इटहरी । मोरङ सुन्दरहरैंचा–४ का रमिला घिमिरेले गत २०८० चैत १८ अघि आफूसँग भएको ९ धुर जग्गा स्थानीय साहुलाई बुझाएर सयकडा ५ का दरले ५ लाख रुपैयाँ ऋण लिइन् । २ वर्षदेखि सामान्य ज्यालामजदुरी गर्दै आएकी घिमिरेलाई यो पेसाले घरखर्च अपुग भएपछि छिमेकीको सल्लाहअनुसार विदेश जाने योजना बनाइन् र इटहरीको एक कन्सल्टेन्सीमा गएर सर्वियाका लागि २ लाख एड्भान्स बुझाइन् ।
काम पनि राम्रो, कमाइ पनि महिनाको १ लाख हुने लोभ देखाएको कन्सल्टेन्सीले भिसा दिन आनाकानी सुरु गर्न थालेपछि उनलाई शङ्का लाग्यो । आफ्नो एड्भान्स रकम र कागजात सबै फिर्ता मागिन् । कन्सल्टेन्सीले सबै प्रक्रिया पूरा गरेर एक हप्ताभित्र भिसा दिने नत्र रकम र कागजात फिर्ता गर्ने प्रतिबद्धता जनायो । उनी अब चैं बाहिर जाने भइयो भनी ढुक्क भइन् । तर १५ दिन बित्दा पनि न भिसा आयो, न त पैसा नै फिर्ता । कन्सल्टेन्सी सञ्चालक नै फरार भएको जानकारी पाएपछि आफू ठगिएको उनलेपत्तो पाइन् । रमिलाले गत २०८१ वैशाख ४ गते र २१ गते दुई पटक गरी दुईलाख रुपैयाँ बुझाएको बताइन् ।
घिमिरेजस्तै सुनसरी कालाबञ्जारका मनोज श्रेष्ठले पनि सर्विया जाने भनी श्रीमतीको गरगहना धितो राखेर कन्सल्टेन्सीलाई एड्भान्स स्वरूप २ लाख बुझाए तर दुई महिना बितिसक्दा पनि कन्सल्टेन्सीले कुनै चासो र खबर नराखेपछि उनी इटहरीस्थित कन्सल्टेन्सीको कार्यालय पुगे । ‘तपाईंको काम १५ दिनभित्रै भइहाल्छ’ भनेर झुलाउँदा झुलाउँदै सञ्चालक बेपत्ता बनेको समाचार पत्रपत्रिकामा समाचार छापिएपछि आफू ठगिएको थाहा पाए । उनले २०८० फागुन २५ गते कन्सल्टेन्सीमै पुगेर सो रकम बुझाएका थिए ।
यी माथिका घटना र जोडिएका पात्रहरू इटहरीस्थित इटुडब्ल्यु कन्सल्टेन्सी हो । उक्त कन्सल्टेन्सीले २ सय जनाभन्दा बढी सर्वसाधारणबाट २० करोडभन्दा बढी रकम ठगेर सञ्चालक बेपत्ता भएपछि पीडितहरू घर न घाटको बनेका छन् । पीडितमध्ये धेरैजसो अहिले कन्सल्टेन्सी सञ्चालकको खोजीका लागि इटहरी प्रहरी कार्यालय धाउँदै आएका छन् । गत २०८१ असारदेखि बेपत्ता बनेका कन्सल्टेन्सी सञ्चालक विक्रम बराइली हालसम्म बेखबर छन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बराइलीको खोजी भइरहे पनि अहिलेसम्म पत्ता लगोको छैन । ‘सम्बन्धित निकायहरूमा फोटोसहित पठाइसकेका छौँ हर सम्भव प्रयासमा जुटेका छाँै’–इप्रका इटहरीका प्रहरी प्रमुख डिएसपी लक्ष्मी भण्डारीले भने ।

पीडितहरूले फरार रहेका सञ्चालक बराइलीविरुद्ध वैदेशिक रोजगार विभाग, श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीमा मुद्दा दायर गरिसकेका छन् । पीडितहरूले गत असार ४ गते मङ्गलबार इलाका प्रहरी कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय सुनसरीमा ठगीसम्बन्धी उजुरी दर्ता गराएका हुन् । सञ्चालक फरार भएदेखि घिमिरे हप्तामा एकपटकजसो इटहरी प्रहरी कार्यालय आएर सोधी खोजी गर्ने गरेको बताउँछिन् । अहिले स्थानीय साहुले दैनिकजसो घरमै आएर पैसा माग्ने गरेको बताउँदै जिम्मा लगाएको ९ धुर जग्गा कसरी फिर्ता ल्याउने भन्ने चिन्ताले सताएको उनले बताइन् । उनी हाल एसियन राजमार्ग अन्तर्गत पुल निर्माणको साइडमा ज्याला मजदुरी गर्छिन् ।
घिमिरेजस्तै लेटाङका सरोज खत्री, सिरहाका शिव मुखिया, झापाका पारस नेपाल, इटहरीकी सरोजा दाहाल, मेनुका कार्की, सरिता श्रेष्ठ, मनिता सुब्बा, नेपालगञ्जका तारा भट्टराईलगायतले लाखौं रकम बुझाएर सञ्चालक बराइलीबाट ठगिएको बताएका छन् । बराइलीबाट ठगिएपछि आफूहरूको बिल्लीबाठ भएको पीडितहरूले बताएका छन् । स्थानीय साहुबाट चर्काे ब्याजमा ऋण लिएर कन्सल्टेन्सीमा बुझाएको तर भिसा आउँछ भन्दै सञ्चालक बराइली नै बेपत्ता बनेपछि आफूहरूको रकम डुबेको पीडितहरूको भनाइ छ ।
इटहरीमा सम्बन्धित निकायले चासो नदिँदा यस्ता अवैध कन्सल्टेन्सीहरूबाट ठगिने क्रम बढ्दो रहेको श्रम तथा रोजगार कार्यालय विराटनगरको तथ्याङ्कमा उल्लेख छ । विगत तीन वर्षयता इटहरीमा अवैध मेनपावर र कन्सल्टेन्सीबाट ५ अर्ब ९८ करोड ६६ हजार रकम ठगी भएको सो कार्यालयको तथ्याङ्कमा उल्लेख छ । विगत तीन वर्षमा कुल २६ हजार १ सय ९३ जना मेनपावर र कन्सल्टेन्सीबाट ठगिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत पुष्पराज कट्वालले बताए ।
अधिकृत कट्वालका अनुसार कन्सल्टेन्सीले रकम लिएर मान्छेहरूलाई कुनै पनि देशमा श्रमका लागि पठाउनै मिल्दैन । तर यहाँ मान्छेहरू आफै प्रलोभनमा परेर ठगिने गरेको उनको भनाइ छ । विगत तीन वर्षयता सुनसरी, मोरङ र झापाका २३ वटा कन्सल्टेन्सीलाई यस्तो काम नगर्न चेतावनी दिएको जसमा ९ वटालाई जरिबानासहित कारबाही गरिएको उनले बताए । इटहरीमा विगत ५ वर्षयता वैदेशिक रोजगारका सम्बन्धित शाखा र कन्सल्टेन्सीहरू खोल्ने क्रम बढ्दो छ । वैदेशिक रोजगार व्यवसायी सङ्घ सुनसरीका अनुसार इटहरीमा विभिन्न कम्पनीका २ सय २१ वटा मेनपावर शाखाहरू सञ्चालनमा छन् ।
तर कन्सल्टेन्सीको सङ्ख्या भने सङ्घमा नपरेकोले विवरण उल्लेख नगरेको वैदेशिक रोजगार व्यवसायी सङ्घ सुनसरीका पूर्व अध्यक्ष दुर्गा थापाले बताए । यता इटहरी उपमहानगरका प्रवक्ता दिवस पोख्रेलका अनुसार कन्सल्टेन्सीको यकिन सङ्ख्या आफूलाई पनि थाहा नभएको तर अधिकांश नियमनभन्दा बाहिर रहेको उल्लेख गरे । विद्यार्थीहरूलाई उचित परामर्श दिएर उच्चशिक्षाका लागि समन्वय गरेका देशहरूमा पठाउने काम कन्सल्टेन्सीको भए पनि पासपोर्ट र मोटो रकम लिएर वैदेशिक रोजगार विभागजस्तै काम गर्ने गरेकोले समस्या देखिएको प्रवक्ता पोख्रेलले बताए ।
नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि अन्तर्राष्ट्रियस्तरका कलेजहरूसँग समन्वय तथा सहकार्य गरी पठाउने काम कन्सल्टेन्सीको हो तर सम्बन्धित निकायले अनुगमन नगरिदिँदा सुनसरीको इटहरीलगायतका ठाउँहरूमा कन्सल्टेन्सीको नाममा ठगीधन्दा मौलाएको पाइएको छ ।