धरान । शिक्षा ऐन जारी गर्न तथा शिक्षकको सेवा सुविधाको माग गर्दै काठमाडौंका सडकमा आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका शिक्षकका कारण देशभरका सामुदायिक विद्यालयहरूमा नयाँ शैषिक सत्र सुरु हुन सकेको छैन ।
आन्दोलनले देशभरका ५५ लाखभन्दा बढी विद्यार्थीहरू प्रभावित भएका छन् ।शैक्षिक क्यालेन्डरअनुसार यही वैशाख ७ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भइसक्नुपर्ने हो तर अहिलेसम्म विद्यालय बन्द भएपछि अभिभावकहरू पनि अन्यौलमा परेका छन् ।
इटहरी संवाददाता तेज बनका अनुसार इटहरी–६ की प्रमिला बराल आफ्नो छोरा अविसेकलाई निजी विद्यालय पढाउने सोचमा रहेको बताउँछिन् । आँखैअगाडिको निजी विद्यालय पिसजोन स्कुलले विद्यार्थी भर्ना अभियान चलाइरहँदा छेउमै रहेको सामुदायिक विद्यालय कविर मा.वि.को गेट बन्द छ । कविताको छोरा सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन । तीन सातादेखि विद्यालयको गेट बन्द भएपछि छोराले निजी स्कुल पढ्ने अडान लिन थालेको उनले बताइन् ।
त्यस्तै इटहरी–४ का मुकुन्द श्रेष्ठ अघिल्लो वर्ष मात्रै छोरालाई नजिकैको केचना माध्यमिक विद्यालयमा भर्ना गराएर आउने–जाने बानी गराइरहेको बेला विगत तीन सातादेखि सो स्कुल पनि ठप्प हुँदा छोराले विद्यालय नै जान बिर्सिएको बताउँछन् ।

यता आर्थिक उपार्जन राम्रो भएका अभिभावकहरूले धमाधम संस्थागत विद्यालयमा छोराछोरी पठाउन थालिसकेको स्थानीय बताउँछन् । इटहरीको पाथीभरा सेकेन्डरी बोर्डिङ स्कुलमा यो वर्ष मात्रै भर्ना हुने विद्यार्थीको सङ्ख्या २ सय ८९ भन्दा बढी रहेको स्कुलका प्रिन्सिपल गोपाल श्रेष्ठले बताए । पाथीभरा स्कुलमा कुल विद्यार्थी सङ्ख्या ८ सय ७६ रहेको पनि प्रिन्सिपल श्रेष्ठले बताए ।
त्यस्तै इटहरी–६ को पिसजोन स्कुलमा यो वर्ष १ सय १० जना विद्यार्थी भर्ना भएका छन्योसँगै सो स्कुलमा कुल विद्यार्थी सङ्ख्या ७ सय ४१ बढी रहेको प्रिन्सिपल केशव भट्टराई बताउँछन् । त्यस्तै इटहरीकै विश्व आदर्श स्कुलले यो वर्ष विद्यार्थी भर्नामा ‘रेकर्ड ब्रेक’ गरेको स्कुलका प्रिन्सिपल गणेश दुलाल बताउँछन् । विगतमा १ सय २० को हाराहारीमा भर्ना हुने विद्यार्थीको सङ्ख्या यो वर्ष १ सय ८० भन्दा बढी हुन पुगेको र माग धान्न नसकेर भर्ना अभियान नै बन्द गर्नुपरेको प्रिन्सिपल दुलाल बताउँछन् ।
इटहरी उपमहानगर शैक्षिक योजना तथा कार्यक्रम शाखा प्रमुख द्रोणप्रसाद दाहालका अनुसार इटहरी उपमहानगरमा ३६ सामुदायिक र १ सय ३४ निजी गरी १ सय ७० विद्यालय छन् । ती विद्यालयमा ६३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।
शिक्षक आन्दोलनका कारण झापामा हालसम्म सामुदायिक विद्यालयमा पठनपाठन र भर्ना अभियान प्रभावित बनेको भद्रपुर संवाददाता उत्तम नेपाल बताउँछन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेबाट शिक्षकहरू काठमाडौंका सडकमा आन्दोलनमा होमिएपछि सामुदायिक विद्यालयका सबै काम ठप्प भएकोे नेपाल शिक्षक महासङ्घ झापाका अध्यक्ष नेत्र खरेलले बताए । आन्दोलनका कारण भर्ना अभियान, एसईई उत्तरपुस्तिका जाँच, कक्षा ८ को ग्रेडवृद्धि, कक्षा १२ को परीक्षासहित पठन–पाठन बन्द भएको अध्यक्ष खरेलले जानकारी दिए । सरकार र महासङ्घबीच वार्ता र संवाद जारी रहेको उनले जनाए । विद्यालय सुचारु गराउन सर्वोच्च अदालतले शिक्षा मन्त्रालयलाई परमादेश जारी गरिसकेको हुँदा अब वार्ताको निष्कर्ष टुङ्गो लाग्ने उनको भनाइ छ ।
आन्दोलनका कारण सामुदायिक विद्यालयतर्फका सबै क्रियाकलाप बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ झापाका एकाइ प्रमुख देवेन्द्रबहादुर मल्लले बताए । झापामा गुरुकुल, मदरसा, गुम्बा, औपचारिक शिक्षाबाहेक ३ सय ६८ वटा सामुदायिक विद्यालयहरू सञ्चालित रहेको उनले जानकारी दिए ।
शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहँदा यता वैशाख पहिलो हप्तादेखि सुरु हुनुपर्ने विद्यालयको पठन–पाठन अझै सुरु भएको छैन । निजी विद्यालयहरूमा भने धमाधम कक्षा सञ्चालन भइरहेको छ । तर सामुदायिक विद्यालयहरू बन्द छन् । आन्दोलनले कोशी प्रदेशका सबै सामुदायिक विद्यालयहरू प्रभावित भएको विद्यालय व्यवस्थापन समिति महासङ्घ कोशी प्रदेशका अध्यक्ष हरिबहादुर कार्कीले बताए । कोशी प्रदेशमा तीन हजार बढी विद्यालयहरू रहेका छन् । जारी शिक्षक आन्दोलनले देशभरका ५५ लाख विद्यार्थीहरू यतिबेला विद्यालय जान पाएका छैनन् ।
स्थानीय पालिकाहरूले कक्षा सञ्चालन गर्नुपर्छ भने पनि शिक्षकहरू आन्दोलनबाट फर्किएका छैनन् । सरकारले पनि कुनै निकास निकाल्न नसक्दा समस्या भएको कार्की बताउँछन् ।