नेपालमा किशोरीहरुको विवाह दर अझै भयावह छ। ३५ प्रतिशत किशोरीले १८ वर्ष नपुग्दै विवाह गर्ने तथ्यले समाजको अन्धविश्वास र प्रचलित परम्पराहरुसँग लड्नुपर्ने आवश्यकता उजागर गर्दछ। १५–१९ वर्षका १४ प्रतिशत किशोरीहरु गर्भवती वा आमा बन्ने प्रक्रियामा छन्, जुन मात्र सामाजिक चुनौती होइन, स्वास्थ्य र शिक्षा क्षेत्रमा लामो समयसम्म पु¥याइने नोक्सानको सङ्केत पनि हो। यो तथ्याङ्कले कम उमेरमा विवाह गर्नु हुँदैन, सानै उमेरमा आमा बन्नु हुँदैन भनेर जनचेतनाका लागि गरेको लगानी बालुवामा पानी सरह भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको २०२२ को जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार, परिवार नियोजन सेवाको प्रयोग दर ५३ प्रतिशतमा पुगेको भए तापनि आधुनिक परिवार नियोजन सेवाको प्रयोग दर अझै ४२.८ प्रतिशतमा सीमित छ। यसले देखाउँछ भने धेरै महिलाहरु अझै पनि परिवार नियोजनसम्बन्धी स्वास्थ्य सेवाहरुबाट बञ्चित छन्। विशेषगरी प्रजनन् स्वास्थ्य र परिवार नियोजनका आधुनिक विकल्पहरुसम्मको पहुँच ग्रामीणक्षेत्रमा सीमित रहेको छ । ग्रामीण क्षेत्रका किशोरीहरु कम उमेरमा विवाह गर्ने र उमेर नपुगी बच्चा जन्माउने प्रवृत्ति मौलाएको छ । 

यद्यपि नेपालमा परिवार नियोजन र प्रजनन् स्वास्थ्यसम्बन्धी चेतनामा सुधारको लागि धेरै प्रयास नभएका पनि होइनन् तर यसको अपेक्षाकृत सुधार भएको छैन । एमएसआई र सुनौलो परिवार नेपालद्वारा सञ्चालन गरिएका बन्ध्याकरण शिविरहरु सञ्चालन गर्दै आएको छ । यी शिविरहरुले दुर्गम जिल्लाहरुमा महिला बन्ध्याकरणलाई प्रोत्साहित गरेको छ। तर यो पर्याप्त भने होइन । यी शिविरहरुले सीमित क्षेत्रमा मात्र असर पु¥याउन सक्छ, जबकि यस्ता सेवाहरुको पहुँच समग्र देशभरि विस्तार गर्न आवश्यक छ। प्रजनन स्वास्थ्यमा सुधार ल्याउने सरकारका उद्देश्यहरुमा अझै धेरै कार्य गर्न बाँकी छ। २० वर्षभन्दा कम उमेरमा विवाह रोक्न, परिवार नियोजनका साधनहरुको पहुँच विस्तार गर्न र यौन तथा प्रजनन् स्वास्थ्य चेतना अभिवृद्धि गर्न आवश्यक छ। विशेषगरी ग्रामीणभेगमा अझै पनि किशोरी विवाह र गर्भपतनका समस्या कायम छन् । 

सम्भावनाहरु यत्रा छन्, तर त्यसका लागि सरकारले निश्चित नीति र समन्वयको अवलोकन र कार्यान्वयनमा गति ल्याउन सकिरहेको छैन । यस्ता क्षेत्रमा सङ्घीय, प्रदेश र स्थानीय तहको सहकार्य अत्यन्त महत्वपूर्ण छ, ता कि परिवार नियोजन सेवाहरु प्रभावकारी ढङ्गले र सबै समुदायमा पु¥याउन सकियोस्। संवेदनशील समाज निर्माणका लागि किशोरी विवाह र सुरक्षित गर्भपतनका प्रवृत्तिहरुमा सकारात्मक परिवर्तन ल्याउन सामूहिक प्रयास आवश्यक छ। यो मात्र सरकारले गरेका स्वास्थ्य शिविर र योजनाहरुबाट सम्भव छैन, अपितु यौन र प्रजनन् स्वास्थ्यसम्बन्धी शिक्षा र चेतनाको व्यापक अभियानबाट मात्र नेपालका किशोरी र महिला जीवनको गुणस्तरमा सुधार ल्याउन सकिन्छ ।