । यो ढुङ्गे कलापार्कको विशेषता भनेको सबै चिज ढुङ्गाले मात्रै निर्माण हुने संयोजक आङ्ला बताउँछन् । उनी भन्छन्, ‘यहाँ आंशिक सिमेन्ट प्रयोग गरे पनि अन्य कुरा प्रयोग हुँदैन । ढुङ्गाहरु मात्रैले बन्नेछ ।’ पार्कका लागि कलाकार नरेश राई थुलुङ, सुमन राई, टीकाराम पौडेल (शशीकिरण), योमन लिम्बू, दिलमान बेघा, असेस तिमिल्सिना, थम्बरसिंह लिम्बू, अनिल चाम्लिङ राई, विनोद राई, ध्रुवकुमार राई, शङ्कर बराइलीले निःशुल्क रुपमा श्रम खर्च गरेका छन् । 

गत पुस १२ गते पार्कको शिलान्यास गरिएको थियो भने केही समयभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको संयोजक आङ्लाले बताए । पार्कभित्र लिम्बू जातिको सिलामसाक्मा, राई जातिको वाबु निर्माण गरिने भएको छ । यो पार्कमा राई र लिम्बूको कला, संस्कृतिको फ्युजन हुनेछ । पार्कका लागि विभिन्न देशमा रहेका दाताहरुले सहयोग गर्दै आइरहेका छन् । ‘यसमा स्थानीय सरकारको एक रूपैयाँ पनि लगानी नगरी निर्माण गर्ने भन्ने योजना छ’ उनले भने, ‘अहिलेसम्म प्रधानमन्त्री स्वरोजगार योजनाअन्तर्गत केही लगानी भएको छ । त्यसबाहेक सबै विभिन्न देशमा रहेका दाताहरुको सहयोगले निर्माण भइरहेको छ । 

पार्कमा मूर्तिका लागि कलाकार रोजन राईले संयोजन गरिरहेका छन् । यस पार्कमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको पनि प्रतिमा राखिएको छ । श्रम अभियानअन्तर्गत श्रम गर्दै गरेको प्रतिमालाई अङ्कन गरिएको छ । ‘सामाजिक सञ्जालमा हालेका कारणले अहिले शनिबार त ४–५ सय मान्छेहरु हेर्न आउँछन्’ संयोजक आङ्लाले भने, ‘यसले गर्दा कलाकारहरुलाई डिस्टर्वसमेत हुने गरेको छ । के बनाउँदै गरेको भनेर सोधिदिँदा समस्या हुने गरेको छ ।’ निर्माण सम्पन्न भएपश्चात् भने धरानमा घुम्ने छुट्टै पर्यटकीय केन्द्र हुने विश्वास उनले लिएका छन् । अहिले दैनिकजसो उनी त्यहाँ पुग्छन् । धरानको भानुचोकबाट करिब दुई किलोमिटर पूर्वोत्तर रहेको यो पार्कले अबको एक सय दुई सय वर्षपछि प्रभाव पार्ने उनको विश्वास छ । ‘ढुङ्गाको महत्व अबको एक–दुई सय वर्षपछि हुन्छ’ उनले भने, ‘अहिले त मानिसलाई खासै वास्ता हुँदैन ।’

ढुङ्गे पार्कका लागि अहिले पनि दैनिक एकजना कलाकार नियमितरुपमा खटिन्छन् । कलाकारहरुले श्रम अभियानलाई साथ दिन निःशुल्क सहयोग गरेका हुन् । यो पार्क निर्माण सम्पन्न भए नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास संयोजक आङ्लाको छ ।

dhungaj