सहरीकरणको नाममा विगतका दशकहरुमा भएका अव्यवस्थित विकास र अतिक्रमणले मुलुकका थुप्रै सहरहरुमा पर्यावरणीय समस्या निम्त्याएका छन् । तीमध्ये एक गम्भीर समस्या हो—पानीको प्राकृतिक निकास मार्ग, अर्थात् पैनी र कुलोहरुको विनाश । पैनी कुलोको अतिक्रमणले नयाँ विकसित सहरहरुले पर्यावरणीय समस्या भोगिरहेका छन् । इटहरी उपमहानगरपालिकाले हालै सुरू गरेको पैनी उत्खनन् अभियानलाई यसै सन्दर्भमा एक सकारात्मक र अनुकरणीय प्रयासका रुपमा लिन सकिन्छ । साना खोला, पैनी अतिक्रमण हुँदा ७ वर्षअघि आएको बाढीले ९ जनाको ज्यान गयो । करोडौंको सम्पत्तिको नोक्सान बेहोरेपछि स्थानीय सरकारले पाठ सिक्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ ।
वडा नं. ६ मा पहिचान गरिएका तीनवटा पुराना पैनीहरु सहरीकरणको अव्यवस्थित विस्तार र प्लटिङको चपेटामा परेका थिए । यिनै पैनीहरु कुनै समय सिँचाइका महत्वपूर्ण साधन थिए, जसले इटहरी क्षेत्रलाई उब्जाउ धान खेतको पहिचान दिएको थियो । तर, २०५३ मा नगरपालिका र २०७१ मा उपमहानगरपालिका बनेपछि ती प्राकृतिक निकास मार्गहरु क्रमशः हराउँदै गए । त्यसको प्रत्यक्ष परिणाम २०७४ सालमा आएको बाढी हो, जसले इटहरीको बासिन्दाको जनधनमा गम्भीर क्षति पु¥याएको थियो । आज विगतका गल्तीहरुलाई सच्याउँदै पुनः इतिहास फर्काउने प्रयास भइरहेको छ । इतिहासमा बगेका कुलो र पैनीहरुलाई पुनर्जीवन दिनुले अब इटहरीले डुबानको समस्या भोग्न नपर्ला कि भन्ने आशा गर्न सकिन्छ । यस कार्यबाट केवल डुबानको समस्या समाधान हुने मात्र होइन, समग्र वातावरणीय सन्तुलन कायम गर्न पनि मद्दत पुग्नेछ। यसले अन्य नगरपालिका र सहरी निकायहरुलाई पनि पुराना प्राकृतिक संरचनाको संरक्षण गर्न उत्प्रेरित गर्नेछ । समयमै यस्ता कार्यहरु भएनन् भने सहरी विकासको मूल्य जनधनको क्षतिमा तिर्नुपर्ने बाध्यता बढ्दै जानेछ ।
अतः अब आवश्यकता छ—यस प्रयासलाई निरन्तरता दिने, नीति तथा योजना निर्माणमा यस्ता संरक्षणलाई प्राथमिकता दिने र स्थानीय जनताको चेतना अभिवृद्धि गर्ने । पुराना गल्ती सच्याउँदै सही मार्गमा इटहरी उपमहानगरपालिका उन्मुख हुनु पर्दछ । अझ इटहरी विगतमा धान उत्पादनको उर्वरभूमि मानिन्थ्यो । त्यो इतिहासलाई कायम राख्न अब उपमहानगरपालिकाले आवासीय क्षेत्र र कृषि पकेटक्षेत्र छुट्याएर सहरी प्लानिङको कार्ययोजना ल्याउनु पर्दछ । विकसित कृषिप्रधान मुलुकहरुले कृषि उर्वर भूमि बचाएर कसरी सहरीकरण गर्छन् भन्ने उदाहरणहरु अध्ययन गरेर इटहरीको कृषिक्षेत्रको इतिहास बचाएर भव्य सहर बनाउन सकिने कुरालाई नेतृत्वले अध्ययन अनुसन्धान गर्न जरूरी छ ।