साना हतियार प्रहरीको मात्रै चुनौती नभई सबैका साझा चुनौती हुन् भन्ने बुझ्न ढिलाइ गर्नु हुन्न । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ मा जुन प्रकृतिको घटना घट्यो । यो घटना हाम्रो समाजभित्र लुकेर बसेको एउटा ज्वलन्त उदाहरणीय घटना हो । प्रहरीका अनुसार लेनदेनको विषयका कारण गोली प्रहार भएको भनिएको छ । सामान्य विषयमा यो किसिमको कार्य हुनु निन्दनीय मात्रै छैन । हाम्रो समाज कसरी अपराधीकरण भइरहेको छ भन्ने विषय पनि हो ।

अपराध र आपराधिक गतिविधि नियन्त्रणमा एक्लो प्रयास सम्भव हुँदैन । समाजका हरेक अङ्ग र हिस्साहरुले यसलाई निमिट्यान्न पार्नतिर लाग्नुपर्छ । देवानगञ्जमा शिवकुमार मेहता र रविनकुमार यादवमाथि भएको गोली प्रहारले सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ । यस्ता प्रश्नहरुमा प्रहरी कति जिम्मेवार र आम नागरिक कति जिम्मेवार भन्ने विषय पनि छ । एक्लो प्रहरीले मात्रै नियन्त्रण गर्न सक्दैन भन्ने हेक्का राख्ने हो भने समाज समुन्नत बन्न केही समय लाग्दैन ।

यो साझा समस्यालाई चिर्न समुदाय र प्रहरीमात्रै काफी होइन । यसका लागि अन्तरदेशीय छलफल र विमर्श हुनु जरूरी छ । यो देशदेशबीचको समस्या पनि हो । यसका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सक्रियता जरूरी छ । किनकि सार्कको उद्देश्यभित्र आतङ्कवाद र अपराधहरुलाई न्यूनीकरण गर्ने भन्ने छ । सार्क सन् २०१८ देखि निस्क्रिय छ । यसकारण पनि यस्ता मुद्दाहरु राम्रोसँग उठ्न सकेको छैन । सीमावर्ती क्षेत्रमा कडा निगरानी हुन नसक्ने, खुला सीमाना, भारतीय बजारमा सहजै रुपमा साना हतियार पाउने अवस्था नै साना हतियार चुनौतीको रुपमा छ ।

यस्ता चुनौतीहरु नौला होइनन् तर नियन्त्रण हुन नसक्नु चाहिँ गम्भीर विषय हो । यसमा प्रहरीले पनि आफ्नो सक्रियतालाई केही हदसम्म बढाउन जरूरी छ । साना हतियारको कारोबार सुनसरीमा सबैभन्दा बढी हुने गरेको विगतका अभिलेखहरुले पनि स्पष्ट पारेको छ । सुनसरी साना हतियारको लागि चुनौती नै छ । किनकि ७२ किलोमिटर खुला सीमा क्षेत्र रहेको र यहाँ थुप्रै खालका आपराधिक गतिविधि भएको विगतको दृष्टान्तले पनि त्यो देखाउँछ । लागूऔषध कारोबार पनि अन्यत्रको तुलना बढी छ । यसकारण पनि साना हतियारहरुको चलखेल यहाँ बढी नै हुने गरेको छ । 

साना हतियार तथा आपराधिक क्रियाकलाप पूर्णतः नियन्त्रणमा ल्याउनका लागि नागरिक पनि उत्तिकै सचेत बन्न आवश्यक छ । नागरिकमा चेतना, तालिम तथा सचेतना आवश्यक छ । प्रहरी पनि समाजकै एउटा हिस्सा हो । समाजमा अपराध न्यूनीकरणको जिम्मेवारी पाएको प्रहरीलाई आम नागरिकले सहयोग गर्नै पर्छ । मङ्गलबार रातिको घटनामा आम नागरिक पनि सचेत भएको भए यो समस्या चाँडै निराकरण हुने थियो । समाजमा अपराध बढ्नु भनेको नागरिकका लागि पनि चुनौती हो । समाजलाई सभ्य, सुसज्जित, शान्तिपूर्ण बनाउनका लागि सबैको उत्तिकै दायित्व छ ।