धरान । कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान धरानको आयोजनामा सम्पन्न ‘काव्य–कला कोलाज’ मा नवस्रष्टादेखि अग्रज स्रष्टाका आवाजहरू सुनिएका छन् । 

कलरव धरानले आयोजना गरेको पोयट्री पार्टीमा उत्कृष्ट १० नवस्रष्टाको दशवटा कविताहरू सुनिए । नवस्रष्टामा सिमरन राई, अङ्कित राम, अधिश्री दाहाल, मेलिना लिम्बू, फुङ्सा लिम्बू, अनिसा परियार, सुशीला थापा, पिक्सी राई, समीक्षा लामिछाने र लस्ना लिम्बूले आफ्ना कविता वाचन गरे ।

उक्त कवितामाथि डा. तुलसी गौतम र कवि टीका आत्रेयले टिप्पणी गरे । उनीहरूले बालबालिकाहरूको कवितामा राजनीतिक र सामाजिक विषयलाई नयाँ बिम्ब र प्रतीक प्रयोग गरिएको बताए । विद्यालयहरूले विद्यार्थीलाई समन्वय र सहयोगी भूमिका निर्वाह गरिदिएकाले विद्यालयहरूलाई कदर पत्र प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष राजेश विद्रोहीले बताए । 

यस्तै अग्रज स्रष्टाहरूले पनि विगतको कविताको अवस्था, परिवेश, शैलीका बारेमा बताएका थिए । अग्रज स्रष्टा प्रा.डा. टङ्कप्रसाद न्यौपाने, हर्ष सुब्बा र कमला लिम्बूले धरानमा साहित्यको माहौलका बारेमा बताएका थिए । अग्रज पत्रकारसमेत रहेका कवि हर्ष सुब्बाले विगतमा पञ्चायती व्यवस्था हुँदा विशेष अवसर पारेर मात्रै कार्यक्रम गर्न पाएको बताए । अहिलेको जस्तो खुल्ला वातावरण नभएकाले साहित्यिक गतिविधि पनि व्यवस्थाप्रतिको असन्तुष्टिको माध्यम बनाइने उनले बताए । विगतमा कविता छपाउनका लागि राजधानीसँग पहुँच बनाउनुपर्ने अवस्था रहेकाले अहिले चाहिँ प्रविधिले सजिलो बनाएको उनले बताए । 

यस्तै प्रा. न्यौपानेले विगतमा कविताको माहौल राम्रो रहेको र कविता चाहिँ साहित्यिक आन्दोलनको रूपमा रहेको बताए । उनले धरानको साहित्यको इतिहासका बारेमा पनि बताए । विगतमा ककसले कविताहरू लेख्ने र उनीहरूको शैलीका विषयमा परिचर्चा गरे । कृष्ण पाख्रिन पनि त्यो बेलामा पुराना कवि भएको र उनको नाम प्रतिष्ठान स्थापना हुनु सकारात्मक कुरा भएको बताए । उनले यस्ता गतिविधिले धरानको साहित्यिक माहौललाई चलायमान बनाउने बताए । 

यस्तै अन्तिम कार्यक्रममा शकुन आँसुको ‘नवयुगकी सुम्निमा’ कवितामाथि परिचर्चा गरिएको थियो । कवितामाथि डा. दीपक न्यौपाने र लक्ष्मी रुम्बाले टिप्पणी गरे । उनीहरूले कृतिमा नारीवादी चेतना रहेको बताए । उनीहरूले सीमान्तकृत माथि गरिएको दमन र शोषणलाई कवितामा समावेश गरिएको बताए । उनीहरू कविता शक्तिशाली रहेको बताए ।