कोशी प्रदेशको तराई जिल्लाहरुमा कडा खालका लागूऔषधहरुको कारोबार निकै फस्टाएको छ । नेपालमा महँगो मूल्यमा बिक्री गर्न पाइने भएकाले पनि यसको कारोबारमा वृद्धि भएको हो । विशेषगरी खुला सीमाको फाइदा उठाउँदै तस्करहरुले कडा खालका लागूऔषध ब्राउनसुगरहरुको कारोबार गर्ने गरेका छन् । विशेषगरी झापा, मोरङ, सुनसरी, उदयपुर, इलामलगायतका जिल्लामा यसको कारोबार बढेको प्रहरी बताउँछ । प्रत्येक दिन केही न केही परिमाणमा ब्राउनसुगरलगायत लागूऔषधहरु नियन्त्रणमा लिँदै आएको छ तर पनि यथेष्ट देखिँदैन । बिहीबार मात्रै सुनसरीका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको थियो । यो त एउटा उदाहरण मात्रै हो । यसरी दैनानुदिन पक्राउ पर्नेको सङ्ख्या गनेर साध्य छैन । 

प्रहरीको आँकडाले भन्छ–तीन वर्षमा ६ केजीभन्दा बढी ब्राउनसुगर बरामद भइसकेको छ । कोशी प्रदेशमा मात्रै यो परिमाणमा ब्राउनसुगर पक्राउ पर्नु निकै नै खतरनाक मान्नुपर्छ । यो त पक्राउको परिमाण हो । अझै पक्राउ नपरेको परिमाणहरुको अवस्था झनै भयावह हुन सक्छ । लागूऔषध प्रयोगकर्ताहरु दिनानुदिन बढ्नुले लागूऔषधको अवस्था कस्तो छ भन्ने प्रमाणित गर्दछ । तीन वर्षमा चार हजारजना पक्राउ परेको देखिन्छ भने २७ सयमाथि मुद्दा दर्ता भएको अवस्था छ । कोशी प्रदेशका १४ जिल्लाबाट यो मात्रामा मानिसहरु पक्राउ पर्नु राम्रो सङ्केत होइन । हाम्रा युवाहरुको भविष्य कसरी अन्धकारतिर गइरहेको छ भन्ने यस तथ्याङ्कले देखाएको छ । 

प्रहरीको रिपोर्टअनुसार लागूऔषध प्रयोग गर्ने र कारोबार गर्नेमा सबैभन्दा बढी युवा उमेर समूहका छन् । विशेषगरी १८ देखि ४० वर्ष उमेरसमूहकाहरु कारोबार र प्रयोगमा संलग्न छन् । प्रहरीले नै पनि विगतको तुलनामा केही मात्रामा लागूऔषध कारोबार तथा ओसारपसार बढेको बताएको छ । प्रहरी सक्रियताका कारणले पनि पक्राउको सङ्ख्या बढेको देखिएको प्रहरीले बताउँदै आइरहेको छ । तर, यथार्थमा त्यस्तो तथ्याङ्क देखिन्छ त भन्ने विषय चाहिँ महत्त्वपूर्ण हो । ओसारपसारको मात्रा बढ्नुले युवाको भविष्य थप अँध्यारोतर्फ धकेलिँदै छ । यसका लागि नागरिकस्तरमा सचेतना आवश्यक छ । राज्यले यसका लागि गतिलो नीति अख्यितार गर्नै पर्छ । विशेषगरी खुला सीमालाई भारतसँगको सहकार्यमा पर्खाल वा बेराबाराको व्यवस्था गरिनुपर्छ । यसले देशको सुरक्षालाई पनि अगाडि बढाउन मद्दत गर्दछ । यसका लागि राज्यले नै पहल गर्नुपर्छ । तीनतिर भारतको सीमा नाका पर्छ । यो हाम्रा लागि सबैभन्दा चुनौती हो । यो चुनौतीको समाधान राज्य तहबाटै हुनुपर्छ । यतातिर राज्यको ध्यान जाओस् । युवाशक्ति बर्बाद गर्ने हैन, सदुपयोग गर्नेतर्फ राज्यले सोचोस् ।