धरान । २०८१ साल भोलि (सोमबार) देखि सकिँदैछ । २०८१ साल मुलुकमा नाम चलेका व्यक्तिहरू अपराधमा मुछिएर जेल गएको घटनाले चर्चित बन्यो । ठूलो अपराधमा भिआइपीको संलग्नता यो वर्ष उच्च रह्यो । यो वर्ष ‘ठूला माछाहरू’ पक्राउ गरेर प्रहरीले सफलता पाएको छ । पछिल्लो एक वर्षभित्र देशका राजनीतिक, न्यायिक तथा सुरक्षासम्बन्धी क्षेत्रहरूमा केही यस्ता घटनाहरू सार्वजनिक भए, जसले राष्ट्रिय चासो मात्र होइन, व्यापक बहस पनि निम्त्यायो । 

पूर्वराजाको समर्थनमा भएको हिंसात्मक प्रदर्शन, सहकारी ठगी प्रकरण, बालमन्दिर जग्गा प्रकरणलगायतका अपराधका घटनामा ठूला नेताहरूको संलग्नता पाइयो ।

२०८१ वैशाख १३ गते रौतहट जिल्ला अदालतले एक दशकअघि भएको बम विष्फोट घटनामा संलग्न देखिएका पूर्वमन्त्री अफताव आलमसहित चार जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनायो । यो फैसलाले लामो समयदेखि न्यायको पर्खाइमा रहेका पीडित पक्षलाई न्याय मिलेको अनुभूति गराएको थियो ।

वैशाख २७ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर)को जग्गा दुरुपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्यो । सरकारी सम्पत्तिको दोहन र चलखेलमा उच्च तहका व्यक्तिहरूको संलग्नता रहेको भन्दै यस विषयले व्यापक ध्यान तान्यो ।

जेठ २ गते राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएको थियो । लामिछानेमाथि आरोप लागेपछि क्रिकेट क्षेत्र मात्रै होइन, आम जनमानसमा पनि ठूलो बहस भएको थियो । अदालतको फैसलापछि उनको अन्तर्राष्ट्रिय खेल जीवन पुनः सुरु हुने अपेक्षा गरिएको छ ।

पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोमबार मात्रै जिल्ला कारागार भैरहवा, रूपन्देही चलान भए । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका उनी अहिले भैरहवा कारागारमा पुर्पक्षमा छन् । यसअघि सहकारी ठगी प्रकरणमा १३ माघ २०८१ मा बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।तर, उक्त आदेशविरुद्ध सरकारी वकिल पक्ष र रवि आफै पनि उच्च अदालत बुटवल पुगेका थिए । 

सरकारी पक्षले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने माग गरेको थियो भने रविले धरौटीको आदेश खारेज गर्दै साधारण तारेखमा रिहा हुनुपर्ने माग गरेका थिए । उच्च अदालत गएका यी दुवै पक्षको निवेदन एकसाथ राखेर सुनुवाइ भएको थियो । जसमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले यसअघिको आदेश खारेज गर्दै पुर्पक्षका लागि कारागार पठाउने आदेश गरे ।  

सहकारी ठगीमै अर्का भीआईपी अहिले कारागारमै छन् । नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका छविलाल जोशीविरुद्ध विभिन्न पाँचवटा सहकारी ठगीमा अनुसन्धान भयो । चारवटा सहकारीको मुद्दा अदालत पुगिसकेको छ भने वीरगञ्जको सानोपाइला सहकारीको भने अनुसन्धान जारी नै छ ।

पोखराको सूर्यदर्शन सहकारी, कालिमाटीको स्वर्णलक्ष्मी र चितवनको सहारा चितवनमा धरौटीमा छुटेका उनी बुटवलको सुप्रिम सहकारीमा भने पुर्पक्षका लागि कारागार चलान भए ।

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि सहकारी ठगीमा जोडिइन् । तर उनलाई प्रहरीले पक्राउ गरेन । मुद्दा अदालतमा गएपछि सुटुक्क उनी अदालतमा उपस्थित भइन् र अदालतको आदेशअनुसार १० लाख धरौटी बुझाएर रिहा भइन् ।

कात्तिक २० गते गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङे (राजीव गुरुङ) लाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतले पाँच वर्ष कैदको सजाय सुनायो । लामो समयदेखि विवादित क्रियाकलापमा संलग्न देखिएका गुरुङविरुद्धको यो फैसला कानूनी दृष्टिले महŒवपूर्ण मानिएको छ ।

यस्तै चैत ५ गते काठमाडौँको टोखा क्षेत्रबाट प्रहरीले करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको थियो । यो घटना विदेशी मुद्राको अवैध कारोबारको सञ्जाल कति गहिरो छ भन्ने देखाउने अर्काे उदाहरण बन्यो । चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनपश्चात् फरार रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं चैत २९ गते पक्राउ परे । लामो समयदेखि विभिन्न विवादमा तानिँदै आएका प्रसाईं पक्राउको खबरले सामाजिक सञ्जालदेखि समाचार माध्यमसम्म व्यापक चर्चा पायो । उनलाई भारतको आसामबाट पक्राउ गरी ल्याइएको थियो । 

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्यविरुद्धका कार्य गरेको भन्दै राप्रपा सांसद् धवलशमशेर जबरा र वरिष्ठ नेता रवीन्द्र मिश्र पनि हिरासतमा छन् । पछिल्लो पटक उनीहरूविरुद्ध अनुसन्धानका लागि प्रहरीले १५ दिनको म्याद अदालतबाट लिएको छ ।

अर्का कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री तथा नेकपा (एमाले) का नेता लीलावल्लभ अधिकारी पनि यसै वर्ष प्रहरी हिरासत पुगे । कोशीको मन्त्री रहेकै बेला जापानमा मानव तस्करी गरेको आरोपमा उनी २६ कात्तिकमा पक्राउ परे । एमालेका नेतासमेत रहेका अधिकारीले कोशी प्रदेशको आन्तरिक मामिला मन्त्री रहेका बेला ३ जनालाई जापानमा मानव तस्करी गर्न खोजेको आरोप लाग्यो ।

पूर्वसांसद् रहेका ढाकाकुमार श्रेष्ठ लागूऔषधसहित पक्राउ परे । कास्की प्रहरीले उनलाई लागूऔषध बिक्री वितरणको आरोपमा पक्राउ गरेको थियो ।