धरान । कोशी प्रदेशका तराईका जिल्लाहरूमा ब्राउनसुगर (खैरो हिरोइन) को तस्करी बढेको छ । विदेशबाट ब्राउनसुगर गैह्रकानूनी रूपमा नेपाल ल्याइपु¥याउँदा महँगो मूल्यमा कारोबार हुने भएकोले भारतबाट नेपाल तस्करी बढेको पाइएको हो ।

पछिल्लो समय खुला सिमानाको फाइदा उठाउँदै कारोबारीहरूले ठूलो मात्रामा ब्राउनसुगर नेपाल भिœयाउँदै आएका छन् । विशेष गरेर झापा, मोरङ, सुनसरी, इलाम, उदयपुरलगायतका जिल्लाबाट प्रहरीले दैनिकजसो ब्राउनसुगर बरामद गरिरहेको छ ।

बिहीबार मात्र सुनसरीका विभिन्न स्थानमा प्रहरीले छापा मारेर ब्राउनसुगरसहित ११ जनालाई पक्राउ ग¥यो । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार विभिन्न समयमा प्रहरीले गरेको विशेष अपरेसनबाट ३५.२० ग्राम ब्राउनसुगरसहित  पक्राउ गरेको हो ।

पछिल्लो समय कोशी प्रदेशका विशेषगरी तराईका जिल्लाहरूबाट ब्राउनसुगरसहित पक्राउ गर्नेको सङ्ख्या बढेर गएको छ । प्रहरीले ठूलो परिमाणमा ब्राउनसुगर बरामदसमेत गरेको छ ।

२०७९ सालयता ६ केजी ब्राउनसुगर बरामद
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७९÷०८० देखि गत चैत १५ गते सम्ममा ६ केजी ४ सय २८ ग्राम १ सय ५५ मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । आ.व. २०७९÷०८० मा २ केजी ७९ ग्राम ८ सय ४९ मिलिग्राम, आ.व. २०८०/०८१ मा ३ केजी ८ सय ८९ ग्राम ३ सय ४९ मिलिग्राम बरामद भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आ.व. २०८१/०८२ चैत १५ गतेसम्म २ केजी ४ सय ५८ ग्राम ९ सय ५७ मिलिग्राम बरामद गरेको छ । हाल प्रहरीले नियमितरूपमा ब्राउनसुगर बरामद गरिरहेको छ । तथ्याङ्कअनुसार यो आर्थिक वर्षको अन्त्यमा ४ केजीभन्दा बढी बरामद हुने अनुमान प्रहरीको रहेको छ ।

तथ्याङ्क हेर्दा प्रत्येक वर्ष ब्राउनसुगर बरामदको मात्रा बढेर गएको देखिन्छ । यसले  कोशी प्रदेशमा ब्राउनसुगरका प्रयोगकर्ता र कारोबारी बढेको सङ्केत गर्दछ । सबै भन्दा बढी झापाबाट बरामद भएको छ । झापामा साउनयता १ केजी ४ सय १८ ग्राम ६ सय १० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । आ.व. २०८०÷०८१ मा २ केजी १ सय १८ ग्राम १ सय ९७ मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । त्यसपछि मोरङ र सुनसरीमा बढी कारोबार भएको देखिन्छ । पहाडी जिल्ला खोटाङ, तेह्रथुम, ओखलढुङ्गा र सोलुखुम्बुमा भने कारोबार शून्य रहेको छ ।  

तीन वर्षमा ४ हजार पक्राउ, २७ सय मुद्दा दर्ता
कोशी प्रदेशका १४ जिल्लामा तीन वर्षको अवधिमा ब्राउनसुगर कारोबारमा संलग्न भएको आरोपमा ४ हजार ८० जना पक्राउ परेका छन् । २ हजार ७ सय ३३ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख छ । साउनयता चैत १५ सम्म एक हजार ३ सय ३७ जना पक्राउ परेका छन् । सबैभन्दा बढी मुद्दा दर्ता र पक्राउ सुनसरी, मोरङ र झापा नै रहेको छ । सोलुखुम्बु र ओखलढुङ्गामा भने ब्राउनसुगर कारोबारी मुद्दा दर्ता शून्य रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

ब्राउनसुगर विश्व बजारमा उच्च गुणस्तरको र महँगो लागूऔषधमध्येमा पर्दछ । तस्करी गरी ब्राउनसुगर नेपाल ल्याइपुर्याउँदा महँगो मूल्यमा कारोबार हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । ब्राउनसुगरको तस्करीमा लागेका गिरोहले नेपालको पूर्वी सहरमा ल्याएपछि ‘डोज’ को हिसाबले बिक्री गर्दछन् । एक ग्राम ब्राउनसुगरको ४० डोज बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

विभिन्न समयमा प्रहरी छुट्टाछुट्टै प्लाष्टिकको प्याक बनाएको अवस्थामा बरामदसमेत गर्दै आएको छ । भारतबाट पूर्वका सीमानाका नजिकका सहरहरूमा ल्याएपछि प्रतिडोज ३ हजारदेखि ५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको बताइएको छ । गिरोहले भारतमा प्रतिग्राम ४ देखि पाँच हजार रुपैयाँसम्म ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूले ल्याएको ब्राउनसुगर विराटनगर, बिर्तामोड, इटहरी, धरानलगायतका सहरदेखि काठमाडौंसम्म पुग्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

काँकडभिट्टा नाका ब्राउनसुगरको ‘ट्रान्जिट पोइन्ट’
ब्राउनसुगर तस्करी गर्ने गिरोहले झापाको काँकडभिट्टा नाका सुरक्षित मान्दै आएका छन् । प्रहरी तथ्याङ्कमा पनि झापामा बढी बरामद र पक्राउको विवरण रहेको छ । काँकडभिट्टा नाका ब्राउनसुगरको ट्रान्जिट पोइन्ट बन्दै गएको बताइएको छ । त्यससँगै कोशी प्रदेशका भारतीय सीमानाका विराटनगरको जोगवनी, सुनसरीको भन्टाबारी र इलामको पशुपतिनगरबाट ब्राउनसुगरको कारोबार हुँदै आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता तथा एसएसपी भीम दाहालले बताएका छन् ।

युवाहरू जोखिममा
प्रहरीको रिपोर्टअनुसार लागूऔषधको कारोबार प्रयोगकर्तामा बढी युवा उमेर समूहका रहेका छन् । १८ देखि ४० वर्ष उमेर समूहका लागूऔषधको कारोबार र प्रयोगकर्ता बढी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमा यही उमेर समूहका बढी रहेका छन् ।

सचेतना कार्यक्रम भए पनि कारोबार भने घटेको छैन
प्रहरीले लागूऔषध न्यूनीकरण तथा नियन्त्रणका लागि प्रदेश र जिल्लामा ब्युरो नै खडा गरेर काम गर्दै आएको छ । प्रदेश सरकारको सहकार्यमा सचेतना कार्यक्रम पनि गरिरहेको छ । एसएसपी दाहालका अनुसार इन्स्पेक्टरको नेतृत्वमा ब्युरो र इन्स्पेक्टरकै नेतृत्वमा प्रदेश अनुसन्धान समूह (पिआइटी) बनाएर लागूऔषध नियन्त्रणमा काम गरिरहेको छ । तर लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ र बरामदको ग्राफ झन्झन् बढेर गएको छ । कोशी प्रदेश प्रहरी प्रमुख हालै एआइजी भएका राजन अधिकारी बरामद र पक्राउ सङ्ख्या बढेको भन्दा पनि प्रहरी सक्रियता बढेको बताउँछन् । प्रदेशमा अभियान नै चलाएर लागूऔषध नियन्त्रण थालिएकाले बरामद विवरण बढेको उनको भनाइ छ ।

प्रहरीले जिल्लाहरूमा लागूऔषधविरुद्धको सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । ‘हामीले स्कुलमा अध्ययनरत युवा विद्यार्थीहरूमाझ पनि अभियान सञ्चालन गर्दै आएका छौं । लागूऔषध ओसार–पसारमा प्रहरीले निगरानी बढाएको छ । भारतीय नाकाहरूको निगरानीदेखि ओसार–पसार र कारोबार हुने नेपालका नाकाहरूमा उच्च निगरानी गर्दै आएका छौँ’ एआइजी अधिकारीले भने, ‘मुख्य चुनौतीको पहिचान गरी उत्पादन, तस्करी प्रवृत्ति र ट्रेनको पहिचान गरी निगरानी बढाएका छौँ ।’ प्रहरीले लागूऔषध प्रयोगकर्ताहरूलाई पनि सचेत गराउँदै आएको छ ।

कस्ता व्यक्तिले ब्राउनसुगर प्रयोग र तस्करी गर्छन् ?
प्रहरीको तथ्याङ्क र उनीहरूको भनाइ अनुसार नेपालमा ब्राउनसुगर तस्करी बढेको छ । ब्राउनसुगर हाइप्रोफाइल भएका लागूऔषध दुव्र्यसनीहरूले प्रयोग गर्दै आएका छन् । नियमित आफ्नो ‘डोज’ पूरा गर्न केही युजरहरूले पनि यसको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विशेष गरेर ठूला तस्करहरूले यसको ओसार–पसार गर्दै आएका छन् ।

कारोबारीलाई के सजाय व्यवस्था छ ?
निकै महँगो मानिने ब्राउनसुगर वा कोकिनमा अन्य लागूऔषधको तुलनामा कडा कानूनी सजायको व्यवस्था छ । तर यसको कारोबार भने दिनदिनै बढेर गएको छ । २५ ग्रामभन्दा कम भेटिएको अवस्थामा ५ देखि १० वर्षसम्म जेल सजाय हुनसक्छ ।

एक सय ग्रामभन्दा बढी भेटिएको खण्डमा १५ वर्षदेखि जन्मकैदसम्मको सजायका साथै ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिबाना हुने कानूनी व्यवस्था छ । यस्तै अफिम, कोका वा सोबाट बनेको लागूऔषधको सेवन गर्नेको हकमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ । तर चिकित्सा केन्द्रमा तीन महिनासम्म उपचार गराउने गरी जिम्मा लिने व्यक्ति वा संस्थाले कागज गरिदिएमा १५–१५ दिनमा चिकित्सा केन्द्रबाट उपचार गराइरहेको जानकारी पेश गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्ता व्यक्तिलाई सजाय गर्नसक्ने व्यवस्था पनि कानूनमा छ । यसबाहेक लागूऔषध मुद्दामा कैद छुटको व्यवस्था हुँदैन ।

गाँजा, चरेस र मनोद्वीपक पदार्थ (फर्मास्युटिकल ड्रग्स) का सेवनकर्ताहरू बढिरहेको नेपालमा पछिल्लो समय ब्राउनसुगरको कारोबारले व्यापकता पाइरहेको विभिन्न तथ्याङ्कले देखाउँछन् । प्रहरीका अनुसार नेपाली प्रयोगकर्ताले ब्राउनसुगर प्रतिग्राम ८ देखि १० हजार रुपैयाँसम्ममा खरिद गर्ने गरेका छन् ।

ब्राउनसुगरको गाँजासँग कनेक्सन
कोशी प्रदेशमा गाँजाको कारोबार पनि बढेर गएको छ । प्रदेशका विभिन्न नाकाहरूबाट भारत लैजाँदै गर्दा प्रहरीले दैनिकजसो गाँजा बरामद गर्दै आएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा १० हजार ४ सय २० केजी गाँजा विभिन्न जिल्लाबाट प्रहरीले बरामद गरेको छ ।  चालु आ.व.को चैत १५ सम्म ९ हजार ९ सय ७० केजी गाँजा बरामद भएको प्रदेश प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आर्थिक वर्ष सकिन ४ महिना बाँकी छँदै गत आ.व.को हाराहारीमा यो वर्ष गाँजा बरामद भएको प्रहरी प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिएका छन् ।

अवैध कारोबार र लागूऔषध नियन्त्रणका लागि प्रहरीले अभियान नै चलाएर काम गरेकाले ठूलो मात्रामा गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दाहालले जानकारी दिए । उनका अनुसार लागूऔषध कारोबारमा आ.व. २०८०÷०८१ मा  विभिन्न जिल्लामा एक हजार ९३ वटा मुद्दा दर्ता भएका छन् । ९४ महिलासहित  एक हजार ५ सय ८६ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै गत साउनदेखि फागुन १५ गतेसम्म ८ सय ५० वटा मुद्दा दर्ता भएका छन् भने ६७ महिलासहित एक हजार २ सय ८४ जना विभिन्न जिल्लाबाट पक्राउ गरेको एसएसपी दाहालले बताए ।

यी परिमाणको गाँजा भारततिर लैजाँदै गर्दा प्रहरीले बरामद गरेको हो । नेपालबाट गाँजा भारत लैजाने र उक्त गाँजा बिक्री गरी ब्राउनसुगर खरिद गरी ल्याउने गरेको पक्राउ गरेकाहरूबाट खुलेको प्रहरीको भनाइ छ । नेपालमा पनि लागूऔषध प्रयोगकर्ताहरूको ‘स्ट्याण्डर’ बढेर गएको छ । पछिल्लो समय महँगो लागूऔषधको प्रयोग बढेको प्रहरीको भनाइ छ ।

गाँजाका भोगीहरू ब्राउनसुगरका दुव्र्यसनी
नेपालमा लागूऔषध नियन्त्रण ऐन २०३३ आउनुअघि गाँजा र अफिमको व्यावसायिक खेती हुने गथ्र्यो । विदेशीहरू नेपालमा लागूऔषध सेवन गर्न आउँथे । त्यसो त अहिले पनि अवैधरूपमा गाँजा र अफिमको खेती भइरहेकै छ । त्यसबेला भने वैधानिक थियो । पूर्वका धनकुटाको तल्लो भेग, भोजपुरको तल्लो भेग, उदयपुरको माथिल्लो भेग, खोटाङको तल्लो भेगमा  लुकिछिपी गाँजाखेती हुने गरेको छ । 

पश्चिमका रुकुम, रोल्पा, बझाङलगायत जिल्लामा लुकिछिपी गाँजाखेती हुने गरेको अनुसन्धानहरूबाट देखिएको छ । यसैगरी अफिमको खेती मकवानपुर, रुकुम, डोटी, बझाङमा हुने गरेको छ । नेपालमा उत्पादन हुने गरेको अफिम कतिपय भारत पुग्ने गरेको छ । ब्राउनसुगर तयार गर्न अफिम आवश्यक हुन्छ । त्यही अफिमबाट बनेको ब्राउनसुगर नेपाल भित्रिँदै आएको छ । नेपाल आउने ब्राउनसुगर भारतमा तयार हुने प्रहरीको भनाइ छ । 

भारतमा औषधिका रूपमा अफिमको व्यावसायिक खेती हुने गर्छ । खुला सीमा भएकाले त्यहाँ बन्ने लागूऔषध सहजै नेपाल भित्रिन्छ । लागूऔषध दुव्र्यसनीले सुरुमा गाँजा सेवन गर्ने र त्यसपछि कडा किसिमको लागूऔषध खोज्दै जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । गाँजाको कारोबार गरेको पाइए बरामद परिमाणअनुसार तीन महिनादेखि १० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ । सेवनकर्ताको हकमा मात्र अलग्गै सजायको व्यवस्था छ ।

सहज आपूर्ति, बेग्लै आनन्द र पैसासमेत मनग्य कमाइ हुने लोभमा दुव्र्यसनीहरू गाँजा सेवन हुँदै ब्राउनसुगरतिर पुगेको अनुसन्धान अधिकारीहरू बताउँछन् । अनुसन्धानकर्ताका अनुसार ‘गाँजाले झुम्म बनाउँछ रे । ब्राउनसुगरले भने एक्टिभ, फूर्तिलो बनाएको महसुस हुन्छ रे ।’ 

एक ग्रामलाई नै ८–१० हजार रुपैयाँ पर्ने भएकाले पक्राउ परेका प्रायःलाई कारोबारी मुद्दामा लैजाने गरिएको प्रहरीको भनाइ छ । ब्राउनसुगरको लागूऔषध मुद्दामा कारोबारी देखिए एक मिलिग्राम बरामद भए पनि कम्तिमा ५ वर्ष कैद हुन्छ । त्यसैले कारोबारीहरूले पक्राउ परिहाले अदालतमा आफू प्रयोगकर्ता मात्र भएको बयान दिन्छन् ।