विराटनगर । ताप्लेजुङमा नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण चार जनाको अकालमा ज्यान गएको छ ।
सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा चालकसहित तीन यात्रुको मृत्यु भएको हो ।
सोमबार बिहान पाथीभरातर्फ जाँदै गरेको मे.१ ज ३०११ नम्बरको जीप पाथीभरा क्षेत्रको सेवारो चोकमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएपछि आगलागी र दुर्घटना भएको थियो । दुर्घटनामा चालक ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई, यात्रुहरू ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेलको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम दाहालले बताए ।
यस घटनामा ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सबिना आचार्य गम्भीर घाइते भएकी छन् भने उनको १० वर्षीय छोरा भबिमय आचार्य पनि घाइते छन् । घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको छ ।
प्राधिकरणको उडन्ते जवाफ
विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख सुरेशप्रसाद चौधरीले आइतबार रातिको वर्षा र चट्याङले तारको पिन फुटाएका कारण तार लत्रिएको दाबी गरेका छन् । ‘चट्याङले हुनसक्छ, तारको पिन फुटाएको रहेछ’ उनले भने, ‘हामीले पहिल्यै थाहा पाएनौं । बिहानै यस्तो दुर्घटना भयो ।’

नेपाल विद्युत् प्राधिकरणका कोशी प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले भने घटनालाई ‘दुर्घटना’ भन्दै प्राधिकरणको यसमा कुनै दोष नरहेको दाबी गरेका छन् । उनले घटनाका लागि प्राकृतिक कारणलाई जिम्मेवार ठह¥याए । ‘हिजो राति त्यहाँ हावाहुरी र चट्याङसहित पानी परेको रहेछ, चट्याङले बिजुलीको पोलमा फलामे पिनमा अल्झाएर राखिने तारलाई च्यानलबाट तल झारिदिएछ’ ठाकुरले भने, ‘बिजुलीको पोलमा त्यसरी तार राखेको ठाउँमा माटोको डल्लो पनि राखिएको हुन्छ । चट्याङले पहाडी इलाकामा त्यो डल्लो फुटाइदिन्छ । हिजो पनि फुटायो अनि तार च्यानलभन्दा तल खस्यो ।’
पोलको च्यानलबाट तल झरेको तार यदि जमिनमा छोइएको भए त्यसले ‘फिडर ट्रिप’ हुन्थ्यो । ‘यसको अर्थ त्यो पोलमार्फत् प्रवाह हुने ठाउँमा विद्युत् अवरुद्ध हुन्थ्यो । त्यसरी बत्ती गएको भए प्राधिकरणका कर्मचारी समस्या खोज्न निस्कन्थे । तत्कालै समाधान भइहाल्ने थियो’ उनले भने ‘तर, तार हावामा लत्रिएको रहेछ, भुइँमा छुनै पाएन । त्यसो हुँदा बत्ती पनि गएन । प्राधिकरणलाई केही थाहै भएन । बिहान हिँडेको गाडीले छुँदा मात्रै तार झरेको थाहा भयो ।’
नियमित अनुगमनको अभाव
स्थानीयहरूका अनुसार प्राधिकरणले नियमित अनुगमन र मर्मतसम्भारमा चरम् लापरबाही गरेका कारण ताप्लेजुङ क्षेत्रमा विद्युत्का पोलहरू जताततै विद्युतीय धरापजस्ता देखिन्छन् । धेरै पोलहरू ढल्किएका छन् भने कतिपय ठाउँमा अझै पनि तार लत्रिएको अवस्थामा रहेका छन् ।
विद्युत् प्राधिकरणले जडान गरेका धेरै पोल र तारहरू सुरक्षा मापदण्डअनुरूप नभएको भन्दै सोमबार बसेको बैठकमा स्थानीयले बताएका छन् । पहाडी जिल्लाहरूमा चट्याङ र हावाहुरी सामान्य हो, त्यसैले विद्युत् संरचनाहरू तदनुसार डिजाइन र मर्मतसम्भार गरिनुपर्ने स्थानीय बताउँछन् । यो घटना विद्युत् प्राधिकरणको लापरबाहीको पहिलो उदाहरण होइन । विगतमा पनि विभिन्न ठाउँमा यस्ता दुर्घटनाहरू भएका छन्, तर प्राधिकरणले कहिल्यै जिम्मेवारी नभएको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा बसेको छलफलमा स्थानीयले गुनासो राखेको फुङ्लिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझाले बताइन् ।
असजिलो सडक पनि कारक
फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्मको सडक कालोपत्रे छ । सुकेटारदेखि काफ्लेपाटीसम्मको सडक खण्डमा ट्रयाक खुलेको डेढ दशक पुगिसकेको छ । त्यसअघि यात्रु सुकेटारबाटै पैदल यात्रा गरी पाथीभरा माताको दर्शनमा जाने गर्थे ।
सडक ट्रयाक खुलेपछि यात्रा केही सहज बनेको थियो । तर, ट्रयाक खुलेको लामो समयसम्म सडक स्तरोन्नति र कालोपत्रे गर्न नसक्दा यात्रुहरूलाई सास्ती दोहोरिएको मात्र छैन, दुर्घटना निरन्तर बढ्दो क्रममा छ ।
ठेक्का लागेको तर ठेकेदारको बेवास्ताका कारण सडक अलपत्र रहेको बताउँछन् । राज्यले जति प्राथमिकता दिएर काम गराउनुपर्ने हो, त्यो गरेको देखिँदैन । यत्रो प्रसिद्ध धार्मिकस्थल जाने बाटो वर्षौंदेखि असजिलो मात्र होइन, ठूलो दुर्घटनाका जोखिम हुँदासमेत सम्बन्धित निकायले चासो नलिनु विडम्बना हो ।
सुकेटार–काफ्लेपाटी सडक कालोपत्रे गर्न कन्टेक प्रा.लि.ले ठेक्का पाएको थियो । यो सडक–खण्ड ७ मिटर चौडाइसहित कालोपत्रे गर्ने योजना छ । आयोजनासँग पुस २०७८ मा सम्झौता भएको थियो । निर्माण कम्पनीसँगको सम्झौताअनुसार काम भएको भए असार २०८० मै आयोजनाको काम सक्नुपर्ने थियो । तर, अहिलेसम्म सडक कालोपत्रे भएको छैन । राज्यले पनि खोजी गरेको छैन । हिउँदयाममा धुलो र वर्षायाममा हिलोका कारण पाथीभरा जाने यात्रुले सास्ती बेहोर्नु परेको छ ।