इटहरी । सुनसरीको इटहरीस्थित मुसहर समुदायलाई व्यवस्थित बनाउने उद्देश्यसहित ५ वर्षअघि निर्माण गरिएको १५ वटा भवन   प्रयोगविहीन बनेको छ ।

इटहरी–१६ स्थित मुसहर समुदायका लागि भनी तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत ९० प्रतिशत र इटहरी उपमहानगरको १० प्रतिशत गरी एक करोड २३ लाखमा १५ वटा सुविधा सम्पन्न घरहरू निर्माण भएका थिए । लक्षित समुदायले नै बस्न अस्वीकार गरेपछि हाल सो घरहरू प्रयोगविहीन अवस्थामा रहेका छन् । मुख्य राजमार्गबाट दक्षिण साढे ४ किलोमिटरभित्रको सुनसान ठाउँमा सो बस्ती निर्माण गरिएको छ ।  दैनिक रोजगारीमा बाधा, बाल बच्चाहरूलाई स्कुल टाढा भएको र व्यवसायलाई पनि प्रत्यक्ष असर पुग्ने भन्दै मुसहर समुदायले नयाँ घर पाएर पनि बस्न अस्वीकार गरेका छन् । उनीहरू नबसेपछि सरकारको लगानी प्रयोगविहीन भएको छ ।

इटहरी–१६ का वडासदस्य सीताराम चौधरीका अनुसार लक्षित वर्गका समुदाय बस्न छोडेपछि घरहरू प्रायः खाली भएको छ । ‘पूरै खाली पनि भन्न मिल्दैन यसो कहिलेकाहीँ मात्रै आएर बस्ने गरेका छन्’– वडासदस्य चौधरीले भने । दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई आवत–जावतमा समस्या हुनुका साथै पसल पनि टाढा परेको कारण देखाउँदै उनीहरू बस्न नमानेको वडासदस्य चौधरीले बताए । अहिले सो स्थानमा ६ देखि ७ जनामात्र बस्दै आएका छन् ।

केहीले भने पुख्र्याैली थलो नछोड्ने अडानसहित उपमहानगरले बनाइदिएको नयाँ भवनमा बस्न मानेका छैनन् । स्थानीय सुमति ऋषिदेव आफ्नो बाबुबाजे यहीँ जन्मेर मृत्यु भएको सुनाउँदै आफूहरू पनि यहीँ मृत्युवरण गर्ने बताउँछिन् । उपमहानगरले आफूहरूसँग कुनै सल्लाह नै नगरी भवनहरू बनाएको उनको भनाइ छ । जहाँ भवन छ, त्यो क्षेत्र बर्खाको बेला डुबानमा पर्नुकासाथै काम गर्ने ठाउँ त्यस स्थानबाट झण्डै ९ किलोमिटरसम्म पर्न जाने भएकाले आफूहरू नयाँ भवन पाएर पनि बस्न नमानेको बताउँछिन् । 

त्यस्तै मुसहर समुदायकै अगुवा चमरू ऋषिदेव भवन चिटिक्क बनाएर मात्रै नहुने बताउँदै रोजगारीको व्यवस्था, डुबानबाट जोगिने वैकल्पिक उपाय र औषधि उपचारका निमित्त अस्पताल निर्माण गरेमात्र आफूहरू सो भवनमा बस्ने उल्लेख गरे । ‘राति कोही बिमार भयो भने अस्पताल पु¥याउन एकदेखि डेढ घण्टासम्म लाग्छ, असुविधा धेरै छ’–उनले भने । करोडौं लगानी गरी भवन निर्माण गरिए पनि  आफ्नो दैनिक छाक टार्नका लागि काम गर्न कम्पनीसम्म पुग्न त्यो बस्ती टाढा भएको उनको भनाइ छ ।