पाँचथर । वारिपारि चाँदी झैं टल्किएका सेता हिमाल, बीचमा चिल्ला डाँडा र खुल्ला चौर । चिसो बताससँगै चौरमा चरिरहेका रङ्गीबिरङ्गी चौरी । यो दृश्य शनिबार पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाल–भारत सीमावर्ती क्षेत्र चाररातेको हो । गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको छैटौं चौंरी महोत्सवमा आन्तरिक र वाह्य पर्यटकले मनोरञ्जन लिएका थिए । महोत्सवमा चौंरीसँग फोटो खिच्न र चौंरीको दूधबाट बनेका परिकारको स्वाद लिँदै थिए ।

गाउँपालिकाले पर्यटकीय क्षेत्रको वृद्धि र विकास गर्ने उद्देश्यले आठौं चांैरी महोत्सव सम्पन्न गरेको छ । चैत ३१ गतेदेखि वैशाख २ गतेसम्म फालेलुङ–४ स्थित चाररातेमा आयोजना भएको चौंरी महोत्सवमा पर्यटकीय क्षेत्रको चिनारीसँगै सयौंको सङ्ख्यामा चौंरी र याकको प्रदर्शनी, चौरी पालक कृषक सम्मान, याक नाच, चौंरीको दूधबाट बनेका परिकार, सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न भएको थियो ।

समुद्र सहतदेखि ३ हजार ४ सय ५० मिटरको उचाइमा अवस्थित चाररातेमा पाइने चौंरीगाई र तिनका प्रजातिको संरक्षणसँगै चौंरीजन्य उत्पादनहरूको प्रवर्धन र बजारीकरण गर्ने उद्धेश्यले बर्सेनि महोत्सव आयोजना गरिएको गाउँपालिका वीर विक्रम थाम्सुहाङले बताए । गाउँपालिका मुख्य प्रायोजक रहेको महोत्सवको आयोजना फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चौंरी पालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेको हो ।

शनिबार महोत्सवलाई उद्घाटन गर्न कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावतीलगायतका अतिथि चारराते पुगेका थिए । महोत्सवलाई सम्बोधन गर्दै मन्त्री मण्डलले चौंरीजन्य संस्कृतिको जगेर्ना तथा जैविक विविधताको संरक्षण गरी यसैमा आधारित पर्यटन विकासमा जोड दिए । उनले चौंरी पालकहरूले संस्कृति, परम्परा, वातावरण र जैविक विविधताको संरक्षणमार्फत् पर्यटकलाई आकर्षित बनाई आयआर्जन गरेको पाइएको र यसमा कोशी प्रदेश सरकारले थप लगानी गर्ने प्रतिबद्धता जनाए ।

विश्वमै लोपोन्मुख हुँदै गएको चौंरी पालन संस्कृतिलाई जगेर्ना गर्ने, चौंरीजन्य सामग्रीको बजारीकरणमा मद्दत गर्ने तथा चौंरी पालनलाई दिगो र व्यवस्थित गर्न बर्सेनि महोत्सव आयोजना गरिँदै आएको फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए । चौंरी पर्यटन महोत्सवको आयोजना हुन थालेपछि देश विदेशबाट यस क्षेत्रमा पर्यटकहरू आउने क्रम बढेको र यसले चौंरी पालकको अर्थोपार्जनमा मद्दत मिलेको थाम्सुहाङको भनाइ छ ।

अगुवा चौंरी पालक चन्द्रलाल नेपालका अनुसार चौंरी महोत्सवको आयोजनापछि पाँचथरका फालेलुङ र याङ्वरक गाउँपालिकामा रहेका चौंरी गोठबाट उत्पादित सामग्रीले बजार पाएका छन् । “महोत्सव हुनुपूर्व यहाँ चौंरी पालन छ भन्ने देश विदेशमा थाहा नहुँदा उत्पादित सामग्रीले बजार पाउन गाह्रो थियो” नेपालले भने, “अहिले चौंरीबाट उत्पादित छुर्पी, घिउ र चिजको माग धान्नै गाह्रो छ ।”

नेपालका अनुसार चौंरी पालकहरूले सीमावर्ती पर्यटकीय क्षेत्रमा रहेका गोठहरूबाट होटलको सेवासमेत दिँदै आएका छन् । यी होटलहरूलाई गोठबास (गोठ–स्टे) नाम दिइएको छ । गोठस्टेमा विशेषतः भारतीय पर्यटकहरू बढी मात्रामा आउने गरेका छन् । गोठ–स्टेका कारण पर्यटन विकास र पर्यटनमा आधारित रोजगारीमा वृद्धि भएको अर्का अगुवा चौंरी पालक शिल्पकुमार राईको भनाइ छ ।

चौंरी पर्यटन महोत्सवमा भारतको सिक्किमका कलाकारहरूले दुर्लभ मानिने याक नृत्य प्रस्तुत गरेका थिए । यस्तै पाँचथर र ताप्लेजुङका चौंरी पालक कृषकहरूको डोरी तान्ने प्रतियोगितासमेत सम्पन्न भएको छ । महोत्सवकै अवसरमा कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचारसमेत गरिएको थियो । महोत्सवमा भारतका पूर्वी क्षेत्रका सयौं पर्यटकहरू आएका थिए । पश्चिमबङ्गालको दार्जिलिङबाट आएका पर्यटक सुशील क्षेत्रीले चौंरीबारे बुझ्न र उच्च पहाडको आनन्द लिन महोत्सवमा आएको बताए । 

महोत्सवमा नेपालका विभिन्न जिल्लासँगै भारतको पञ्जाव, बेस्ट बङ्गाल, कोलकत्ता, भटान हुँदै विभिन्न मुलुकका आन्तरिक र वाह्य गरी दुईहजारभन्दा बढी पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा उत्कृष्ठ चौंरी पालकको सम्मान, चौंरी पालकबीच मैत्रीपूर्ण फुटबल, याक डान्स र हुर्तुक पड्काउने जस्ता कार्यक्रमसमेत सञ्चालन भएको थियो ।