धरान । नेपालमा ३५ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ । १५–१९ वर्ष समूहका १४ प्रतिशत किशोरी आमा वा गर्भवती बन्ने गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (२०२२) अनुसार परिवार नियोजन सेवाको कुल प्रयोगदर ५३ प्रतिशत भए पनि आधुनिक सेवाको प्रयोगदर ४२.८ प्रतिशत मात्र छ । अझै पनि प्रजनन् उमेरका २३.७ प्रतिशत महिलाले सेवा पाउन सकेका छैनन् ।
२० वर्षभन्दा कम उमेरमा विवाह रोक्न, परिवार नियोजनका साधनमा पहुँच पु¥याउन, सुरक्षित गर्भपतन सेवा विस्तार गर्न र यौन तथा प्रजनन् स्वास्थ्य चेतना अभिवृद्धिमा अझै प्रयास आवश्यक भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् ।
जन्मदर घट्दो र असुरक्षित गर्भपतन बढ्दो क्रममा रहेको पृष्ठभूमिमा परिवार योजना शिविरको साझेदारी मोडलले नयाँ आशा जगाएको छ । तर, लक्ष्यमा पुग्न अझ धेरै समन्वय, पहुँच विस्तार र चेतनामूलक अभियान अपरिहार्य रहेको उनको भनाइ छ ।

एमएसआई÷सुनौलो परिवार नेपालले वि.सं. २०८१/०८२ मा सम्बन्धित पालिकासँगका सहकार्यमा सातवटै प्रदेशलाई समेट्ने गरी २८ जिल्लाका दुर्गम तीन सय स्थानमा परिवार व्यवस्थापनअन्तर्गत बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो ।
शिविरमा महिला बन्ध्याकरण (१० हजार २ सय ३६) पुरुष बन्ध्याकरण (चार सय १ सय ८), परिवार नियोजनका इम्प्लान्ट (दुई सय १८) र आइयुसिडी २४ जनाले सेवा लिएका थिए । महिला बन्ध्याकरण अत्यन्त रुचाइएको छ भने पुरुष बन्ध्याकरण न्यून रुचाइएको पाइन्छ । यस्ता शिविरमा ३७ ले सुरक्षित गर्भपतन सेवासमेत लिएका थिए ।
स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य कार्यालयले सेवाग्राही पहिचान गर्ने र शिविरको व्यवस्था मिलाउने कार्य गर्छ भने सेवाप्रदायक संस्थाले सेवा प्रदान गर्छन् । समझदारीका आधारमा सेवा प्रवाहका क्षेत्रमा मन्त्रालयले सफलता मिलेको दाबी गरे पनि कम उमेरमा विवाह गर्ने, उमेर नपुगी आमा बन्ने क्रम ग्रामीणभेगमा घटेको छैन ।
सन्तानको रहर सकिएका दम्पतीहरूलाई लक्षित गर्दै मन्त्रालयले प्रत्येक वर्ष निःशुल्क एकीकृत परिवार योजना शिविर सञ्चालन गर्दै आएको छ ।